arrow

नेपालको विद्युत प्रसारणमा ६८ करोड अमेरिकी डलर लगानी गर्न भारत सहमत

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन २७ शनिबार
nepal-india-electricity-agreement-2080.jpeg

काठमाडौँ । भारत नेपालको विद्युत क्षेत्रमा ६८ करोड अमेरिकी डलर लगानी गर्न सहमत भएको छ । दशौँ भारत–नेपाल लाइन अफ क्रेडिट (एलओसी) समीक्षा बैठकमा भारतले उक्त सहमति गरेको हो । 

बिहीबार काठमाडौँमा भएको उक्त सहमतिअनुसार कोशी कोरिडोर (२२० केभी), मोदी लेखनाथ (१३२ केभी), सोलु कोरिडोर (१३२ केभी) र ढल्केबर–भित्तामोड (४०० केभी) जस्ता मुख्य एलओसी परियोजनाले नेपालमा विद्युत प्रसारण पूर्वाधारलाई विस्तार गर्न मद्दत गरेको भन्दै भारत भेरी कोरिडोर, निजगढ–इनरुवा, गण्डक नेपालगञ्ज प्रसारण लाइन र यी प्रसारण लाइनका सबस्टेसनहरुको निर्माणका लागि एलओसी अन्तर्गत अनुमानित ६७.९८ करोड अमेरिकी डलर लगानी गर्न सहमत भएको हो । 

बैठकमा भारतीय विदेश मन्त्रालय (विकास साझेदारी प्रशासन)) का सहसचिव ए. अजय कुमारले भारतीय राजदूतावास र एक्जिम बैंकका प्रतिनिधि सम्मिलित टोलीको नेतृत्व गरेका थिए । त्यसैगरी नेपालका तर्फबाट अर्थ मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले बैठकको नेतृत्व गरेका थिए । नेपाली टोलीमा भारतीय लाइन अफ क्रेडिट अन्तर्गतका परियोजना कार्यान्वयनमा संलग्न विभिन्न विभागका अधिकारीको सहभागिता थियो । 

नेपाललाई उपलब्ध गराइएको लाइन अफ क्रेडिटमार्फत भएका लगायत भारत–नेपाल विकास साझेदारीमा भएको बलियो सहकार्यको दुवै पक्षले प्रशंसा गरेका थिए । साथै कार्यान्वयनका विभिन्न चरणमा रहेका परियोजनामा भएका प्रगतिको पनि बैठकले समीक्षा गरेको थियो । 

बैठकका लागि नेपाल आएको भारतीय टोलीले बुधबार र शुक्रबार भारतको ऋण रकम अन्तर्गत निर्माण भइरहेका सडक परियोजनाहरुको स्थलगत भ्रमण पनि गरेको थियो । 

भारतले ६० भन्दा बढी साझेदार राष्ट्रलाई ३० अर्ब अमेरिकी डलर भन्दा बढीको लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । भारतले नेपाललाई १० करोड अमेरिकी डलर, २५ करोड अमेरिकी डलर, ५५ करोड अमेरिकी डलर र ७५ करोड अमेरिकी डलर गरी जम्मा १.६५ अर्ब अमेरिकी डलर लाइन अफ क्रेडिट उपलब्ध गराइसकेको छ । 

लाइन अफ क्रेडिट अनुरुप उपलब्ध गराइएको यो रकम नेपाल सरकारले प्राथमिकतामा राखेको पूर्वाधार विकासमा लगानी गरिनेछ  । यसरी प्राप्त ऋण रकम हाल सम्म ४० भन्दा बढी सडक परियोजना (११०५ किमि सम्पन्न),  ६ वटा जलविद्युत तथा प्रसारण लाइन र विभिन्न आवास तथा पुनर्निर्माण परियोजनामा खर्च भएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ