arrow

विद्याको संकेतले एमालेमा तरङ्ग, ओलीको मौनता भङ्ग

logo
हाम्रा कुरा
प्रकाशित २०८० साउन ३० मंगलबार
oli-vidya-final.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । करिब दुई महिनाअघि पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले केही सञ्चारकर्मीलाई घरमै बोलाएर आफू राजनीतिमा चासो राख्ने तर नफर्कने संकेत गरिन् । आफू आफ्नै जोडबल गरेर राजनीतिमा नआएको तर परिस्थितिले यो राष्ट्रपति हुने अवस्थासम्म ल्याइपुर्याएको दाबी गर्दै एमालेभित्र चरम गुटबन्दी भए टुलुटुलु हेरेर नबस्ने बताइन् । 

तर यसको अर्थ प्रत्यक्ष कार्यकारी भूमिकामा जानु पर्छ भन्ने नभएको बताउँदै पार्टी राजनीतिमा नफर्कने संकेत गरेकी थिइन् । त्यसपछि लगातार एमाले र विद्या भण्डारीको विषयमा समाचारहरु आउन थाले । धेरै सञ्चारमाध्यमले उनी राजनीतिमा आउन सक्ने, रुची रहेको भन्दै समाचार सम्प्रेषण पनि गरे । 

दुई महिना यता उनको बारेमा नेपाली सञ्चारमाध्यमले विभिन्न अनुमानसहित समाचार सम्प्रेषण गरिरहेका छन् । उनी आफ्नै निवासमा सरे यता एमालेका नेताहरु कार्यकर्ताहरुसँग उनको परामर्श जारी रहेको छ । 

एमालेका नेताहरु गोकुल बाँस्कोटा, कर्ण थापा, विद्या भट्टराई, मञ्जु चौधरी, भगवती चौधरी, आनन्द पोखरेल, पछिल्लो समय खगराज अधिकारी लगायतका नेताहरुले नेकपा एसलाई समेत मिलाउन सकिने गरी विद्या भण्डारीलाई पार्टीमा सक्रिय बनाउन खोजिरहेका छन् । 

एघारौँ महाधिवेशनको पूर्व सन्ध्यामा यो रिहर्सल निकै पेचिलो हुने देखिएको छ । दुई महिनाअघि उनलाई एमालेले कार्यकारी तहमा ७० वर्षे उमेरहदको व्यवस्था हटाएको सन्दर्भमा ‘तपाईं फेरि पार्टी राजनीतिमा फर्कने चर्चा कार्यकर्ता पंक्तिमा चलिरहेको छ नि ?’ भन्ने प्रश्नको जवाफमा आफूमा अध्यक्ष बन्ने महत्वाकांक्षा हुँदै नभएको बताएकी थिइन् । 

‘मलाई अध्यक्ष बन्ने महत्वाकांक्षा छैन, लालायित पनि छैन, टुलुटुलु हेरेर बस्ने कि नबस्ने भन्ने प्रश्न पनि छ, बहुदलीय जनवादको विषयमा पार्टीले लिएको धारणा, यसलाई तल्लो पंक्तिसम्म पुर्याउनुपर्ने कुरा पनि छ, यत्ति हो, क्लोज्ली वाच गरिरहेको छु,’ उनले भनिन् । 

भण्डारीले आफूलाई एमाले राम्रो होस् भन्ने लाग्नु स्वभाविकैै भए पनि सक्रिय राजनीतिमा फर्कनेबारे केही नसोचेको तर राजनीतिलाई नजिकबाट हेरिरहेको बताएकी थिइन् । 

‘अब फेरि एमालेमा प्रतिस्पर्धी भएर बस्न मन छैन,’ उनले पुरानो कुरा सुनाउँदै भनेकी थिइन् ‘अहिले पनि यस्तो चाहना आउनु अस्वाभाविक होइन ।’ 

यसरी हेर्दा उनी सक्रिय राजनीतिमा आउने चाहना रहेको तर अध्यक्ष केपी शर्मा ओलीलाई क्रस गरेर एमालेको सक्रिय राजनीतिमा फर्कने संभावना कमजोर भएको देखिन्छ । यो क्रम अहिले पनि चलिरहेको छ । 

एमालेमा ७० वर्षे उमेर हद हटाएपछि ओली दिन प्रतिदिन बलियो बन्दै गएका छन् । उनको स्वास्थ्यले साथ दिँदासम्म एमालेमा अर्को कोही अध्यक्ष बन्ने संभावना निकै कमजोर रहेको छ । 

एमाले मूख्यालय च्यासलमा हालै कुनै एक सञ्चारकर्मीले उपाध्यक्ष विष्णु पौडेललाई लक्षित गर्दै उहाँ राष्ट्रपतिलाई भेटेर सक्रिय राजनीतिमा आउन आग्रह गरेको र त्यसमा केपी ओली बाधक रहेको आशयको प्रश्न सोधेका थिए । 

सो प्रश्नको जवाफमा ओलीले आक्रोश व्यक्त गर्दै भनेका थिए, ‘उहाँलाई कोही कसैले भेट्न हुँदैन यो खालको समस्या ल्याउन खोज्नु हो’ भनेका थिए । 

ओलीले विद्या भण्डारी आदरणीय व्यक्ति भएको बताएका थिए । ‘त्यसअघि नजिकै मित्र हो नि, हाम्रो पार्टीको आदरणीय व्यक्ति उपाध्यक्ष नै हो नि, त्यसमध्ये विष्णु पौडेलले मात्रै होइन मैले पनि कुरा गरेको छु, अरूले पनि कुरा गर्नुभएको छ, त्यस्तो कुरा गरेको विषयलाई कार्ड नै छपाएर लैजानु भयो रे नि त पार्टीमा आइदिनुपर्यो भनेर निम्ता गर्ने भन्ने ?’, भन्दै आक्रोश व्यक्त गरेका थिए । 

ओलीको सो अभिव्यक्तिपछि यसलाई विद्या भण्डारीका लागि एमालेमा ओलीले नै रातो बत्ती बालेको रुपमा हेर्न थालिएको छ । 

तर एमालेभित्र ओलीको उत्तराधिकारी को हो भन्ने प्रश्न अहिले पनि उठिरहेको छ । शंकर पोखरेल र विष्णु पौडेलले एक आपसमा मिल्न नसक्ने अवस्था बनेको र सुवासचन्द्र नेम्वाङ र ईश्वर पोखरेलले पार्टीको ‘फष्टम्यान’ हुनसक्ने अवस्था पनि नरहेका कारण हाललाई उत्तराधिकारीको अभाव उत्तिकै रहेको छ ।  

२०७८ मंसिरमा चितवनको सौराहामा भएको पार्टीको दशौं महाधिवेशनबाट केपी दोस्रो पटक अध्यक्ष निर्वाचित भएसँगै विद्याकोे चर्चा शुरु भएको थियो । 

उनी त्यतिबेला राष्ट्रपति नै रहेकी थिइन् । त्यसको डेढ वर्षपछि गत फागुनमा मात्रै उनको कार्यकाल सकिएको थियो । कार्यकाल सकिएपछि विद्या फुर्सदमै रहेकाले एमालेका नेताहरुसँग दिनदिनै भेटघाटमा व्यस्त रहेकी छिन् । 

अझ एमालेले गत जेठमा भएको सचिवालय बैठकबाट ७० वर्षे व्यवस्था हटाएर तेस्रो पटक पनि अध्यक्ष हुने बाटो खुला गरेपछि सक्रिय राजनीतिमा भण्डारी नै फर्कने बहसमा पूर्णविराम लागेको भनिए पनि बढी नै चर्चा गर्न थालिएको छ । 

भण्डारीलाई रोक्नका लागि ओलीले ७० वर्षे व्यवस्था हटाएको भन्नेसमेतको अनुमान पार्टीभित्र गरिएको छ । ओलीका लागि भण्डारीको राजनीतिमा पुनरागमन नेतृत्वका लागि चुनौती बन्ने सम्भावना हुन्छ कि भन्ने अनुमान गर्दा पनि उनले खुलेर पार्टी राजनीतिमा आउने बताइसकेकी छैनिन् ।  

नवौँ महाधिवेशनमा एमालेको अध्यक्षमा ओली निर्वाचित भएसँगै भण्डारीलाई उनको उत्तराधिकारीका रूपमा हेरिँदै आएको थियो । उनी उपाध्यक्षमा दोस्रो पटक निर्वाचित भएकी थिइन्  । आफ्नो समूहभित्र ओलीपछिको दोस्रो स्थानमा भण्डारीको नेतृत्वलाई चुनौती दिने सम्भावना निकै कम थियो । 

त्यतिबेला ओली मात्र होइन एमालेका तत्कालीन नेताहरु माधवकुमार नेपाल र झलनाथ खनालसमेत मिलेर उनलाई राष्ट्रपतिका लागि पठाइयो ।  

एमालेमा एघारौँ महाधिवेशन हुन कम्तीमा साढे ३ वर्ष बाँकी हुँदा उनको चर्चा चलाएर ओलीलाई साइजमा राख्न ओली पक्षकै नेताहरु लागिरहेका छन् । 

तर पनि ओली पक्षका नेताहरुले खुलेर पार्टीमा आउनुस् भनेका छैनन् । उनीहरुले अध्यक्षसँगको समन्वयमा काम गर्दा राम्रो हुने सुझाव दिएका छन् ।

खासगरी माधव नेपाल नेतृत्वको पार्टीलाई एमालेमै फर्काउनका लागि विद्या भण्डारी सहयोगी हुने ठानिरहेका बेला नेतृत्वमा ल्याउने कोसिस भैरहेको एकथरीको विचार रहेको छ । 

माधव नेपालसँगै बाहिर गएका नेताहरुले ओलीको व्यवहार प्रवृत्तिलाई मन नपराएर उनीहरु निस्कृय बस्नुभन्दा भण्डारीलाई एमालेको अध्यक्ष बनाउँदा उनीहरु पार्टीमा आउनसक्ने भन्दै चर्चा चलाइएको हो ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ