arrow

मोफसलमा लोप हुने अवस्थामा लाखेनाच

logo
युवराज रेग्मी,
प्रकाशित २०८० भदौ ७ बिहिबार
lakhey-naach.jpg

झापा । नेवार समुदायले विशेष जात्रा अथवा पर्वको अवसरमा मखुन्डो पहिरिएर गरिने लाखे नाच एक परम्परा नृत्य हो । यो नाच विशेषगरि इन्द्रजात्रामा काठमाडौँमा देखाइन्छ । काठमाडौँ उपत्यका लगायत ललितपुर , भक्तपुर , बनेपा धुलिखेल लगायतका मुख्य सहरमा रौनकताका साथ सुव्यवस्थित रूपमा मनाइँदै आएको लाखेनाच मोफसलमा भने लोप हुने अवस्थामा पुगेको जानकारहरू बताउँछन् ।

यस्तै परिवेशमा झापाको गौरादह नगरपालिका वडा न. ४ डोरामारीमा रहेका नेवार समुदायले संस्कृति जोगाउनकै लागि भए पनि वर्षमा एक पटक लाखे नाच देखाउँदै आएका छन् । लाखे नृत्य नेवार समुदायको परम्परागत नृत्य भए पनि कलात्मक नृत्य देखाउने व्यक्तिको अभाव तथा जनमानसप्रति संस्कृति बचाउन त्यति चासो नभएका कारण यो नृत्य मोफसलमा लोप हुने अवस्थामा पुगेको नेवा: देय दबु गौरादह- ४ का सदस्य भाइकाजी श्रेष्ठले बताए । 

साथै आफूहरूले संस्कृतिको जगेना गर्नकै लागि भए पनि स्थानीय रूपमा विभिन्न चोक बजार तथा विद्यालयहरूमा वर्षको एक पटक लाखे नृत्य देखाउँदै आएको भाइकाजीले बताए । मुख्यतया, लाखे नाचको रूपमा मनाइने नवदुर्गा नाच काठमाडौँ ,भक्तपुर लगायत बनेपा, नाला, धुलिखेल, पनौती, साँगा, देवपत्तन आदि ठाउँमा विशेष देखाइने जानकारहरू बताउँछन् ।

 नेवार समुदायमा विभिन्न अवसरमा देखाइले नाचहरू प्राय देवीदेवताका हुन्छन् । यी नाचहरू मध्ये लाखेनाच धेरै रोमाञ्चक हुन्छ । प्राचीन नृत्यको रूपमा चिनिने लाखे नृत्य कृष्णलाई मार्नका लागि कंसले बहिनी पूतनालाई प्रयोग गरेको र पूतनाको मृत्युको कामना गर्दै राक्षसको स्वरूपमा सजिएर नेवार समुदायमा लाखेनाच नचाउने गरिएको किम्बदन्ती पाइन्छ । विशेषगरि नाग पञ्चमीका दिनबाट सुरु गरि मनाइने यो जात्रा पूतनाको मृत्युको कामना गर्दै ऋषि पञ्चमीका दिन मृत्यु भएको सम्झँदै बन्दुक पड्काएर विसर्जन गरिने परम्परा चलिआएको पाइन्छ । राक्षसको स्वरूपमा बनाइने खप्पर, कालिकाको वस्त्रसहित व्यक्तिलाई सिँगारेर लाखे नचाउने गरिन्छ ।

उपत्यकामा लाखे नाच नचाउने प्रचलन कहिलेदेखि सुरुआत भयो भन्ने कुरामा विभिन्न मतभेद रहे पनि नेपाल भाषा वंशावलीअनुसार लाखे नाचको प्रचलन राजा गुणकामदेवले सुरु गराएका हुन् भन्ने भनाइ पनि छ । नेवार समुदायमा बढी प्रचलित रहेको लाखे नाच मोफसलका जिल्लाबाट लोप हुने अवस्थामा पुगे पनि लाखेनाच जिल्लाभर प्रचलित नै छ । नेवार समुदायको बाहुल्यता रहेका जिल्लाका दर्जनौँ स्थानहरूमा भने यस नाचले थोर बहुत आफ्नो स्थान ओगटेकै छ।

नेवार समुदायमा लाखेको खप्पर बनाउने र लाखे निकाल्ने बेलामा पूजापाठ गर्नुपर्ने प्रचलन रहे पनि पछिल्लो पुस्तामा लाखे नाच हराउँदै गएकाले पूजापाठको परम्परासमेत पनि हराउँदै गरेको महसुस गरिएको छ । मुख्य गरी कृष्ण जन्माष्टमीका दिनदेखि ऋषि पञ्चमीसम्म बढी नचाइने लाखे नाच हेर्न अन्य समुदायका सर्वसाधारणको देखि विदेशी पर्यटकको पनि उतिकै घुइँचो लाग्ने गर्दछ ।

लाखे नाचमा ढोलक, ट्याम्को, सनाई, मजुरा लगायतका बाजा बजाइन्छ । भूतप्रेत नलागोस् र मरेको आत्माले दुःख नदियोस् भनेर यो नाच रातिमा देखाइने पुरानो कथन छ । टाउकोमा राक्षसको खप्पर लगाएर कालिकाको फरिया, ब्लाउजमा सजिएको व्यक्तिलाई स्याउलाको लुगा, बाँदरको खप्पर र बोराको पुच्चर बनाएको केटाकेटीहरूले जिस्क्याउँदै अनि लात्तीले हान्दै नाचिने यो नाच हेर्नसमेत निकै रोमाञ्चक तथा अनौठा लाग्न सक्छ ।

लाखे नाचका क्रममा स्थानीय लोकभाका, वेशभूषा र चालचलन एवं रोपाइँ जात्रा, घोडे जात्रा, गाई जात्रा, राउटे जात्रा, वैरागी जात्रा र अन्य जात्रा देखाउँदै समाजका विभिन्न विकृतिमाथि व्यङ्ग्य प्रहार गर्ने र सर्वसाधारणलाई मनोरञ्जन दिने पनि गरिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ