- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । बिहानको करिब ११ बजेको थियो सायद । म र मेरो एक जना दाइ बौद्ध फूलबारीमा किमा नुडल्सका लागि नुडल्स लिन गएका थियौँ । यो गाउँ पठाउनका लागि आफन्तको माग थियो । केही समय नुडल्स किन्नका लागि समय बितायौँ र किमा नुडल्स खाने योजना पनि बन्यो । यही समयमा मलाई किमा नुडल्स कारखानामा कसरी उत्पादनको काम हुन्छ भन्ने कुरालाई फोटो कथामा प्रस्तुत गर्न मन लाग्यो ।
केही समयपछि साम्बाला चाउचाउ कारखानामा पुगेँ र तस्बिर खिच्नका लागि अनुमति लिएँ । तर कारखानाका संचालक समिर तामाङले रामहिटीमा रहेको अर्को कारखानामा बोलाए । जुन कारखाना उनले आफ्नो घरको भुइँतलामा संचालन गरेका रहेछन् । कारखानामा तीन जना कामदार चाउचाउ बनाउने काममा नै व्यस्त देखिन्थे ।
जहाँ ठाउँ साँघुरो छ र चाउचाउ सुकाउनका लागि पंखा चलिरहेको थियो । कामदारहरूले चाउचाउ बनाउने मेसिनबाट आँटाका पानाहरू धकेल्नेदेखि लिएर दोहोरो तहको सुकाउने र्याकमा भर्खरै बनेका चाउचाउहरू मिलाउनेसम्मका विभिन्न कार्यहरू गरिरहेका थिए ।
साम्बाला चाउचाउ कारखाना बौद्धमा भएका दर्जनौँ कारखाना मध्ये एक हो । बौद्धमा दशकौँदेखि यस्ता चाउचाउ कारखानाहरू अवस्थित छन्, जसले सधैँ यस क्षेत्रका शेर्पा, तामाङ, योल्मो र तिब्बती मानिसहरूको ठूलो जनसंख्याका लागि चाउचाउ खाने संस्कृतिलाई जीवन्त बनाइ रहेको छ ।
‘मेरो एक साथीको चाउचाउ कारखाना थियो र जब मसँग काम हुँदैन थियो, म साथीको फ्याक्ट्रीमा आउँथे र घुम्थेँ’ पहिले ट्रेकिङ गाइडको रूपमा काम गर्ने समिर तामाङ भन्छन् । उनले कारखानामा साथीलाई सहयोग गरेर चाउचाउ बनाउने सबै कुरा सिकेका थिए र उनका साथीले आफूले कारखाना बेच्दै छु भन्ने कुरा बताएपछि तामाङले २०६८ सालमा चाउचाउ बनाउने कारखाना किन्ने निर्णय गरे ।
‘मैले कारखानाको लागि रु चार लाख तिरेको छु । फ्याक्ट्रीबाट हुने आम्दानी राम्रो थिएन, तर मैले ट्रेकिङ गाइडको रूपमा काम गर्दाको भन्दा राम्रो थियो। र सबैभन्दा महत्त्वपूर्ण कुरा, यसले मलाई एक स्थिर आम्दानी दियो, जुन मैले ट्रेकिङ गाइडको रूपमा काम गर्दा त्यस्तो हुँदैन थियो’, उनले अगाडि भने, ‘२०७२ सालतिर व्यापारमा सुधार आउन थालेको थियो । भूकम्प र भारतीय नाकाबन्दीले सामान्य जनजीवन प्रभावित भयो र खाना पकाउने ग्यासको चरम अभाव भयो जसका कारण चाउचाउको माग बढेको थियो ।’
कसरी बनाउँछन् त चाउचाउ ? भन्ने जिज्ञासमा उनले भने, ‘हाम्रो सामान्य दाल भात तरकारीको विपरीत, जसका लागि धेरै वस्तुहरू छुट्टाछुट्टै तयार गर्नुपर्छ, चाउचाउ आफैँमा स्वस्थकर परिकार हो, जसले खाना पकाउने ग्यासको कम प्रयोग हुने भएकाले पनि मानिसहरुले चाउचाउ मन पराए । तर माग पूरा गर्न भने सजिलो थिएन । त्यस समयमा हातले पिठो मोल्नु पर्ने थियो र हामीसँग त्यस्तो मेसिन पनि थिएन जसले पिठो मोल्नका लागि सहज होस् ।’
२०७२ देखि अहिलेसम्म तामाङका दुईवटा कारखाना छन्, एउटा रामहिटीमा र अर्को बौद्ध फूलबारीमा । र अब उनीहरूसँग पिठो मिलाउने मेसिन पनि छ, एउटा पिठो मिलाउने मेसिनको मात्रै रु १ लाखदेखि १ लाख ५० हजारसम्म खर्च हुन्छ।
‘अब हामीसँग यो छ, हाम्रो उत्पादन धेरै राम्रो भएको छ। साम्बालामा चाउचाउ बनाउने प्रक्रिया आँटा मिक्सरबाट शुरु हुन्छ। मिक्सरमा ५० किलो पिठोको बोरा हालिन्छ त्यसपछि पानी र अण्डाको मिश्रण हुन्छ। ५० केजी पिठोको लागि १५० अण्डा र १५ लिटर पानी हाल्नु पर्ने हुन्छ । पिठो, पानी र अण्डाको यो मिश्रणलाई मिक्सरमा १० मिनेटसम्म मिसाइन्छ। एकपटक मिलाएर, यसलाई बाहिर निकालिन्छ र १५ मिनेटको लागि राखिन्छ’, तामाङ भन्छन्, ‘त्यसपछि हामी १० देखि १२ किलोग्राम मिश्रण लिन्छौँ र त्यसपछि यसलाई आटा फ्ल्याटनरमा खन्याउँछौँ । हामी यो काम त्यति समयसम्म दोहोराउँछौँ कि पिठोको एक लामो, चिल्लो पाना नभएसम्म ।’
तामाङले अगाडि भन्दै गए, ‘चाउचाउ बनाउनु पर्ने साइजको आधारमा मेसिनमा कटर जोडिएको हुन्छ र आँटाको समतल पाना कटरको माध्यमबाट धकेलिन्छ। अर्को छेउँबाट, भर्खरै बनेको चाउचाउको लामो तार निस्कन्छ। त्यसपछि चाउचाउलाई काटेर तीनदेखि चार दिनसम्म र्याकमा सुकाइन्छ। “५० किलो पिठोलाई चाउचाउमा परिणत गर्न करिब डेढ घण्टा समय लाग्छ। हाम्रो चाउचाउको सेल्फ लाइफ पाँचदेखि छ महिना हुन्छ ।’
दैनिक तीस हजार रुपैयाँसम्मको चाउचाउ बिक्री गर्ने तामाङ माग दिनदिनै बढ्दो रहेको बताउँछन् । बनेपा, भक्तपुर, ललितपुरबाट पनि चाउचाउको माग आउने उनी बताउँछन् ।
यसको प्रमुख कारण हाल खाना तथा खाजाको लागि प्रयोग हुँदै आएको किमा नुडल्स नै हो । किमा नुडल्स यो नेपाली खाना वा खाजाको परिकार भने होइन । तर हालका युवायुवती, केटाकेटीहरु माझ भने यो निकै लोकप्रिय भएको छ ।
‘किमा नुडल्स जसमा चाउचाउसँग बफ वा चिकेन मीट र सोया सस, चाइनिज साग, लसुन, चिल्ली वाइल आदिको प्रयोगद्धारा तयार पारिन्छ । आज बौद्ध र बाहिरका धेरै भोजनालयहरूले यस परिकारलाई सर्भ गर्छन्, जसले भर्खरै बनेको चाउचाउको माग बढाइरहेको छ, जुन हाम्रो लागि राम्रो छ किनभने हामी धेरै कम नाफा मार्जिनमा सञ्चालन गर्छौं’, तामाङ भन्छन् ।
तामाङका ग्राहकमा बौद्धका मात्र नभइ शहरका अन्य भागका रेस्टुरेन्टहरू पनि पर्छन्। पहिले हिमाली क्षेत्रका मानिसहरूले मात्रै खाने परिकार आज चाउचाउ सबै संस्कृतिहरूमा व्यापक रूपमा खपत हुने परिकार बनेको छ।
‘हाम्रो जस्तो कारखानाले यसमा केही भूमिका निर्वाह गर्न पाउँदा निकै खुशी लागेको छ’, तामाङ भन्छन् ।