arrow

महिला टी–२० विश्वकप  छनोटमा नेपालको विजयी शुरुआत

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १४ बिहिबार
nepal-win-women-cricket.jpeg

काठमाडौँ । आईसीसी महिला टी–२० विश्वकप  छनोटमा नेपालले विजयी शुरुआत गरेको छ ।  आज नेपालले घरेलु टोली मलेसियालाई पराजित गरेको हो । नेपालले मलेसियालाई पाँच रनको झिनो अन्तरले हरायो । 

मलेसियाको क्वालालम्पुरस्थित वायुमास ओभल क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गर्दै नेपालले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै ८४ रनको योगफल बनायो । पचासी रनको विजयी लक्ष्य पछ्याएको मलेसियाको पारी ७९ रनमा समेटियो । 

यसअघि ब्याटिङ गर्ने क्रममा नेपालका लागि सीता राना मगरले अविजित ३८ रन बनाइन । उनले ५४ बल खेल्दै एक चौकासमेत हिर्काइन् । यस्तै अफसरी बेगमले १७ तथा कप्तान रुविना क्षेत्री बेलबासेले १२ रन बनाइन् । त्यसबाहेक अन्य खेलाडीले सम्झिनलायक रन बनाउन सकेकनन् । 

बलिङतर्फ मलेसियाकी ऐना हामिजाले दुई तथा महिराह इजाती, ऐश्या एलिसा र निक नुरले एक–एक विकेट लिए । 

मलेसियाले भने निर्धारित २० ओभर खेल्दै नौ विकेट गुमाउँदै ७९ रन मात्र बनाउन सक्यो । मलेसियाका लागि विनीफ्रेड दुरैसिङ्घमले २८, ऐना हामिजाले १४ तथा मास इल्यासाले १० रन बनाइन् । 

बलिङतर्फ नेपालका लागि कविता कुँवर र कविता जोशीले दुई–दुई तथा कप्तान रुबिना क्षेत्री बेलबासे र अश्मिना कर्माचार्यले एक एक विकेट लिए । नेपालले अब शुक्रबार दोस्रो खेल बहराइनसित खेल्ने छ । 

प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा मलेसिया, बहराइन, भुटान, कतार र युनाइटेड अरब इमिरेट्स (युएई) छन् ।

त्यस्तै समूह ‘बी’ मा चीन, हङकङ, थाइल्यान्ड, कुवेत र म्यान्मार छन् । प्रतियोगितामा हरेक समूहका शीर्ष दुई टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् । फाइनलमा पुग्ने दुई टोलीले सन् २०२४ मा हुने ग्लोबल टी–२० क्वालिफायर खेल्न पाउने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ