arrow

बालेनसँग सम्बन्धित विज्ञप्ति निकालेको जिल्ला प्रशासनले स्पष्टीकरण सोध्न के गर्छ ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ १९ मंगलबार
Balen.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । सार्वजनिक बिदाको दिन शनिबार बिना पास सरकारी सवारी साधन चलाएर सरकारी स्रोत साधनको दुरुपयोग गरेका काठमाडौँ महानगरपालिकाका मेयर वालेन्द्र साह (बालेन) लाई अहिलेसम्म स्पष्टीकरण लिनेबारे कुनै पहल गरेको पाइएको छैन । 

गत शनिबार उनले प्रयोग गर्दै आइरहेको महानगरपालिकाको सवारी साधन उनकी श्रीमतीसहित केही महिलाहरु सवार रहँदा काठमाडौँको कोटेश्वरमा ट्राफिक प्रहरीले चेकजाँच गरेको थियो । 

ट्राफिकले आफ्नो गाडी रोकेको भन्दै बालेनले शनिबार राति नै आक्रोश पोखेर अबदेखि महानगरको गाडी रोकिए सिंहदरबारमा आगो लगाइदिने धम्की दिएका थिए । त्यतिमात्र होइन उनले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारलाई ‘चोर सरकार’ भनी आक्रोश पोखेका थिए । 

जिल्ला प्रशासन कार्यालय काठमाडौँले सोमबार मात्रै प्रेस विज्ञप्ति जारी गर्दै सरकारी स्रोत साधनको दुरुपयोग हुन नदिन सार्वजनिक बिदाका दिनमा सरकारी सवारी साधनको सञ्चालनमा निगरानी र नियन्त्रण गर्ने कार्य सबै जिल्ला प्रशासन कार्यालयहरुमार्फत् विगतदेखि नै हुँदै आएको बताउँदै गृह मन्त्रालयले विभिन्न मितिमा यसको अनुगमन, नियमन र नियन्त्रणका लागि परिपत्रसमेत गर्ने गरेको जनाएको छ । 

योसँगै प्रशासन कार्यालयले पछिल्लो समय असल मनसायबाट सम्पादन भएका सरकारी काम र त्यस्तो काममा खटिएका राष्ट्रसेवकहरुलाई निरुत्साहित गर्ने गरी सामाजिक सञ्जालहरुमा व्यक्त भएका अभिव्यक्तिहरुप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । 

उसले विज्ञप्तिमा, ‘आफ्नो पदीय जिम्मेवारी र कर्तव्य पालना गर्न लागेका राष्ट्रसेवक कर्मचारीहरुलाई कर्तव्य पालनामा बाधा अवरोध नपुर्याउनु हुन र विभिन्न सामाजिक सञ्जालहरुमा जथाभावी वक्तव्यबाजी नगर्नु–नगराउनु हुन सम्बन्धित सबैमा अनुरोध गरिन्छ’ भनेको छ । 

सहायक प्रमुख जिल्ला अधिकारी एवं प्रवक्ता खड्गबहादुर श्रेष्ठले जारी गरेको विज्ञप्तिमा ‘प्रचलित कानूनको बर्खिलाप गरिने जुनसुकै गतिविधिहरु नियन्त्रण गर्न र विधिको शासन प्रत्याभूत गर्न स्थानीय प्रशासन तथा सुरक्षा निकाय सम्बद्ध रहेको छ’ भनिएको छ । 

बालेनले सामाजिक सञ्जालमार्फत लेखेको त्यो स्टाटस र आइतबार पनि उल्टै ट्राफिक प्रहरीले दुःख दिएको भनेर बालेनको सचिवालयले जारी गरेको विज्ञप्तिबाटसमेत गल्तीलाई ढाक्ने अनेक प्रपञ्च रचिएको देखिन्छ । 

बालेनकी पत्नी सवार गाडीमा ट्राफिकले सात मिनेट असान्दर्भिक र मनोमानी प्रश्न गरेको आरोप

तर अहिलेसम्म बालेनलाई स्पष्टीकरण सोध्ने सम्बन्धमा भने जिल्ला प्रशासन कार्यालयले केही बताएको छैन । 

सूचना अधिकारी श्रेष्ठले मेयर बालेनलाई पत्र लेखेर स्पष्टीकरण सोध्ने सम्बन्धमा कुनै पहल नभएको बताए । 

उनले भने, ‘चिठी लेखेको छैन । विज्ञप्ति लेखेका हौँ । सम्बन्धित सबैलाई काम गर्ने गरी । हाम्रो स्पष्टीकरण लिने अहिले योजना छैन ।’

उनले अन्य विषय गृह मन्त्रालयमा थाहा हुन सक्ने बताए । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ