arrow

एमालेमा खुलेआम गुट

ओलीको निर्देशन विपरीत लुम्बिनीमा चुनाव, बाँकी सातै प्रदेशमा प्रतिस्पर्धा खुला

शंकर पोखरेल पक्षलाई हराउँदै विष्णु पौडेल पक्ष हावी, केन्द्रले खटाएका पद्मा अर्याल र सूर्य थापा निरीह भएर फर्के

logo
हाम्रा कुरा
प्रकाशित २०८० भदौ २० बुधबार
radhakrishna-kandel-uml-lumbini.jpg
एमाले लुम्बिनी प्रदेश अध्यक्ष राधाकृष्ण कँडेल ।

काठमाडौँ । एमाले अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयन गर्न दिएको निर्देशनलाई अवज्ञा गर्दै भएको प्रदेश कमिटीको निर्वाचनमा लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कँडेल विजयी भएका छन् । 

मंगलबार सम्पन्न भएको निर्वाचनको अन्तिम मतपरिणाम अनुसार अध्यक्षका प्रत्यासी प्यूठानका हरि रिजाललाई २ मतले पराजित गर्दै कँडेल विजयी भएका हुन् । 

विजयी कँडेलले ४७९ मत प्राप्त गरे भने रिजालले ४७७ मत प्राप्त गरेका थिए । विजयी कँडेल पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेल निकट रहेका छन् । 

पराजित रिजाल भने महासचिव शंकर पोखरेल निकटका हुन् । पोखरेल भने चीन भ्रमणमा छन् । त्यही बेलामा उनको पक्षले हार खाएको हो । 

त्यसैगरी उपाध्यक्षमा भोजप्रसाद श्रेष्ठ ४५५ मत प्राप्त गर्दै विजयी भएका छन ्। उनका निकटतम प्रतिद्धन्द्धी विश्वराज बराल (अनुप) ले ३०६ मत प्राप्त गरे ।

त्यस्तै उपसचिव (पुरुष) मा रोल्पाका पूर्ण बुढामगर ४१८ मत पाउँदै विजयी भएका छन् । 

उपसचिव (महिला) मा बर्दियाकी लीला राना मगर ३५२ मत पाउँदै निर्वाचित भएकी छिन् । 

एमालेमा १० औँ महाधिवेशनपछि गुटगत रुपमै यसरी निर्वाचन भएको पहिलो पटक हो । 
लुम्बिनीको प्रदेश अधिवेशनले अन्य सात वटै प्रदेशमा प्रतिस्पर्धा गर्न बाटो खुलेको छ । एमाले अध्यक्ष ओलीले सकेसम्म प्रतिस्पर्धा नगर्न आग्रह गरेका थिए । 

त्यसका लागि पार्टी सचिव पद्मा अर्याल र पोलिटब्युरो सदस्य सूर्य थापालाई खटाएका थिए । तर लुम्बिनी प्रदेशमा उनीहरुको जोड चलेन । अन्नतः पौडेललाई समर्थन गर्ने कँडेल झिनो मतले निर्वाचित भए । 

असोज १२ र १३ मा कोशी प्रदेशको विराटनगरमा अधिवेशन हुनेछ । त्यहाँ दोहोरो जिम्मेवारीमा रहेका तीन सय ५१ प्रदेशस्तरीय नेताहरू दोहोरो जिम्मेवारीबाट मुक्त भएपछि त्यहाँ पनि प्रतिस्पर्धा हुने भएको छ । 

चार सय ७१ सदस्यीय प्रदेश कमिटीबाट एक सय ५१ सदस्यीय कमिटी बन्नेछ । त्यसका लागि विशाल भट्टराई, तुलसी न्यौपाने, विनोद ढकालले घनश्याम खतिवडाले तयारी गरिरहेका छन् । 

त्यसैगरी, असोज ५ र ६ गते मधेस प्रदेशको अधिवेशन तोकिएको भए पनि यसलाई पछि सारिएको छ । तयारी पूरा नभएको भन्दै अधिवेशन सारिएको हो । 

सो कमिटी बनाउँदा कम्तीमा एक सय ११ नेता कार्यकर्ताहरू बाहिर रहनेछन् । अहिले तीन सय १० सदस्यीय सदस्य रहेको सो कमिटी अबको अधिवेशनबाट एक सय ९९ सदस्यीय बनाउनेगरी तयारी भएको छ । 

यसका लागि पुरुषोत्तम पौडेल, सुमनराज प्याकुरेल, रामदयाल मण्डल, राजकिशोर यादवले अध्यक्षको तयारी गरिरहेका छन् । यस्तै असोज ८ र ९ गते हुने बागमती प्रदेशको अधिवेशनबाट कम्तीमा दुई सय १३ जना सदस्यहरूले दोहोरो जिम्मेवारीबाट हटाइनेछ । 

अहिले बाग्मती प्रदेशका चार सय ५३ सदस्य रहेका छन् । यो कमिटीलाई दुई सय ४० सदस्यको बनाउने गरी तयारी थालिएको छ । त्यसका लागि पार्वत गुरुङ, अरुण नेपाल, महेश बस्नेत, कैलाश ढुंगेल, केशव पाण्डे लगायतले तयारी गरिरहेका छन् । 

युवा विद्यार्थीहरू रहेको उपत्यका विशेष प्रदेश कमिटीमा ४० भन्दा बढीलाई अलग बनाउने तयारी भएको छ । असोज १९ र २० मा हुने भनिएको सो अधिवेशनबाट एक सय ४० सदस्यीयबाट घटाएर बढीमा एक सय १ सदस्य वा ९० मात्रै बनाउने गरी तयारी थालिएको छ । 

यसका लागि विद्यार्थी विशेषमा रहेर काम गरिरहेका नेताहरुले आकांक्षा गरिरहेका छन् । तर कसको कसको प्रतिस्पर्धा हुने भन्ने बारेमा केही खुलेको छैन । असोज १५ र १६ गते गण्डकी प्रदेशको अधिवेशन मिति तय भएको छ । 

गण्डकी प्रदेश पाँच सय ५५ सदस्य रहेको कमिटी छ । यो अधिवेशनबाट एक सय ६५ सदस्यको बनाउने तयारी भएको छ । गण्डकीमा रश्मी आचार्य, मायानाथ अधिकारी, डा. सूर्य पाठक, धनन्जय दवाडी, हिरा केसी, राजिव पहारी लगायतले इच्छा राखेका छन् । 

त्यसैगरी असोज १० र ११ गते कर्णाली प्रदेशको अधिवेशन तोकिएको छ । त्यहाँबाट पनि कम्तीमा ९० जना वा त्यो भन्दा बढी कमिटीबाट बिदा हुनेछन् । 

कर्णाली प्रदेशमा अहिलेको दुई सय २५ सदस्यीय कमिटी रहेको छ । त्यसलाई एक सय ३५ भन्दा पनि कम गर्ने तयारी छ । कर्णालीमा विष्णु रिजाल, निरज आचार्य, मीनबहादुर शाही, राजबहादुर बूढा दलबहादुर रावल, गुलावजंग शाह लगायतले चाहाना राखेका छन् । 

त्यस्तै भदौ २१ र २२ मा सुदुरपश्चिम प्रदेशको अधिवेशनको तयारी गरिएको छ ।  सो प्रदेश कमिटीलाई तीन सय ७५ बाट एक सय ५५ सदस्यमा झार्ने गरी तयारी भैरहेको छ । 

सो प्रदेशमा दुई सय २० जना दोहोरो जिम्मेवारीमा रहेकालाई बिदा गर्ने तयारी छ । यसका लागि पोलिटब्युरो सदस्य कर्ण थापाले विशेष रुचीका साथ हेरेका छन् । त्यहाँ भीम रावलले पनि उत्तिकै चासोका साथ हेरिरहेका छन् । 

माओवादीबाट एमालेमा आएका लेखराज भट्टको पनि क्षेत्र भएकाले सुदूरपश्चिमलाई पार्टी केन्द्रले पनि चासो दिइरहेको छ । त्यहाँ प्रदेश अध्यक्षका लागि वचन सिंह, लालबहादुर थापा, कृष्ण जैसीले प्रतिस्प्र्धा गर्ने तयारी गरेका छन् । 

तर एमाले अध्यक्ष ओलीले भने यी सबै प्रदेशमा सर्वसम्मत नेतृत्व चयन गराउने प्रयासमा छन् ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ