- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
कास्की । विभागीय टोली नेपाल प्रहरीमा आबद्ध पोखराका तिलक पुनमगर हरेक दिन सबेरै पोखरा रङ्गशालाभित्रको आर्चरी मैदानमा आइपुग्छन् ।
हातमा ‘एरो’ बाण र ‘बो’ धनुष बोकेर त्यसपछि उनी ‘टार्गेट’ मा केन्द्रित हुन्छन् । त्यहाँ उनीलगायत चार खेलाडी साउन पहिलो सातादेखि आर्चरीको बन्द प्रशिक्षणमा छन् ।
आगामी असोज ६ गतेदेखि मित्रराष्ट्र चीनको हाङझावमा १९औँ संस्करणको एशियाली खेलकुद (एसियाड) नजिकिँदै जाँदा मगरमा उत्साह सँगसँगै मनमा डर छ ।
इन्डोनेसियामा चार वर्ष अघि १८औँ संस्करणमा उनी एशियाली खेलकुदमा पहिलो पटक सहभागी बनेका थिए ।
पहिलो सहभागितामा प्रदर्शन राम्रै भएकाले मगर यस पटक थप मेहनत गर्दै रेकर्ड सुधार्ने लक्ष्यमा छन् ।
अभ्यास गर्दा राष्ट्रिय रेकर्ड ६५ मिटर आसपास हानेकाले यसपटक पहिलाको रेडर्क ब्रेक गर्नेमा उनी आशावादी छन् ।
‘इन्डोनेसियामा पहिलो सहभागिता भएकाले खेल्दा ‘कन्फिडेन्स’ थिएन, तर राम्रो स्कोर हानेको थिए, अहिले राम्रो तयारी गरेको छु, बिग्रन्छ कि भन्ने मनमा डर भए पनि नियमित अभ्यास र अनुभवले राम्रो गर्छु भन्ने लागेको छ’, पुनले भने ।
यसपटक बन्द प्रशिक्षणबाहेक पनि वर्षभरि नै अभ्यास गरेकाले आफ्नो प्रदर्शन राम्रो हुनेमा उनी आशावादी देखिन्छन् ।
नेपालले एशियाली खेलकुदमा आर्चरीमा १६औँ संस्करणदेखि सहभागिता जनाउँदै आएको छ ।
यसअघि तीन पटकको सहभागितामा केबल भाग लिनुमा मात्रै सीमित भएको छ ।
नेपालले पदक जित्न सकेको छैन, तर खेलाडीमा पदकको आस भने कायमै छ ।
पहिलो सहभागितामा नेपालले क्वार्टर फाइनलसम्मको यात्रा तय गरेको थियो ।
त्यसयता समूह चरणबाट माथि बढ्न सकेको छैन ।
एशियाडमा आर्चरीको ‘रिकर्भ’ र ‘कम्पाउण्ड’ विधामा नेपालले प्रतिस्पर्धा गर्नेछ ।
रिकर्भमा तिलकसहित मञ्जु बजगाईं र कम्पाउण्डमा योगेन्द्र शेरचन तथा इमायिङ्ग राई छन् ।
कम्पाउण्ड विधामा प्रतिस्पर्धाको तयारी गरिरहेका शेरचन यसपटक सेमिफाइनलसम्म पुग्ने आफूहरुको लक्ष्य रहेको बताउँछन् ।
बन्द प्रशिक्षण राम्रो भए पनि पर्याप्त खेल सामग्री प्राप्त नहुँदा भने उनी चिन्तित छन् ।
शेरचनले आफ्नै लगानीमा खेल सामग्री जुटाएर अभ्यास गरेको बताए ।
उनले भने, ‘राखेपले पर्याप्त उपकरण दिएको छैन, एरोको सबै सेट मागेको थियौँ, तर एरो मात्र दिएको छ, आफैले रु दुई लाख ५० हजार खर्च गरेर बो किनेर अहिले अभ्यास गरिरहेको छु, गत साउन १ गतेदेखि बन्द प्रशिक्षण सुरु भएसँगै उपकरण दिएको भए हामीहरुको प्रदर्शन निखारिएर आउने थियो ।’
एसियाडमा शेरचनको यो पहिलो सहभागिता हो ।
प्रतियोगितालाई लिएर उनी उत्साहित छन् ।
आर्चरीको ओलम्पिकमै सहभागिता जनाउन लागेको जस्तो लागेको उनी बताउँछन् ।
‘ओलम्पिकमा एशियाली देशहरु नै सेमिफाइनल पुग्ने गरेकाले एशियन खेलकुद पनि ओलम्पिक जस्तै लागेको छ’, खेलाडी शेरचनले भने ।
आर्चरीको प्रदर्शन राम्रो गर्नका लागि विदेशी प्रशिक्षकको खाँचो भएको खेलाडीको भनाइ छ ।
पोखरा रङ्गशालामा सञ्चालन भइरहेको बन्द प्रशिक्षणमा वसन्त थकालीले टोलीलाई प्रशिक्षण दिएका छन् ।
उनलाई नेपाल आर्चरी सङ्घका केन्द्री अध्यक्ष दीपक गुरुङले समेत साथ दिएका छन् ।
प्रशिक्षक थकालीले बन्द प्रशिक्षणमा खेलाडीको स्तर छनोट चरणभन्दा राम्रो भएको बताए ।
खेलाडीको ‘फिजिकल फिटनेस’ सँगै प्रयोगात्मक र सैद्धान्तिक पक्षलाई जोड दिएर बन्द प्रशिक्षण सञ्चालन भइरहेको उनको भनाइ छ ।
नेपाली टोलीले काठमाडौँमा एक महिना अभ्यास गरेपछि साउन १ देखि पोखरामा बन्द प्रशिक्षण सञ्चालन गरिरहेको छ ।
‘बर्खामा मौसमले चुनौती दिए पनि भिजेरै अभ्यास गरिरहेका छौँ, तालिकाभन्दा पनि बढी अभ्यास गरिहरेका छौँ, खेलाडीको छनोटमा भन्दा बढी स्कोर आएको छ, प्रगति भएको छ, सकेसम्म केही न केही पदक ल्याउँछौँ भन्ने लागेको छ’, प्रशिक्षक थकालीले भने ।
एसियाडका लागि आर्चरीको छनोटमा सुरुआतमा नवौँमा सहभागी २० खेलाडीमध्येबाट १६ जना छनोट गरिएको थियो ।
त्यसपछि तीन पटक छनोट गरी चार जनामा झारिएको बताइन्छ ।
एशियाली खेलकुद (एसियाड) को १९औँ संस्करण हरेक चार वर्षमा हुने यस प्रतियोगितामा एसिया महादेशका राष्ट्रहरुले प्रतिस्पर्धा गर्दछन् ।
नेपालले पनि प्रतियोगिताका विभिन्न २९ खेलमा सहभागिता जनाउँदैछ । रासस