arrow

गणतन्त्र र कविता

logo
शीतल गिरी, 
प्रकाशित २०८० भदौ २३ शनिबार
sheetal-giri-poem-2080-05-23.jpg

यो सुखद स्थिति हो
अब तपाई नै भन्नुस्
कि के सुखद हो
गणतन्त्र सुखद हो
अथवा कविता सुखद हो
अथवा यी दुवै एकसाथ भएको
परिस्थिति सुखद हो ।

जे भए पनि
छन त छ
अब छ भने छ
यही कि गणतन्त्र छ
र कविता पनि छ ।
कविको जीवन यापन
उपभोक्तावादी परिस्थितिको कारण दुरूह छ
यो भन्न त गाह्रो छ
प्रशस्तै सनसनी भने मच्चाएकै छ ।

राम्रा कविता पनि लेखिएकै छन्
सीप नभएकाहरूले पनि लेख्दै छन्
व्यावसायिक बन्नको लागि कवि
कविता लेख्छन्
लेख्नेहरू कवितामा आत्मकथा लेख्छन्
राम्रो लेख्नेले दमाहा बजाउँदैनन् ।

गणतन्त्रमा कवि बिक्तैन
सेलिब्रेटि बिक्ने गर्छ
साहित्य र समाजको लागि घातक
बजार चाहन्छ प्रकाशक ।

यो सब खेलजस्तो लाग्छ
‘बेस्ट सेलर’ मा आँखा लगाऔँ
एउटा प्रश्न उब्जिन्छ
बिकिरहेको छ कविता
अथवा हल्ला
तर यो खेल जस्तो कुनै खेल होइन
यो त गणतन्त्रको खेल हो
कविताको नाममा सेलिब्रेटि बिक्छ
कविको सपनासँग खेल्नु
यथार्थमा खतरनाक खेल हो ।

कविलाई सब थाहा छ
कहाँ कुन खेल खेल्नु आवश्यक छ
सेलिब्रेटि अचानक बिकेको त होइन
गणतन्त्रमा कविताको साधना भएन
कला र विचारको तालमेल
सही रूपमा गर्न नसक्दा
कवि होइन सेलिव्रेटी बिक्नु
त्रासद स्थिति स्वभाविक पनि हो
आखिर सेलिब्रेटि पनि त त्यत्तिकै हुँदैन ।

कविले आफैलाई बुझ्न नसक्दा
आफ्नो रचनाको मर्म बुझ्न नसक्दा
गणतन्त्रमा किताब बिक्री हुन नसक्दा
हतारिएर छपाउनेको नियति हुने गर्छ
नून खाएको कुखुरा जस्तो
दुःख दिने छिमेकी जस्तो ।

साधनामा रमाउने कवि
स्वाभिमान नबेच्ने कवि
गणतन्त्रमा फूल झैँ मुस्कुराउँदै
साहित्यको सुवास छर्ने गर्छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ