- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौं । सुन तस्करीको अनुसन्धान गर्ने जिम्मा पाएको केन्द्रीय अनुसन्धान व्यूरो (सीआईबी)ले गम्भीर त्रुटि गरेको छ ।
सुन तस्करीका मुख्य बिचौलिया दावा छिरिङसँग सम्बन्ध र सम्पर्क रहेका जीवन चलाउने पक्राउ परेर पनि छटाइएको र उनलाई फरार सूचीमा राखेर गम्भीर त्रुटि गरेको हो ।
‘एक पटक पक्राउ परिसकेका व्यक्तिलाई प्रहरीको फरार सूचीमा राखेर मुद्दा पठाइएको छ यो निकै गम्भीर कुरा हो’, प्रहरी स्रोतले भन्यो ‘उनको उठबस प्रहरीकै हाकिमहरूसँग पनि देखियो, राजनीतिक कनेक्सन त झन् ठूलै छ ।’ सोधपुछका क्रममा जीवन चलाउनेलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।
उनको मोबाइल फोनको डिजिटल फरेन्सिक ल्याब (डीएफएल)मा परीक्षण लागि पठाइएको थियो तर उनलाई किन पछि पक्राउ गरिएन भन्ने बारेमा भने अझै अन्यौल नै रहेको छ । उनको मोबाइलमा दावा छिरिङसँग सुन कारोबार सम्बन्धी कुराकानी भएको संवाद भेटिएको थियो । अनुसन्धानमा संलग्न प्रहरीका अनुसार जीवनले ‘आफूसँग सुनको कारोबार गर्न एक जना भारतीय पार्टनर रहेको र मासिक ५०-६० किलोग्राम सुन खपत गर्न सकिने’ म्यासेज फेला परेको थियो ।
सीआईबीले अनुसन्धान प्रतिवेदनमा जीवनलाई प्रतिवादी त बनायो तर यसअघि भेटिएका जीवन कसरी फरार भए भन्ने बारेमा त्यहाँका कुनै पनि अधिकृत बोल्न अवस्थामा छैनन् । उनको सम्पर्क पूर्व उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुन, पूर्व सभामुख कृष्णबहादुर महराका छोरा राहुल महरा, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री रामबहादुर थापाका छोरा प्रतीक थापासँग पनि देखिएको थियो । त्यस्तै, पूर्व उपप्रधानमन्त्री एवं गृहमन्त्री वामदेव गौतमका छोरा हरीश र नेकपा (एमाले)का नेता ऐन महरसँग पनि जीवन निकट रहेको पाइएको प्रहरी स्रोतको दावी छ ।
बर्दियाका जीवन २०७० साल अघिसम्म प्रहरीलाई गुन्डागर्दी सम्बन्धी सुराक दिने गर्थे । त्यही क्रममा प्रहरीका उच्च तहसँग उनको साँठगाँठ रहेको बताइन्छ । उनी खाद्यान्नको कारोबारी समेत रहेका उनको सम्बन्ध अर्का कारोबारी दाओजिन वाङसँग समेत रहेको बताइन्छ ।
अहिले सुन तस्करी सम्बन्धी मुद्दा जिल्ला अदालतमा बहसको क्रममा रहेको छ । सबै आरोपीहरूको बयान सकिएकाले अब थुनछेकको बहस शुरु भैसकेको छ । उता राहुल पक्राउ परेको २९ दिन पुगिसकेको छ । भेपको सुन प्रकरणमा पक्राउ परेका उनीसँग प्रहरीले कुनै पनि विशेष सुराक फेला पार्न सकेको छैन । राहुललाई पक्राउ गरेको २९ दिन पुगे पनि भेप प्रकरणमा संलग्न अन्य आरोपीलाई सीआईबीले पक्राउ गर्न सकेको छैन ।
दुबईबाट चिनियाँ नागरिकले सुन ल्याएर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा छाडेपछि राहुलले सुन छुटाउन भूमिका खेलेको आरोप छ । ब्युरोले यसअघि नै त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट सुन लुकाएको ७ सय ३० वटा भेप चोरेको आरोपमा अनुसन्धान गरेर प्रतिवेदन बुझाइसकेको छ ।