arrow

एमाले कोशी अधिवेशनः घनश्याम र विनोदबीच टक्कर

logo
विवेक मिश्र, 
प्रकाशित २०८० असोज १२ शुक्रबार
uml-koshi-2080-06-12.jpg

मोरङ । नेकपा एमाले कोशी प्रदेशको प्रथम अधिवेशन विराटनगरमा शुक्रबारदेखि शुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको अधिवेशनबाट सर्वसम्मत नेतृत्व चयनको प्रयास भए पनि प्रतिस्पर्धा हुने देखिएको छ ।

अधिवेशन अगाडिसम्म भइरहेको तयारी हेर्दा अध्यक्षमा मोरङका नेताहरु विनोद ढकाल र घनश्याम खतिवडाबीच मुख्य प्रतिस्पर्धा हुने नेताहरुले जनाएका छन् ।

स्रोतका अनुसार पार्टी अध्यक्ष ओलीले खतिवडालाई अध्यक्ष बनाउन चाहेका छन् । तर विगतमा माधवकुमार नेपाल समूहमा रहेका खतिवडालाई विद्यार्थी अवस्थादेखि नै ओली समूहमा सक्रिय रहँदै आएका ढकालले टक्कर दिने भएका छन् । एमाले मोरङको पाँचौँ अधिवेशनमा नेपाल समूहबाट उम्मेदवार बनेका खतिवडालाई ढकालले पराजित गर्दै अध्यक्ष निर्वाचित भएका थिए ।

अध्यक्षका आकांक्षी हालका प्रदेश अध्यक्ष संखुवासभाका तुलसीप्रसाद न्यौपानेलाई केन्द्रीय सदस्य बनाएर खतिवडाको समर्थनमा उभ्याउने प्रयास भइरहेको छ । 

अध्यक्षको आकांक्षा राख्दै आएका हाल उपाध्यक्ष रहेका धनकुटाका टिकाराम चेम्जोङलाई पुनः उपाध्यक्ष बनाउन नेताहरुले लबिङ गरिरहेका छन् । न्यौपाने र चेम्जोङ पछि हट्दा ढकाल र खतिवडा मैदानमा रहने देखिएको छ ।

अध्यक्ष ओलीको संकेत बुझेपछि प्रदेशका अधिकांश नेताहरु खतिवडाको पक्षमा उभिएका छन् । एमालेका एक केन्द्रीय सदस्यका अनुसार स्थायी समितिका सदस्यहरु अग्नि खरेल, भानुभक्त ढकाल, गुरु बराललगायत नेताहरु खतिवडाको पक्षमा उभिएका छन् । प्रदेशका पूर्वमुख्यमन्त्री भीम आचार्य भने ढकालको पक्षमा खुलेका छन् ।

ओलीसँग पछिल्लो समय ढकालको सम्बन्ध बिग्रिएका कारण खतिवडाले अध्यक्षको समर्थन पाउने उनी पक्षका नेताहरुको दावी छ । ढकाल पछिल्लो समय पूर्वराष्ट्रपछि विद्यादेवि भण्डारी निकट रहेको चर्चा हुने गरेको छ । 

केही समय अगाडि एमाले नेता कर्ण थापाले भण्डारीलाई सक्रिय राजनीतिमा ल्याउनुपर्ने अन्तरवार्ता दिएपछि ओली मात्र नभएर सिंगो एमाले नै तरंगित भएको थियो ।

पार्टीको केन्द्रीय सदस्य रहेका ढकाल एमालेमा अवसर नपाएका नेताको रुपमा चिनिन्छन् । संसदीय राजनीतिमा लगातार पराजित रहेका उनका समकालीनहरु अधिकांश मन्त्री, मुख्यमन्त्री मात्र भएका छैनन्, पार्टीको स्थायी समिति र पोलिटब्युरोसम्म पुगिसकेका छन् । तर हक्की स्वभावका ढकाल भने केन्द्रीय सदस्य मात्र छन् ।

ढकाल अध्यक्ष ओलीलाई पार्टीभित्र अल्पमतमा रहेको संकटपूर्ण अवस्थादेखि नै साथ दिएका नेता हुन् । हक्की स्वभावका उनले ओलीका कमजोरीको उनकै अगाडि पनि आलोचना गर्ने गरेका छन् । 

उनको त्यही स्वभावले पनि ओलीले पछिल्लो समयमा उनलाई कर्नरमा पार्दै लगेको एमालेजनको बुझाइ छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ