arrow

एमाले कर्णाली प्रदेश अध्यक्षका लागि पाँच प्रतिस्पर्धी

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १३ शनिबार
karnali-pradesh-province-6.jpg

काठमाडौं । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षका लागि पाँच जनाले उम्मेदवारी दर्ता गराएका छन् । निर्वाचन समितिका अनुसार अध्यक्ष पदका लागि कालिकोटबाट तीन जनासहित पाँच जनाको उम्मेदवारी दर्ता भएको छ । 

पोलिटब्युरो सदस्य सल्यानका गुलावजंग शाह, राष्ट्रिय योजना आयोगका पूर्व सदस्य कालिकोटका मीनबहादुर शाही, पूर्वमन्त्री कालिकोटका प्रेमबहादुर सिंह, कालिकोटकै प्रकाश रोकाय र कर्णाली प्रदेशसभाका पूर्व सभामुख दैलेखका राजबहादुर शाहीले अध्यक्षका लागि मनोनयन दर्ता गराएका हुन् ।

निर्वाचन समितिका संयोजक मातृका खनालका अनुसार साढे चार बजेदेखि साढे सात बजेसम्म उम्मेदवारी दर्ताको समय निर्धारण गरिएको थियो । ‘अध्यक्षमा पाँच जनाको उम्मेदवारी परेको छ,’ उनले भने, ‘राति नौ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन गर्छौं ।’ 

यस्तै उपाध्यक्षमा मुगुका दानसिंह परियार र जुम्लाका टेकराज पछाईको उम्मेदवारी परेको छ भने सचिवमा दैलेखका रुद्र शाही, सुर्खेतका डण्डी शर्मा र ध्रुव शाहीको उम्मेदवारी परेको छ । 

निर्वाचन समितिका अनुसार शनिवार बिहान नौ बजेसम्म उम्मेदवारी फिर्ताको समय राखिएको छ । दिउँसो साढे १२ बजेबाट मतदान हुनेछ । महाधिवेशनमा ६०४ जना प्रतिनिधिहरू सहभागी छन् । जारी अधिवेशनबाट एमालेले १३५ सदस्यीय प्रदेश कमिटी गठन गर्नेछ । 

बुधवार पार्टी अध्यक्ष केपी शर्मा ओलीले प्रथम प्रदेश अधिवेशनको उद्घाटन गरेका थिए । उनले प्यानल बनाएर निर्वाचनमा नजान कार्यक्रममा चेतावनी दिएका थिए । उनको चेतावनीका बाबजुद मुख्यतया मीनबहादुर शाही र गुलावजंग शाहबीच प्यानलै बनाएर प्रतिस्पर्धा हुने देखिएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ