arrow

विश्वकप क्रिकेटमा न्यूजिल्याण्डको शानदार शुरुआत, इङ्गल्याण्ड निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज १८ बिहिबार
david-conwey-rachin-ravindra-nz.jpg

काठमाडौँ । भारतमा शुरु भएको विश्वकप एक दिवसीय क्रिकेटमा न्यूजिल्याण्डले शानदार शुरुआत गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा बिहीबार भएको उद्घाटन खेलमा सन् २०१९ को विश्वकपको उपविजेता न्यूजिल्याण्डले विश्वकप विजेता इङ्गल्याण्डमाथि ९ विकेटको शानदार जित निकालेको हो । 

२८३ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले मात्र ३६.२ ओभरमै १ विकेट गुमाएर जित हासिल गर्यो । 

पहिलो पटक विश्वकपमा डेब्यु गरेका डेभोन कन्वे र रचिन रविन्द्रले अविजित रहँदै शतक बनाए । दुवैबीच दोस्रो विकेटका लागि कीर्तिमानी २७३ रनको अविजित साझेदारी भएको छ । ओपनर कन्वेले करियरको पाँचौँ शतक बनाउने क्रममा १२१ बलमा १५२ रन जोडे । 

त्यस्तै रविन्द्रले ९६ बलमा १२३ रन बनाए । उनको यो करियरकै पहिलो शतक हो । उनको नाम भारतीय खेलाडीहरु राहुल द्रविड र सचिन तेन्दुलकरको नाम मिलाएर रचिन राखिएको पनि उनैले बताएका छन् । 

यो शानदार जितसँगै चार वर्षअघि फाइनलमा हारेको बदला पनि न्यूजिल्याण्डले लिएको छ । 

यसअघि टस हारेर पहिले ब्याटिङ्ग गरेको इङ्गल्याण्डले ९ विकेटको क्षतिमा २८२ रन बनायो । 

इङ्गल्याण्डका लागि जो रुटले ७७ तथा कप्तान जोस बटलरले ४३ रन बनाए । न्यूजिल्याण्डका लागि माट हेनरीले ३ तथा ग्लेन फिलिप्स र मिचेल सान्टान्डरले २–२ विकेट लिए । 

हेड टु हेड न्यूजिल्याण्ड अहेड
यो खेल जितेपछि हेड टु हेडमा न्यूजिल्याण्डले एक खेल बढी जितेको छ । त्यसअघि सन् २०१९ को फाइनलमा खेल टाइ भएपछि सुपर ओभरमा समेत टाइ हुँदा सबैभन्दा बढी चौका हानेका आधारमा इङ्गल्याण्ड विजयी भएको थियो । 

त्यही हारको बदला न्यूजिल्याण्डले लिएको हो । यसअघि दुवै टिमले विश्वकपमा १० खेल खेलेकामा समान ५–५ खेल जितेका थिए । 

एक दिवसीयको हेड टु हेडमा पनि दुवैले समान खेल जितेका थिए । बिहीबारको खेलअघि ९५ एक दिवसीय खेल खेलेकामा दुवैले ४४ खेल जितेका थिए । ३ खेल टाइ भएको छ भने ४ खेल नतिजाविहीन भएको थियो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ