arrow

डटेर खेल्दाखेल्दै श्रीलंका पराजित, विश्वकपमा दक्षिण अफ्रिकाको कीर्तिमान 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २० शनिबार
worldcup-2023-south-africa.jpg

काठमाडौँ । एक दिवसीय विश्वकप क्रिकेटमा दक्षिण अफ्रिकाले विरलै तोडिने रेकर्ड बनाउँदै श्रीलंकामाथि फराकिलो जित हासिल गरेको छ । 

भारतमा जारी विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध १०२ रनको जित हासिल गरेको हो । यही खेलमा दक्षिण अफ्रिकाले सबैभन्दा बढी रन बनाएको कीर्तिमान बनायो ।  

दक्षिण अफ्रिकाले टस हारेर पहिले ब्याटिङ गर्दै नयाँदिल्लीको मैदानमा ५ विकेटको क्षतिमा ४२८ रन बनाएको हो । सो क्रममा एकै इनिङ्समा तीन जनाले शतक प्रहार गरेको कीर्तिमान पनि दक्षिण अफ्रिकाले राखेको छ । 

रस्सि भान डर डुसेन, एडन मार्करम र क्विन्टन डी ककले शतक बनाएका हुन् । डुसेनले ११० बलमा १०८, ककले ८४ बलमा १०० तथा मार्करमले ५४ बलमा १०६ रन बनाए । 

मार्करमले ४९ बलमा शतक बनाउँदै विश्वकपमा सबैभन्दा कम बलमा शतक बनाउने कीर्तिमान पनि बनाएका छन् । 

एउटै इनिङ्समा तीन जनाले शतक प्रहार गरेको यो दक्षिण अफ्रिकाको एक दिवसीयमा तेस्रो हो । 

उच्च योगफल यसअघि अष्ट्रेलियाले अफगानिस्तानविरुद्ध बनाएकामा त्यसलाई दक्षिण अफ्रिकाले तोडेको हो । 

कीर्तिमानी योगफलका क्रममा दक्षिण अफ्रिकाका लागि डेभिड मिलरले २१ बलमा अविजित रहँदै ३९ रन जोडे । हेन्रिक क्लासेनले २० बलमा ३२ रन जोडे । 

निरीह देखिएको श्रीलंकाका लागि दिलशान मदुशंकाले २ विकेट लिए । 

जवाफमा श्रीलंकाले पनि डटेर सामना गर्दै ४४.५ ओभरमा अलआउट हुँदै ३२६ रन बनायो । योसमेत जोडेर एउटै खेलमा ७५४ रन बनेको छ । यो रेकर्ड हो । 

त्यसका लागि डटेर खेल्ने क्रममा श्रीलंकाका चरिथ अशलंकाले ६५ बलमा ७९ रन बनाए । त्यस्तै कुशल मेन्डिसले ४२ बलमा ७६ तथा कप्तान दसुन शंकाले ६२ बलमा ६८ रन बनाए । गेरार्ड कोट्जीले ३ विकेट लिए । 

विश्वकपको पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हराएको थियो । 

दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हराएको थियो । 

विश्वकपको तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 


अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ