arrow

भारत–अष्ट्रेलिया मैदानमा, भारत फिल्डिङमा 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २१ आइतबार
worldcup-cricket-2023-97966.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अहिले भारत र अष्ट्रेलिया भिडिरहेका छन् । दुवै टिमले आफ्नो पहिलो खेल खेलिरहेका हुन् । विश्वकपका उपाधि दावेदारहरुबीचको खेल चेन्नईको एम चिदम्बरम क्रिकेट मैदानमा भइरहेको हो । 

खेलमा टस जितेर अष्ट्रेलियाले पहिले ब्याटिङ रोजेको छ । 

ओपनर ब्याट्सम्यान शुबमन गिललाई तीन दिन पहिले डेंगी देखिएपछि उनको स्थानमा इशान किशनलाई मौका दिइएको छ । 

हेड टु हेड
भारत अहिले एक दिवसीय वरीयताको शीर्ष स्थानमा छ । अष्ट्रेलिया तेस्रो स्थानमा छ । एसिया कप जितेपछि भारतले अष्ट्रेलियालाई घरेलु मैदानमा २–१ ले हराएको थियो । भारत बलियो नै देखिएको छ । 

तर प्याट कमिन्सको कप्तानीको अष्ट्रेलिया विश्वकपमा सम्हालिने अपेक्षा गरिएको छ । भारत आउनुअघि दक्षिण अफ्रिकासँग श्रृंखला गुमाएकाले अष्ट्रेलिया चिन्तामा थियो । 

अहिलेसम्म दुवैले आपसमा १४९ एक दिवसीय खेलेका छन् । जसमा अष्ट्रेलिया ८३ तथा भारत ५६ खेलमा विजयी भएको छ । १० खेल नतिजाविहीन रह्यो । 

विश्वकपमा पनि यी दुईले १२ खेल खेलेका छन् । जसमा ८ मा अष्ट्रेलिया विजयी भएको छ भने भारतले ४ खेलमात्र जितेको छ । 

सन् २०१९ को विश्वकपमा भने भारतले हराएको थियो । 

पिच
चेन्नईको पिच स्पिन फ्रेन्ड्ली पिच हो । आजको खेलमा पनि स्पिनले साथ दिने विश्वसमा भारतले तीन स्पिनरलाई मैदानमा उतारेको छ । जसमा रविन्द्र जडेजा, कुलदीप यादव र रविचन्द्रन आश्विन हुन् ।

शुरुआती केही ओभरपछि स्पिनरका लागि फाइदाजनक हुनेछ । 

यो स्टेडियममा अहिलेसम्म ३१ एक दिवसीय खेलिएको छ । रोचक कुरा त के भने पहिले ब्याटिङ गर्ने टिमको जितको प्रतिशत ५०–५० रहेको छ । 

आज मौसम सफा रहने छ । केही समय बादल लागे पनि वर्षाको संभावना केबल १० प्रतिशतमात्र रहेको बताइएको छ । 
खेलाडीहरुको नजर
भारतका लागि सन् २०२३ मा सबैभन्दा बढी रन गिलले नै बनाएका छन् । उनले २० खेलमा १ हजार २३० रन बनाएका छन् । 

उनले नै नखेल्ने भएपछि टिम समस्यामा छ । कुलदीपले १७ खेलमा ३३ विकेट लिएका छन् । 

अष्ट्रेलियाका लागि मार्नस लाबुशेनले ११ खेलमा ४६४ रन बनाएका छन् । एडम जम्पाले ९ खेलमा १५ विकेट लिएका छन् । 

अहिलेसम्मको खेलको नतिजा
विश्वकपको पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हराएको थियो । 

दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हराएको थियो । 

विश्वकपको तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

विश्वकपको चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हराएको थियो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ