arrow

एमालेको प्रदेश अधिवेशन

सुदूरमा सहमतिले काम गरेन, तीनै जना प्रतिस्पर्धी मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
uml-sudurpachhim-2080-06-21.jpg

काठमाडौँ । नेकपा एमालेको सुदूरपश्चिम प्रदेशको पहिलो अधिवेशनमा तीन जनाबीच प्रतिस्पर्धा हुने निश्चितजस्तै भएको छ । अहिले बिहानबाट शुरु हुने निर्वाचन प्रकृयामा तीन जनाले नै नेतृत्वको लागि उम्मेदवारी दिने तयारी गरेका छन् । 

सोमबार मध्यरातिसम्म प्रतिस्पर्धाका लागि दाबी गरिरहेका अछामका कृष्णप्रसाद जैशी, अछामकै कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले आफ्नो दाबीलाई नछाडेपछि निर्वाचन प्रकृया शुरु भएको हो । 

सोमबार राति सार्वजनिक गरिएको निर्वाचन तालिकाअनुसार आज साँझ ५ बजे मतदान हुनेछ । सोमबार  राति ८ बजेबाट उम्मेदवारको दर्खास्त फारम वितरण गरिएको थियो । 

अहिले बिहान ७ बजेबाट फारम दर्ता गर्ने काम शुरु भएको छ । साथै अन्य निर्वाचन गतिविधि अगाडि बढाइएको छ । आइतबार उद्घाटन समारोह सकिएको थियो । अहिलेसम्म सर्वसम्मत नेतृत्व चयनको प्रयास गरिए पनि त्यो सफल हुन सकेको छैन । 

तीन जना आकांक्षीमध्ये एक जनालाई केन्द्रीय कमिटीमा पठाउने र दुई जनालाई प्रदेश कमिटीको पदाधिकारी हुने गरी व्यवस्थापन गर्न सकिने विकल्पमा छलफल चलिरहेको र साँझसम्म सहमति हुनसक्ने एक नेताले जानकारी दिएका छन् ।

तर उनीहरुले अडान नछाडेपछि अधिवेशन लम्ब्याएर नराख्ने भन्दै प्रकृया शुरु गरिएको हो । उद्घाटन सत्र सकिएपछि पार्टी अध्यक्ष केपी शर्मा ओलीले पार्टी महासचिव शंकर पोखरेललाई अधिवेशनको अभिभारा दिएर काठमाडौँ फर्किएका थिए । त्यसपछि महासचिव पोखरेलले सहमतिको वातावरण बनाउन नेताहरुसँग छलफल गरिरहेका छन् ।

अधिवेशनअन्तर्गत प्रदेश कमिटी चयनका लागि ९ वटै जिल्लाका गरी ६ सय ७५ जना प्रतिनिधि छनोट भएका छन् । सबैभन्दा धेरै प्रतिनिधि बाजुराबाट छनोट भएका छन्। 

दुईवटा प्रदेश निर्वाचन क्षेत्रमात्र रहेको बाजुराबाट १ सय २८ जना प्रतिनिधि चयन भएका छन् ।  सबैभन्दा धेरै १० वटा प्रदेश निर्वाचन क्षेत्र र १३ वटा स्थानीय तह रहेको कैलालीका १ सय १७ जना प्रतिनिधि छन् ।  

यस्तै कञ्चनपुरबाट ६३, बैतडीबाट ६८, दार्चुलाबाट ५३, अछामबाट ५४, बझाङबाट ४८, डोटीबाट ४१ र डडेल्धुराबाट १८ जना प्रतिनिधि रहेको अधिवेशन आयोजक कमिटिले जनाएको छ । 

यसपटक महासचिव आफैँ प्रदेश अधिवेशनमा खटिएकाले आफूले चाहेजस्तो व्यक्तिलाई प्रदेश अध्यक्ष बनाउने तयारी गरिरहेको स्रोतको दाबी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ