- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा आज दुई खेल हुँदैछन् । पहिलो खेलमा अहिले बंगलादेश र इङ्गल्याण्ड भिडिरहेका छन् ।
धर्मशालाको मैदानमा इङ्गल्याण्डले टस हारेर पहिले ब्याटिङ गरिरहेको छ । इङ्गल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । उद्घाटन खेलमा साविक विजेता इङ्गल्याण्ड उपविजेता न्यूजिल्याण्डसँग ९ विकेटले पराजित भएको थियो ।
बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको जितसहित ठोस शुरुआत गरेको थियो । आजको खेल जितेर इङ्गल्याण्ड लयमा फर्कन चाहन्छ भने बंगलादेश जितसहित सेमिफाइनल यात्रालाई बलियो बनाउन चाहन्छ ।
आजको दोस्रो खेल
आजको दोस्रो खेलमा पाकिस्तान र श्रीलंका खेल्दैछन् । खेल दिउँसो २ः१५ बजे हैदराबादमा हुनेछ ।
पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले हराएको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको थियो ।
यो खेल जितेर पाकिस्तानले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ भने श्रीलंका पछिल्लो कीर्तिमानी हारबाट मुक्त हुन चाहन्छ ।
अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो ।
–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो ।
–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो ।
–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।
– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।
–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।
अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।
अंक तालिका
२ अंकसहित न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र भारत क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् ।
अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स, श्रीलंका र इङ्गल्याण्डले खाता खोलेका छैनन् ।