arrow

इङ्गल्याण्डले बनायो जारी विश्वकपकै दोस्रो ठूलो योगफल, मलानको १४० रन

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
dawid-malan-england-worldcup-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा इङ्गल्याण्डले फराकिलो योगफल जोडेको छ । इङ्गल्याण्डले बंगलादेशविरुद्ध धर्मशालामा भइरहेको खेलमा ९ विकेटको क्षतिमा ३६४ रन बनाएको छ । 

जारी विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४२८ रन बनाएको थियो । इङ्गल्याण्डका लागि डाविड मलानले १०७ बलमा १४० रन बनाए । जारी विश्वकपको यो व्यक्तिगततर्फ सर्वाधिक रन हो । 

त्यस्तै जो रुटले ६८ बलमा ८२ तथा जोनी बेयरस्ट्रले ५२ रन बनाए । मेहन्दी हसनले ४ तथा शोरफुल इस्लामले ३ विकेट लिए । 

इङ्गल्याण्ड पहिलो जितको खोजीमा रहेको छ । उद्घाटन खेलमा साविक विजेता इङ्गल्याण्ड उपविजेता न्यूजिल्याण्डसँग ९ विकेटले पराजित भएको थियो ।  

बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको जितसहित ठोस शुरुआत गरेको थियो । आजको खेल जितेर इङ्गल्याण्ड लयमा फर्कन चाहन्छ भने बंगलादेश जितसहित सेमिफाइनल यात्रालाई बलियो बनाउन चाहन्छ । 

आजको अर्को खेल
आजको अर्को खेलमा अहिले पाकिस्तान र श्रीलंका खेलिरहेका छन् । खेल हैदराबादमा भइरहेको छ । टस जितेर श्रीलंकाले पहिले ब्याटिङ गरिरहेको छ । 

पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले हराएको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको थियो । 

यो खेल जितेर पाकिस्तानले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ भने श्रीलंका पछिल्लो कीर्तिमानी हारबाट मुक्त हुन चाहन्छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।  

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ अंकसहित न्यूजिल्याण्ड, दक्षिण अफ्रिका, पाकिस्तान, बंगलादेश र भारत क्रमशः पहिलोदेखि पाँचौँ स्थानमा छन् । 

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स, श्रीलंका र इङ्गल्याण्डले खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ