arrow

बंगलादेशमाथि इङ्गल्याण्डको फराकिलो जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २३ मंगलबार
worldcup-cricket-eng-bang.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा इङ्गल्याण्डले बंगलादेशमाथि फराकिलो जित हासिल गरेको छ । धर्मशालामा भएको खेल इङ्गल्याण्डले १३७ रनले जितेको हो । 

यो अन्तर जारी विश्वकपको सबैभन्दा फराकिलो हो । खेलमा इङ्गल्याण्डले ९ विकेटको क्षतिमा ३६४ रन बनायो । यो योगफल जारी विश्वकपको दोस्रो ठूलो स्कोर हो । 

जारी विश्वकपमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध ४२८ रन बनाएको थियो । इङ्गल्याण्डका लागि डाविड मलानले १०७ बलमा १४० रन बनाए । जारी विश्वकपको यो व्यक्तिगततर्फ सर्वाधिक रन हो । 

त्यस्तै जो रुटले ६८ बलमा ८२ तथा जोनी बेयरस्ट्रले ५२ रन बनाए । मेहन्दी हसनले ४ तथा शोरफुल इस्लामले ३ विकेट लिए । 

जवाफमा बंगलादेशले ४८.२ ओभरमा अलआउट हुँदै २२७ रनमात्र बनाउन सक्यो । ओपनर लिटन दासले ७६ तथा मुश्फिकर रहिमले ५१ रन बनाएको इनिङ्सलाई सस्तैमा समेट्ने क्रममा रिस्सि टोप्लेले ४ तथा क्रिस वोक्सले २ विकेट लिए । 

इङ्गल्याण्डको यो पहिलो जित हो । उद्घाटन खेलमा साविक विजेता इङ्गल्याण्ड उपविजेता न्यूजिल्याण्डसँग ९ विकेटले पराजित भएको थियो ।  

बंगलादेशले अफगानिस्तानमाथि ६ विकेटको जितसहित ठोस शुरुआत गरेको थियो । तर आजको खेल हारेर बंगलादेश कमजोर देखिएको छ  ।

आजको अर्को खेल
आजको अर्को खेलमा अहिले पाकिस्तान र श्रीलंका खेलिरहेका छन् । खेल हैदराबादमा भइरहेको छ । जितका लागि पाकिस्तानले ३४५ रनको चुनौती पछ्याइरहेको छ । 

पाकिस्तानले पहिलो खेलमा नेदरल्याण्ड्सलाई ८१ रनले हराएको थियो भने श्रीलंका दक्षिण अफ्रिकासँग १०२ रनले पराजित भएको थियो । 

यो खेल जितेर पाकिस्तानले आफ्नो लयलाई निरन्तरता दिन चाहन्छ भने श्रीलंका पछिल्लो कीर्तिमानी हारबाट मुक्त हुन चाहन्छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो ।  

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
४ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ भने दक्षिण अफ्रिका, पाकिस्तान, भारत, इङ्गल्याण्ड र बंगलादेश २ अंकसहित क्रमशः दोस्रोदेखि छैटौँ स्थानमा छन् । 

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स र श्रीलंकाले खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ