arrow

विश्वकप क्रिकेटमा भारत र अफगानिस्तान मैदानमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २४ बुधबार
worldcup-cricket-india-2023-10-11.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अहिले आयोजक भारत र अफगानिस्तान भिडिरहेका छन् । नयाँदिल्लीको मैदानमा भइरहेको खेलमा अफगानिस्तानले टस जितेर पहिले ब्याटिङ गरिरहेको छ । 

यही मैदानमा दक्षिण अफ्रिकाले श्रीलंकाविरुद्ध कीर्तिमानी जित हासिल गरेको थियो । सोही कारण पनि भारत आजको खेलमा कीर्तिमान रच्न उत्साही भए पनि अफगानिस्तानले पहिले ब्याटिङ गरेपछि उच्च रनको कीर्तिमान बन्ने छैन । 

तर दबाब भारतलाई पनि रहेको छ । शुबमन गिल डेंगीका कारण नहुनु र अष्ट्रेलियाविरुद्धको पहिलो खेलमा शुरुआती तीन खेलाडीहरु शून्यमा आउट हुँदा आजको खेलमा बढी रन बनाएर कीर्तिमान रच्नुभन्दा पनि होरियारीपूर्वक दुई अंक बटुल्ने गरी खेल्ने सम्भावना देखिन्छ । 

हेड टु हेडमा दुवैबीच तीन खेल भएका छन् । जसमा दुई खेल भारतले जितेको छ भने एक खेल अफगानिस्तानले जितेको छ । 

जारी विश्वकपको पहिलो खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हराएर ठोस शुरुआत गरेको थियो । अफगानिस्तान भने बंगलादेशसँग ६ विकेटले नै पराजित भएको थियो । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ खेलबाट ४ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । पाकिस्तान पनि २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा रहेको छ । 

१ खेलबाट २ अंकसहित दक्षिण अफ्रिका तेस्रो, भारत चौथो, इङ्गल्याण्ड पाँचौँ तथा २ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

अष्ट्रेलिया, अफगानिस्तान, नेदरल्याण्ड्स र श्रीलंकाले खाता खोलेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ