arrow

दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलियाको लज्जास्पद हार 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २५ बिहिबार
sa-aus-2023-10-12.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा पाँच पटकको च्याम्पियन अष्ट्रेलियाले लज्जास्पद हार बेहोरेको छ । अष्ट्रेलिया दक्षिण अफ्रिकासँग १३४ रनको फराकिलो अन्तरले पराजित भएको हो । अष्ट्रेलियाको यो हार विश्वकप इतिहासकै सबैभन्दा फराकिलो रनको हार हो । 

सन् १९८३ मा अष्ट्रेलियालाई भारतले ११८ रनले हराएको थियो । त्यसपछि ४० वर्षपछि मात्र अष्ट्रेलियाको खराब रेकर्ड दक्षिण अफ्रिकाले तोडेको हो । 
लखनउको मैदानमा खेल विजयका लागि ३१२ रनको चुनौती पछ्याएको अष्ट्रेलिया ४०.५ ओभरमै १७७ रन बनाएर अलआउट भयो । मार्नस लाबुस्चाङ्गेले ४६ तथा मिचेल स्टार्चले २७ रन बनाए ।  

दक्षिण अफ्रिकाका लागि कागिसो रबाडाले ३ तथा मार्को जन्सेन, केशव महाराज र ताब्लाइज शाम्सीले समान २–२ विकेट लिए ।

यसअघि टस जितेर दक्षिण अफ्रिकाले पहिले ब्याटिङ गर्दै ७ विकेटको क्षतिमा ३११ रन बनायो । ओपनर क्विन्टन डि ककले १०६ बलमा १०९ रन बनाए । उनले करियरको १९ औँ बनाएका हुन् । 

त्यस्तै आइडेन मार्करमले ४४ बलमा ५६ तथा कप्तान टेम्बा बभुमाले ५५ बलमा ३५ रन बनाए । मिचेल स्टार्च र ग्लेन म्याक्सवेलले २–२ विकेट लिए । 

दुवै बीचको एक दिवसीय क्रिकेट निकै नै कडा हुने गरेको छ । दुवैले एक दिवसीय विश्वकपमा आपसमा ७ खेल खेलेका छन् । 

जसमा तीन पटक अष्ट्रेलियाले र तीन पटक दक्षिण अफ्रिकाले जितेको छ । एक खेल टाइ भएको छ । 

समग्रमा दुवैले एक दिवसीयमा १०९ खेल खेलेका छन् । अष्ट्रेलियाले ५० तथा दक्षिण अफ्रिकाले ५६ खेल जितेको छ । तीन खेल टाइ तथा एक खेल नतिजाविहीन भएको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
२ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ४ अंकबाटै न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । २ खेलबाटै ४ अंकको भारत तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

२ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा २ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

श्रीलंका, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तानले अंकको खाता खोलेका छैनन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ