arrow

कागबेनी र मुक्तिनाथ क्षेत्रका पुरोहित फुर्सदिला

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २६ शुक्रबार
muktinath-mandir.jpg

म्याग्दी । यसअघिका वर्ष सोह्र श्रद्धाको अवधिमा भ्याइनभ्याइ हुने मुस्ताङको बारागुङ मुक्तिक्षेत्र गाउँपालिकास्थित धार्मिकस्थल कागबेनीमा रहेका पुरोहित श्याम रिजाल यसपालि फुर्सदिला छन् । 

“पोहोरपरार साल सोह्रश्राद्धको सबै तिथिमा भक्तजनले भरिभराउ हुने कागबेनीको श्राद्धस्थलमा यसपालि तीर्थालुको पातलो उपस्थिति छ”, उनले भने, “भक्तजन कम हुँदा हामीहरुलाई पनि कामको चाप छैन ।”

दामोदर कुण्डबाट बगेर आएकी काली नदी र मुक्तिनाथका १०८ धाराबाट बगेर आएको गण्डकीको सङ्गमस्थल भएकाले कागबेनी पुगेर पिण्ड दान गर्दा सबैभन्दा उत्तम फल मिल्ने बराह पुराण, स्कन्द पुराण, श्रीमद्भागवत लगायतका ग्रन्थमा उल्लेख गरिएको छ ।

कागबेनीमा पुगेर पितृलाई तर्पण दिनका लागि सोह्र श्राद्ध वा पितृको तिथि नै चाहिँदैन । सोह्र श्राद्धमा कागबेनीमै पुगेर आफ्ना दिवङ्गत पितृको उद्धारका लागि पिण्ड दान गर्न आउने भक्तजनको सङ्ख्यामा यसपालि कमी आएको मुक्तिनाथ क्षेत्र विकास समितिका कर्मचारी रविन सुवेदीले बताए । 

“ यसपालि यहाँ आउने नेपाली भक्तजन र तीर्थयात्री अहिलेसम्मकै कम छन्”, उनले भने, “औसी तिथिमा अन्य दिनमा भन्दा भक्तजन बढी आउलान् तर समग्रमा कमी भएको छ ।”

सोह्र श्राद्धलाई ‘महालय श्राद्ध’ पनि भनिन्छ । यसबाहेक सोह्र श्राद्ध, पितृपक्ष, कगङ्त, जितिया, महालय पक्ष, पितृ पोखो आदि विभिन्न नामले यी पवित्र १६ दिन पुकारा गरिन्छ । भाद्र शुक्ल पूर्णिमाबाट शुरु भएको यो पक्ष सोह्र श्राद्ध अवधिभरि अर्थात् आश्विन कृष्ण औँशीका दिनसम्म चल्ने गर्दछ । 

सोह्र श्राद्धको शुरुमै बेनी–जोमसोम सडकमा पहिरोका कारण यातायात अवरुद्ध हुँदा गलत सन्देश प्रवाह हुनु, बाढीले कागबेनीमा भौतिक संरचनामा क्षति पुर्‍याउनु र आर्थिक क्षेत्रमा देखिएको समस्याको असर भक्तजन आगमनमा परेको स्थानीयवासीको भनाइ छ । 

सोह्र श्राद्धमा भक्तजन र तीर्थयात्रीले भरिभराउ हुने होटल र धर्मशाला यसपालि सुनसान रहेका जोमसोमका होटल व्यवसायी बमप्रसाद गौचनले बताए । “पहिले तीर्थयात्री धेरै आउँदा होटलमा बास नपाएर डाइनिङ हलमा सुत्ने गर्दथे”, उनले भने, “यसपालि भएका कोठा पनि रित्ता भए ।”

भक्तजन आगमनमा भएको कमीले म्याग्दी र मुस्ताङको होटल, यातायात व्यवसायीदेखि पूजा सामग्री बिक्री गर्नेलाईसमेत असर गरेको छ । गत साउनको २८ गते कागखोलामा आएको बाढीले कागबेनीको बस्ती र भौतिक संरचनामा क्षति पुगेको थियो । 

बारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका पूर्वअध्यक्षसमेत रहेका कागबेनी बस्ती पुनःस्थापना तथा संरक्षण समितिका संयोजक धारा गुरुङले डोजरले बाढी पन्छाएर अस्थायी श्राद्धस्थल बनाएको जानकारी दिए । “अस्थायीरुपमा श्राद्ध गर्ने ठाउँ बनाएका छौँ, पिण्डदान गर्न कुनै समस्या छैन”, उनले भने, “हिजोआज बेनी–जोमसोम सडकको अवस्था पनि सहज छ । मुस्ताङ भ्रमणमा कुनै समस्या छैन ।”

मुक्तिनाथका होटल व्यवसायी रोशन थकालीले सोह्र श्राद्धमा भक्तजन कम भए पनि घटस्थापनापछि स्कुल कलेज र कार्यालय बिदा भई मुस्ताङ घुम्न आउने स्वदेशी पर्यटक बढ्ने अपेक्षा गरेको बताए । 

हालै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे, ऊर्जा, सिँचाइ तथा खानेपानीमन्त्री सरस्वती अर्याल र कृषि सहकारी तथा भूमि व्यवस्थामन्त्री महेन्द्रध्वज जिसीले मुस्ताङ भ्रमण गरेका थिए । 

पर्यटन प्रवद्र्धनका लागि घरपझोङ गाउँपालिकाले गत हप्ता जोमसोममा कृषि पर्यटन महोत्सवसमेत आयोजना गरेको थियो । वर्षा रोकिएको, आकाश खुलेको र चिसो शुरु हुन लागेको शरदयाम भ्रमण र घुमघामका लागि उपयुक्त मानिन्छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ