- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १२ औँ खेलमा अहिले भारत र पाकिस्तान भिडिरहेका छन् । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर भारतले पहिले बलिङ गर्दैछ ।
यो खेल केवल क्रिकेट मात्र नभइ सिंगो भारत र पाकिस्तानको देशको राजनीति पनि जोडिएको हुन्छ । भारत र पाकिस्तानबीचको खेल विश्वकै सबैभन्दा चासोको रुपमा लिने गरिन्छ ।
शुरुआती दुई खेलमा डेंगीका कारण सहभागी नभएका शुबमन गिल भारतीय टिममा फर्किएका छन् । इशान किशनको ठाउँमा शुबमन खेल्नेछन् ।
उनले बिहीबार र शुक्रबार अभ्यास गरिरहेकाले टिममा फर्किएका हुन् ।
भारतका लागि पूर्व कप्तान विराट कोहली सबैभन्दा सशक्त खेलाडी बनेका छन् । उनले अहिलेसम्म १४० रन बनाइसकेका छन् । बलिङमा जसप्रित बुमराह रहेका छन् । उनले ६ विकेट लिइसकेका छन् ।
उता पाकिस्तानमा हसन अलीले २ खेलमा ६ विकेट लिइसकेका छन् । त्यस्तै ब्याटिङतर्फ मोहम्मद रिजवानले २ खेलमा १ शतक र १ अर्धशतक गरी १९९ रन बनाइसकेका छन् ।
हेड टु हेड
विश्वकपमा भारतले अहिलेसम्म पाकिस्तानसँग हार बेहोरेको छैन । अहिलेसम्म सात पटक खेल खेलिएकामा सबै खेलमा भारतले पाकिस्तानलाई हराएको छ । सन् १९९२ मा भारत ४३ रनले विजयी भएको थियो ।
सन् १९९६ मा भारतले ३९ रनले खेल जितेको थियो । त्यस्तै १९९९ मा ४७ रनले, २००३ मा ६ विकेटले, २०११ मा २९ रनले, २०१५ मा ७६ रनले र २०१९ मा ८९ रनले भारत विजयी भएको थियो ।
अहिलेसम्म १३४ एक दिवसीय खेल आपसमा खेलेकामा भारतले ५६ तथा पाकिस्तानले ७३ खेल जितेको छ । ५ खेल नतिजाविहीन भएको छ ।
भारतमा ३० खेल भएकामा पाकिस्तानले १९ खेल जित्दा भारतले मात्र ११ खेल जितेको छ ।
अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो ।
–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो ।
–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो ।
–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।
– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।
–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।
–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो ।
–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो ।
–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए ।
–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो ।
–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।
अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।
अंक तालिका
३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । २ खेलबाट ४ अंकबाटै भारत तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ ।
२ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।
श्रीलंका, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तानले समान २ खेलबाट अंकको खाता खोलेका छैनन् ।