arrow

भारतविरुद्ध पाकिस्तानको कमजोर ब्याटिङ, १९१ रनमै समेटियो

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २७ शनिबार
india-pakistan-worldcup-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १२ औँ खेलमा भारतले पाकिस्तानविरुद्ध शानदार बलिङ गरेको छ । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा टस जितेर भारतले पहिले बलिङ गर्दै पाकिस्तानलाई १९१ रनमै रोकेको हो । पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनमात्र बनाएको हो ।

पाकिस्तानका लागि कप्तान बाबर आजमले ५८ बलमा ५० तथा उपकप्तान मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए । तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । त्यसपछि भने लगातार विकेट ढल्दा कुनै समय तीन सय भन्दा बढी रन बनाउने अनुमान विपरीत पाकिस्तान रनमै समेटिएको हो । 

भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रविन्द्र जडेजाले समान २–२ विकेट लिए । शार्दुल ठाकुर भने विकेटविहीन रहे । 

यो खेल केवल क्रिकेट मात्र नभइ सिंगो भारत र पाकिस्तानको देशको राजनीति पनि जोडिएको हुन्छ । भारत र पाकिस्तानबीचको खेल विश्वकै सबैभन्दा चासोको रुपमा लिने गरिन्छ । 

शुरुआती दुई खेलमा डेंगीका कारण सहभागी नभएका शुबमन गिल भारतीय टिममा फर्किएका छन् । इशान किशनको ठाउँमा शुबमन खेलिरहेका छन् । उनले बिहीबार र शुक्रबार अभ्यास गरिरहेकाले टिममा फर्किएका हुन् । 

हेड टु हेड 
विश्वकपमा भारतले अहिलेसम्म पाकिस्तानसँग हार बेहोरेको छैन । अहिलेसम्म सात पटक खेल खेलिएकामा सबै खेलमा भारतले पाकिस्तानलाई हराएको छ । सन् १९९२ मा भारत ४३ रनले विजयी भएको थियो । 

सन् १९९६ मा भारतले ३९ रनले खेल जितेको थियो । त्यस्तै १९९९ मा ४७ रनले, २००३ मा ६ विकेटले, २०११ मा २९ रनले, २०१५ मा ७६ रनले र २०१९ मा ८९ रनले भारत विजयी भएको थियो । 

अहिलेसम्म १३४ एक दिवसीय खेल आपसमा खेलेकामा भारतले ५६ तथा पाकिस्तानले ७३ खेल जितेको छ । ५ खेल नतिजाविहीन भएको छ । 

भारतमा ३० खेल भएकामा पाकिस्तानले १९ खेल जित्दा भारतले मात्र ११ खेल जितेको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । २ खेलबाट ४ अंकबाटै भारत तेस्रो स्थानमा छ । पाकिस्तान २ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

२ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।  

श्रीलंका, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तानले समान २ खेलबाट अंकको खाता खोलेका छैनन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ