- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १२ औँ खेलमा भारत विजयी भएको छ । भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । अहमदाबादको नरेन्द्र मोदी स्टेडियममा भएको खेलमा भारतले १९२ रनको चुनौती ३०.३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।
कप्तान रोहित शर्माले कप्तानी इनिङ्स खेल्ने क्रममा ८६ रन बनाए । उनले ६ छक्का र ६ चौकाको मद्धतले ६३ बलमै ८६ रन बनाएका हुन् ।
त्यस्तै श्रेयस ऐयरले ६२ बलमा अविजित रहँदै ५३ रन जोडे । केएल राहुलले अविजित रहँदै १९ तथा शुबमन गिल र विराट कोहलीले समान १६ रन बनाए ।
शहिन शाह अफ्रिदीले २ विकेट लिए ।
यसअघि टस जितेर भारतले पहिले बलिङ गर्दै पाकिस्तानलाई १९१ रनमै रोकेको थियो । पाकिस्तानले ४२.५ ओभरमा अलआउट हुँदै १९१ रनमात्र बनाएको हो ।
पाकिस्तानका लागि कप्तान बाबर आजमले ५८ बलमा ५० तथा उपकप्तान मोहम्मद रिजवानले ६९ बलमा ४९ रन बनाए । तेस्रो विकेटका लागि ८२ रनको साझेदारी गरेका थिए । त्यसपछि भने लगातार विकेट ढल्दा कुनै समय तीन सय भन्दा बढी रन बनाउने अनुमान विपरीत पाकिस्तान रनमै समेटिएको हो ।
भारतका लागि जसप्रित बुमराह, मोहम्मद सिराज, हार्दिक पाण्डेया, कुलदीप यादव र रविन्द्र जडेजाले समान २–२ विकेट लिए । शार्दुल ठाकुर भने विकेटविहीन रहे ।
विश्वकपमा भारतले अहिलेसम्म पाकिस्तानसँग हार बेहोरेको छैन । अहिलेसम्म आठ पटक खेल खेलिएकामा सबै खेलमा भारतले पाकिस्तानलाई हराएको छ । सन् १९९२ मा भारत ४३ रनले विजयी भएको थियो ।
सन् १९९६ मा भारतले ३९ रनले खेल जितेको थियो । त्यस्तै १९९९ मा ४७ रनले, २००३ मा ६ विकेटले, २०११ मा २९ रनले, २०१५ मा ७६ रनले र २०१९ मा ८९ रनले भारत विजयी भएको थियो । सन् २०२३ मा भारत ७ विकेटले विजयी भयो ।
अहिलेसम्म १३५ एक दिवसीय खेल आपसमा खेलेकामा भारतले ५७ तथा पाकिस्तानले ७३ खेल जितेको छ । ५ खेल नतिजाविहीन भएको छ ।
भारतमा ३१ खेल भएकामा पाकिस्तानले १९ खेल जित्दा भारतले मात्र १२ खेल जितेको छ ।
अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो ।
–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो ।
–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो ।
–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।
– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।
–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।
–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो ।
–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो ।
–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए ।
–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो ।
–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।
अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।
अंक तालिका
३ खेलबाट ६ अंकसहित भारत शीर्ष स्थानमा पुगेको छ । ३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ ।
२ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा छ ।
श्रीलंका, नेदरल्याण्ड्स, अष्ट्रेलिया र अफगानिस्तानले समान २ खेलबाट अंकको खाता खोलेका छैनन् ।