arrow

कोर्स करेक्सन

कोशीको राजनीतिक भूकम्पले बालुवाटारमा तरङ्ग, के होला समीकरण ? 

संघीय सरकारमा पनि कांग्रेसलाई अघि सार्ने एमालेको संकेत, माओवादीका नेताहरु फेरि एमाले फकाउनतिर सक्रिय

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
pm-office-singha-durbar-ktm-2078.jpg
तस्बिर – फाइल ।

काठमाडौँ । कोशी प्रदेशले संघीय सरकारको ‘कोर्स’ परिवर्तनलाई बल पुर्याएसँगै नेकपा एमालेले संघीय सरकारमा पनि नेपाली कांग्रेसलाई अघि सार्ने संकेत गरेको छ । 

एमाले महासचिव शंकर पोखरेलले कोशीमा मुख्यमन्त्री केदार कार्कीले इमानदारी देखाएसम्म सहयोग गरिरहने बताएर संघीय सरकारमा पनि कांग्रेसलाई अघि सार्ने संकेत गरेका हुन् । 

महासचिव पोखरेलले शनिबार एमाले सत्ताको हतारोमा नरहेको पनि बताउँदै मुख्यमन्त्री इमानदारीपूर्वक अगाडि बढेसम्म एमालेको साथ रहने बताएका हुन् । ‘हामीले स्वभाविक रुपमा वैकल्पिक सरकारका लागि साथ दिएका छौँ यदि उहाँ गठबन्धनतिर नफर्किए नेकपा एमालेले साथ दिन्छ,’ पोखरेलले भने । यसको अर्थ कांग्रेसले संघीय सरकार निर्माणमा लागे एमालेको साथ रहने भन्ने पनि हो । 

माओवादी नेतृत्वको कांग्रेसलाई कोशीमा असहयोग गरेपछि एमालेले कांग्रेसको विद्रोही समूहलाई सरकार बनाउन सहयोग गरेको थियो । यसको अर्थ एमालेले गठबन्धनलाई सहयोग गरेको नभइ संविधानको धारा १६८ को उपधारा ५ बमोजिम कांग्रेसको विद्रोही समूहले ल्याएको नामलाई सहयोग र समर्थन गरेको जनाएको छ ।

संघीय सरकारमा पनि कांग्रेसले चाहेमा बहुमतका लागि कांग्रेसलाई सहयोग गर्ने र अहिलेको गठबन्धनलाई तोड्ने प्रयासमा एमाले लागेको हो । ‘एमालेले कांग्रेसलाई अघि सार्ने नीति लिएको देखिएपछि माओवादी केन्द्रका नेताहरुले एमालेका नेताहरुसँग सम्पर्क बढाएका छन्’, एमाले उच्च स्रोतले भन्यो ‘सरकार बनाउने गरी छलफल गरौँ भनेका छन् तर अहिले त्यो विषयमा प्रवेश नगरौँ भनेका छौँ ।’

प्रचण्ड नेतृत्वका १० महिना पुग्दा नपुग्दै सरकार परिवर्तनको कोर्समा प्रवेश गरेको हो । जसको परिणाम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शनिबार बिहान सत्ता गठबन्धनको मूख्य घटक नेपाली कांग्रेसका दुई नेताहरु शेरबहादुर देउवा र डा. शेखर कोइरालासँग यही गठबन्धनलाई टिकाउने, सरकारलाई निरन्तरता दिने सहमति गर्नुपरेको थियो । 

कोशी प्रदेशमा कांग्रेसकै सांसद केदार कार्की मुख्यमन्त्री भएपछि आफ्नो दलकोसमेत समर्थन रहेको जनाउँदै प्रधानमन्त्री प्रचण्डले पद जोगाउन दुई नेतालाई बोलाएर यस्तो सहमति गर्नुपरेको थियो । 

राजनीतिक दलहरूबीच निर्वाचनमा जाने कि गठबन्धनमा सहमति गर्ने भन्ने दुई विकल्प भएपछि एमालेले गठबन्धनभित्रको कांग्रेस एउटा घटकले ल्याएको प्रस्तावलाई मानेर समर्थन गरेको थियो । 

कांग्रेसको आन्तरिक समस्याका कारण एमालेले साथ दिदै गए संघीय सरकारमा एमालेको प्रवेशलाई माओवादीले नजिकबाट हेरिरहेको माओवादीका एक पदाधिकारीले बताए । ‘यस्तो अवस्थामा एमालेले कांग्रेसलाई साथ दिएर सरकारमा नगई प्रतिपक्षमै बस्नसक्ने संभावना पनि देखेका छौँ’, माओवादीका ती पदाधिकारीको दाबी थियो । 

कोशी प्रदेशमा गठबन्धनका तर्फबाट बुधबार नै माओवादीका संसदीय दलका नेता इन्द्र आङ्बोलाई मुख्यमन्त्रीमा अघि सारिएको थियो । तर कांग्रेस नेता डा. शेखर कोइरालाले त्यसलाई अस्वीकार गर्दै सांसद केदार कार्कीलाई अघि सारेर मुख्यमन्त्रीमा दाबी गर्न लगाएपछि कोशी प्रदेशको राजनीतिक कोर्स मात्र होइन संघीय सरकारमा पनि धक्का लागिसकेको छ । 

कोशीमा एमालेसँगको सहकार्यमा कोइराला समूहको विद्रोहले सत्ता गठबन्धन पनि असुरक्षित भएको छ । पछिल्लो समय कांग्रेसभित्र कोइरालाका साथै महामन्त्री गगनकुमार थापाले माओवादीसँगको गठबन्धन तोड्नुपर्ने अभिव्यक्ति दिँदै आएका छन् । 

यही पृष्ठभूमिमा कोशीमा कोइराला समूहले एमालेसँग सत्ता–सहकार्य गरेपछि गठबन्धनको जग हल्लिएको महसुस नेताहरूले गरेका छन् । त्यसैले शनिबार बिहान प्रधानमन्त्री दाहाल र कांग्रेस सभापति देउवाले कोइरालालाई बालुवाटार बोलाएर गठबन्धनप्रति प्रतिबद्ध भएको लिखित ग्यारेन्टी मागेका थिए । 

दाहाल–देउवा–कोइरालाले हस्ताक्षर गरेको एकबुँदे हस्तलिखित सहमतिपत्रमा भनिएको छ, ‘हामी वर्तमान सत्ता गठबन्धनप्रति दृढ र स्पष्ट छौँ र यो गठबन्धनलाई कुनै पनि हालतमा कमजोर हुन दिने छैनौँ ।’ जसले गर्दा प्रचण्डलाई फेरि पनि सत्तामा रहिरहन बल पुगेको छ । 

यद्यपि प्रचण्ड अझै विश्वस्त छैनन् । उनले शनिबार मात्रै संकट टरेको भन्ने अभिव्यक्ति दिएका थिए ।  ‘प्रचण्डले कोशी प्रदेशमा नेपाली कांग्रेसको तर्फबाट मुख्यमन्त्री बनेका केदार कार्की गठबन्धनकै मुख्यमन्त्री हुन भन्नु परेको कारण पनि सत्ता संकट टार्नकै लागि थियो’, माओवादीका एक नेताको दाबी छ । 

शुक्रबार कोशी प्रदेशको समस्यालाई लिएर कांग्रेस नेताहरुको बैठकमा सहकागी भएर प्रधानमन्त्री प्रचण्डले शेखर कोइरालालाई फोनमार्फत कार्की बाहेकका नेतालाई समर्थन गर्ने जनाएका थिए । 

तर कोइरालाले नमानेपछि भने शनिबार बिहान उनै कार्कीलाई गठबन्धनको मुख्यमन्त्री मान्न तयार भए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ