arrow

इङ्गल्याण्डविरुद्ध अफगानिस्तानको सनसनीपूर्ण जित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २८ आइतबार
worldcup-2023-eng-afg-final.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १३ औँ खेलमा अफगानिस्तानले सनसनीपूर्ण जित हासिल गरेको छ । अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित जित हासिल गरेको हो । 

दिल्लीको अरुण जेट्ली मैदानमा भएको खेलमा अफगानिस्तान ६९ रनले विजयी भयो । पहिले ब्याटिङ गरेको अफगानिस्तानले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २८४ रन बनायो । 

पहिलो विकेटका लागि ११४ रनको साझेदारी भएको खेलमा रमानुल्लाह गुर्बाजले ५७ बलमा ८० तथा इक्राम अलिखिलले ६६ बलमा ५८ रन बनाए । अदिल रशिदले सर्वाधिक ३ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले उल्लेखनीय ब्याटिङ गर्न नसक्दा पराजय बेहोर्नुपर्यो । इङ्गल्याण्डले ४०.३ ओभरमा अलआउट हुँदै २१५ रनमात्र बनाउन सक्यो । ह्यारि ब्रुकले ६१ बलमा ६६ रन बनाए । 

मुजिब उर रहमान र राशिद खानले समान ३ विकेट लिए । त्यस्तै मोहम्मद नाबीले २ विकेट लिए । 

यो नतिजा जारी विश्वकपकै पहिलो अप्रत्याशित हो । योसँगै पुछारमा रहेको अफगानिस्तान छैटौँ स्थानमा पुगेको छ । 

अफगानिस्तानले इङ्गल्याण्डलाई कुनै पनि फर्मेटको खेलमा पहिलो पटक हराएको हो । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित भारत शीर्ष स्थानमा पुगेको छ । ३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित अफगानिस्तान छैटौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ ।  

श्रीलंका, नेदरल्याण्ड्स र पाँच पटकको च्याम्पियन अष्ट्रेलिया समान २ खेलबाट अंकविहीन छन् । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ