arrow

विश्वकपमा अष्ट्रेलियाको पहिलो जित, श्रीलंकाले ८४ रन जोड्न गुमायो १० विकेट 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज २९ सोमबार
kusal-mendis-glenn-maxwell-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १४ औँ खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले लखनउमा भएको खेलमा श्रीलंकालाई ५ विकेटले हराउँदै पहिलो जित हासिल गर्यो । 

खेलमा पहिले ब्याटिङ गरेको श्रीलंकाले ४३.३ ओभरमा अलआउट हुँदै २०९ रनमात्र बनायो । निकै आक्रामक शुरुआत गरेको श्रीलंका तीन सय भन्दा बढी योगफल जोड्ने स्थितिमा अगाडि बढिरहँदा अचानक विकेट ढल्न थालेपछि कम योगफलमै समेटियो । पहिलो विकेटका लागि १२५ रनको साझेदारी गरेपछि यसरी विकेट ढल्यो कि पछिल्लो ८४ रन जोड्दा सबै १० विकेट ढले । 

ओपनरद्धय कुशल परेराले ७८ र पथुम निसंकाले ६१ रन बनाए बाहेक केवल चरिथ असलंकालेमात्र दोहोरो स्कोर खडा गर्ने क्रममा २५ रन जोडे । 

अष्ट्रेलियाका एडम जम्पाले ४ तथा मिचेल स्टार्च र पाट कमिन्सले समान २ विकेट लिए । 

जवाफमा अष्ट्रेलियाले जोश इन्ग्लिसको ५८ तथा मिचेल मार्शको ५२ रनको मद्धतले ३५.२ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । 

यो जितले अष्ट्रेलियाले महत्वपूर्ण २ अंक बटुल्दै सेमिफाइनलको सम्भावना कायम राखेको छ भने जितविहीन श्रीलंका बाहिरिने लगभग पक्काजस्तै भएको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । २ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित अफगानिस्तान छैटौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित अष्ट्रेलिया आठौँ स्थानमा छ । ३ खेलबाट श्रीलंका तथा २ खेलबाट नेदरल्याण्ड्स अंकविहीन छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ