arrow

कीर्तिमानी रन बनाएको दक्षिण अफ्रिकालाई झड्का, नेदरल्याण्ड्ससँग पराजित 

logo
हाम्रा कुरा
प्रकाशित २०८० असोज ३० मंगलबार
worldcup-2023-sa-netherlands.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भएको छ । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग पराजित भएको हो । 

धर्मशालाको एचपीसीए स्टेडियममा दक्षिण अफ्रिकाले कल्पना नगरिएको परिणामको सामना गरेको हो । 

आफ्नो पहिलो खेलमा श्रीलंकाविरुद्ध ४२८ रन बनाएर विश्वकपमा सबैभन्दा बढी रन बनाएको कीर्तिमान रचेको दक्षिण अफ्रिकाले सबैभन्दा कमजोर आँकिएको नेदरल्याण्ड्समाथि अझ फराकिलो जित हासिल गर्ने अनुमान गरिएको थियो । 

तर दक्षिण अफ्रिकाले अप्रत्याशित परिणाम भोग्यो । दक्षिण अफ्रिका ३८ रनले पराजित भयो । 

वर्षाले प्रभावित भइ ४३ ओभरमा झारिएको खेलमा पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले ८ विकेटको क्षतिमा २४५ रन बनायो । 

कप्तान स्कट एड्वार्डस्ले ६९ बलमा अविजित रहँदै ७८ रन बनाए । लुंगि एनगिडी, मार्को जासेन र कागिसो रबाडाले समान २–२ विकेट लिए । 

जवाफमा दक्षिण अफ्रिकाले एक बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २०७ रनमात्र बनाउन सक्यो । 

डेभिड मिलरले सर्वाधिक ४३ रन जोडेको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा लोगन भान बिकले ३ तथा पल भान मिकेरेन, रोलोफ भान डर मेर्वे र बस देल लिडले २–२ विकेट लिए । 

सबैभन्दा कमजोर टिम नेदरल्याण्ड्सविरुद्ध पनि दक्षिण अफ्रिकालाई रेकर्ड राख्ने मौका छँदा उल्टै आफैँ रेकर्ड बनेको हो । 

यसअघि नेदरल्याण्डले पाकिस्तान र न्यूजिल्याण्डसँग हार बेहोरेको थियो भने दक्षिण अफ्रिकाले अष्ट्रेलिया र श्रीलंकालाई हराएको थियो । 

हेड टु हेड
नेदरल्याण्ड्स र दक्षिण अफ्रिकाले आपसमा ८ खेल खेलेका छन् । ६ पटक दक्षिण अफ्रिका विजयी हुँदा एक निर्णयविहीन भएको थियो । यसपालि जित हासिल गरेर नेदरल्याण्ड्सले यसअघिका हारको एकैपटक बदला लिएको छ । 

विश्वकपमा आपसमा चार पटक भिडन्त भएको छ । जहाँ तीन वटा खेल दक्षिण अफ्रिकाले जितेको थियो । यसपालि नेदरल्याण्ड्स विजयी भयो । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । ३ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित अफगानिस्तान छैटौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित अष्ट्रेलिया आठौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स नवौँ स्थानमा छ भने श्रीलंकामात्र अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ