arrow

न्यूजिल्याण्ड–अफगानिस्तान मैदानमा, सम्हालिएर खेल्दै न्यूजिल्याण्ड 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
nz-worlducp-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १६ औँ खेलमा अहिले न्यूजिल्याण्ड र अफगानिस्तान भिडिरहेका छन् । चेन्नईको मैदानमा न्यूजिल्याण्डले टस हारेर पहिले ब्याटिङ गर्दैछ । 

न्यूजिल्याण्डका लागि टस हारेर पनि यो धेरै रन बनाउने अवसर हुन सक्छ । घाइते भइ कप्तान केन विलियमसन खेल्न नसकेपछि टम लथामले कप्तानी सम्हालेका छन् ।

न्यूजिल्याण्ड लगातार चौथो जितको खोजीमा हुनेछ । न्यूजिल्याण्डका लागि अफगास्तिान कमजोर प्रतिद्धन्द्धी हो । तर इङ्गल्याण्डलाई हराएर सनसनी मच्याएको अफगानिस्तान निकै नै आत्मविश्वासी देखिएको छ । 

हेड टु हेडमा दुवैले जम्मा २ वटा खेल खेलेका छन् । जसमा दुवै खेल न्यूजिल्याण्डले जितेको छ । दुवै खेल सन् २०१५ र सन् २०१९ को विश्वकपमा खेलिएका हुन् । 

त्यसबाहेक यी दुईले आपसमा कुनै पनि एक दिवसीय श्रृंखला खेलेका छैनन् । न्यूजिल्याण्डका ओपनर डेभोन कन्वे जारी विश्वकपका सर्वाधिक रनकर्ता हुन् । उनले ३ खेलमा २२९ रन बनाइसकेका छन् । जसमा एक शतक रहेको छ । त्यस्तै मिचेल स्यान्टनरले ३ खेलमा ८ विकेट लिइसकेका छन् । जसमा एकै खेलमा ५ विकेटसमेत सामेल छ । अफगानिस्तानका लागि रहमानुल्लाह गुरबाजले १४८ रन बनाएका छन् । राशिद खानले ५ विकेट लिइसकेका छन् । जसमा एकै खेलमा ३ विकेट सामेल छ । 

यो खेलमा न्यूजिल्याण्डमाथि कीर्तिमानी योगफल जोड्ने अवसर भए पनि नियमित कप्तानको अनुपस्थितिमा सम्हालिने चुनौती छ । न्यूजिल्याण्ड निकै सजग भएर खेल्नेसमेत भएको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
३ खेलबाट ६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ३ खेलबाट ६ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । ३ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित अफगानिस्तान छैटौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित अष्ट्रेलिया आठौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स नवौँ स्थानमा छ भने श्रीलंकामात्र अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ