arrow

न्यूजिल्याण्ड शीर्ष स्थानमा कायमै, अफगानिस्तान निरीह

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १ बुधबार
worldcup-2023-afg-nz.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १६ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गरेको हो । 

चेन्नईको मैदानमा न्यूजिल्याण्डले टस हारेर पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा २८८ रन बनायो । ११० रन बनाउँदा ४ विकेट गुमाएर कमजोर देखिएको न्यूजिल्याण्डका लागि कप्तान टम लेथाम र ग्लेन फिलिप्सबीच पाँचौँ विकेटका लागि १५४ रनको साझेदारी भएपछि न्यूजिल्याण्डले सम्मानजनक योगफल तयार गर्यो । 

फिलिप्सले ८० बलमा ७१ तथा लथामले ७४ बलमा ६८ रन बनाए । त्यस्तै विल यङले ५४ रन बनाए । नविन–उल–हक र अज्मतुल्लाह ओमरजाईले २–२ विकेट लिए । 

जवाफमा उत्रिएको अफगानिस्तानले निरीहता देखायो । इङ्गल्याण्डलाई हराएर हौसिएको अफगानिस्तानले कमालको प्रदर्शन गर्ला भन्ने अपेक्षा विपरीत ३४.४ ओभरमा अलआउट हुँदै १३९ रनमात्र बनायो । रहमत शाहले सर्वाधिक ३६ रन बनाएको इनिङ्सलाई ध्वस्त पार्ने क्रममा मिचेल सान्टनर र लक्कि फर्गुसनले ३–३ तथा ट्रेन्ट बोल्टले २ विकेट लिए ।  

घाइते भइ कप्तान केन विलियमसन खेल्न नसकेपछि टम लथामले कप्तानी सम्हालेका हुन् ।

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
४ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ३ खेलबाट ६ अंकसहित भारत दोस्रो स्थानमा रहेको छ । ३ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित बंगलादेश छैटौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित अष्ट्रेलिया सातौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित अफगानिस्तान नवौैँ स्थानमा छ । पुछारको श्रीलंका अंकविहीन छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ