arrow

एनआरएनएमा लफडा, कांग्रेस र माओवादीका उम्मेदवारलाई पछि पार्दै एमालेका बद्री केसी विजयी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
badri-kc-nrna-president.jpg
डा बद्री केसी

काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को अध्यक्षमा डा बद्री केसी निर्वाचित भएसँगै लफडा शुरू भएको छ । अनलाइन सिष्टम ह्याक भएको भन्दै प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठले परिणाम अस्वीकार गरेसँगै लफडा भएको हो ।

काठमाडौँ सोल्टी होटलमा आयोजित ११औँ विश्व सम्मेलनअन्तर्गत बिहीबारको प्रत्यक्ष तथा अनलाइन मतदानबाट अन्य दुई प्रतिस्पर्धीलाई हराउँदै केसीले जित हात पारेका थिए  ।

निर्वाचन समितिले दिएको जानकारीअनुसार केसीले १३७८ मत ल्याएका थिए । उनका  निकटतम प्रतिस्पर्धी आरके शर्मा र महेश श्रेष्ठले कम मतले मात्र  पराजित भएका थिए । 

शर्माले १२८१, श्रेष्ठले १२२५ मत प्राप्त गरेका थिए । डा केसीलाई एमाले निकटको प्रवासी संगठनले अघि सारेको थियो । निवर्तमान तीन अध्यक्षमध्ये केसी कार्यकारी अधिकारयुक्त थिए । 

एमालेनिकट प्रवासी नेपाली मञ्चले उनलाई उम्मेदवार बनाएको थियो । महेश कांग्रेसनिकट हुन्, उनी एनआरएनएको निवर्तमान उपाध्यक्ष थिए । 

कांग्रेसबाट डा केशव पौडेल पनि अध्यक्षका आकांक्षी भए पनि पार्टीका नेताहरुले उनलाई थामथुम गरेर श्रेष्ठलाई अघि सारेका थिए । 

अर्का प्रत्यासी शर्मालाई माओवादीले समर्थन गरेको थियो । नेपालमा संयुक्त सरकार बनाइरहेको माओवादीले एनआरएन निर्वाचनमा कांग्रेससँग नगर्दा बद्री केसीले जित हात पारेका थिए । 

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नै ग्रीन सिग्नल दिएपछि उनी उम्मेदवार बनेका थिए । उनी पनि निवर्तमान उपाध्यक्ष हुन् ।

निर्वाचनपरिणाम अनुसार उपाध्यक्षमा अष्ट्रेलियाबाट डा विनोद श्रेष्ठ (१५६०), यूकेबाट डा हेमराज शर्मा २२६५, मलेसियाबाट खगेन्द्र न्यौपाने १३५७, कतारबाट राजु रेग्मी ‘राज’ १९००, यूकेबाट रामशरण सिमखडा १५५२ र जापानबाट रोविन शेरचन २१८० विजयी भएका छन् । 

यूकेबाट रोजिना प्रधान राईले १९४७ भोट ल्याएर महिला उपाध्यक्ष हात पारेका थिए । उनकी प्रतिद्वन्द्वी साउदी अरवियाबाट वेगम सैयद १९१४ मतमा ल्याएकी थिइन । युवा उपाध्यक्षमा रोसन थापा २४६८ मत ल्याएर विजयी भए । उनका निकटतम प्रतिद्वन्द्वी अब्दुल बासिदले १३२२ मत प्राप्त गरेका थिए ।

संघको महासचिवमा गौरीराज जोशीले २०३७ मत प्राप्त गरेर विजयी भए । महासचिवका अर्का प्रत्यासी बुद्धि सुवेदीले १८१८ मत प्राप्त गरेका छन् । 

उपमहासचिवमा २१५० मत ल्याएर प्रवीन गुरुङ कतारबाट र १७९० मत ल्याएर सोमनाथ सापकोटा यूकेबाट निर्वाचित भएका छन् । 

१५ जनाको उम्मेदवारी परेको सचिव पदमा निर्वाचित भएका ६ जना सचिवमा १६७३ मत ल्याएर भीम केसी ‘कमल’, १७८२ मत ल्याएर डा. ज्ञानेन्द्र रेग्मी, २०२४ मत ल्याएर मनोजकुमार श्रेष्ठ, १८५३ मत ल्याएर डा. नवराज रोस्यारा, १६५१ मत ल्याएर पारमणि पोखरेल र १६६६ मत ल्याएर स्वतन्त्रप्रताप शाह निर्वाचित भएका छन् । 

महिला सचिवमा राधिका गुरुङ ‘टीका’ ले २३२० मत ल्याएर विजयी भइन् । विमला सापकोटा १५३९ मतमा रोकिइन् । कोषाध्यक्षमा ठाकुरप्रसाद ढुंगानालाई हराउँदै सुदनकुमार थापा निर्वाचित भए । 

सहकोषाध्यक्षमा कृष्णप्रसाद तिमल्सिना २०१५, अभिमन्यू बस्नेत २०८१ र तिलकप्रसाद गैरे २२३२ मत ल्याएर विजयी भए । अमृता थापा २२८७ मत ल्याएर महिला सहकोषाध्यक्षमा विजयी भइन् । 

उनकी प्रतिस्पर्धी तृष्णा शर्माले १५२२ मतमात्र ल्याइन् । अन्तर्राष्ट्रिय महिला संयोजकमा अनुजा प्रधानले २३३६ मत प्राप्त गरिन् । यस्तै संघको युवा संयोजकमा सुपेन्द्र घिसिङ २०३६ मतका साथ विजयी छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ