arrow

पाकिस्तानविरुद्ध अष्ट्रेलियाको रनको वर्षा, वार्नर एक्लैले बनाए १६३ रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ३ शुक्रबार
david-warner-mitchel-sarsh.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानविरुद्ध खेलिरहेको छ । जितका लागि पाकिस्तानले ३६८ रनको कठिन चुनौती पाएको छ । 

बैंगलुरुमा भइरहेको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेटको क्षतिमा ३६७ रन बनायो । 

निकै शानदार शुरुआत गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नर एक्लैले १२४ बलमा १६३ रन बनाए । उनको यो जारी विश्वकपकै सर्वाधिक रन हो । त्यस्तै मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए । 

पहिलो विकेटका लागि भएको साझेदारी यो सबैभन्दा बढी हो । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै हरिस राउफले ३ विकेट लिए । 

अंक तालिका
४ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलबाट ८ अंकसहित भारत दोस्रो स्थानमा रहेको छ । ३ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । पाकिस्तान ३ खेलबाट ४ अंकसहित चौथो स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पाँचौँ तथा ३ खेलबाट २ अंकसहित अष्ट्रेलिया छैटौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित अफगानिस्तान नवौैँ स्थानमा छ । पुछारको श्रीलंका अंकविहीन छ । 


अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०।३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

अक्टोबर ५ तारिख असोज १८ गतेदेखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ