- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको १८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई हराएको छ । बैंगलुरुमा भएको खेलमा अष्ट्रेलिया ६२ रनले विजयी भएको हो ।
खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ९ विकेटको क्षतिमा ३६७ रन बनायो । निकै शानदार शुरुआत गरेको अष्ट्रेलियाले पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नर एक्लैले १२४ बलमा १६३ रन बनाए । उनको यो जारी विश्वकपकै सर्वाधिक रन हो । त्यस्तै मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।
पहिलो विकेटका लागि भएको साझेदारी यो सबैभन्दा बढी हो । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदीले सर्वाधिक ५ विकेट लिए । त्यस्तै हरिस राउफले ३ विकेट लिए ।
जवाफमा पाकिस्तानले पनि उत्कृष्ट शुरुआत गरेको थियो । तर सोही अनुहार गति लिन नसक्दा ४५.३ ओभरमा अलआउट हुँदै ३०५ रन बनाएर आउट भयो ।
पहिलो विकेटका लागि १३४ रनको साझेदारी गर्ने क्रममा इमाम–उल–हकले ७१ बलमा ७० तथा अब्दुल्लाह शफिकले ६१ बलमा ६४ रन बनाए । त्यस्तै मोहम्मद रिजवानले ४० बलमा ४६ रन जोडे ।
एडम जम्पाले ४ तथा पाट कमिन्स र मार्कस स्टोइनिसले २–२ विकेट लिए ।
अंक तालिका
४ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलबाट ८ अंकसहित भारत दोस्रो स्थानमा रहेको छ । ३ खेलबाट ४ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । ४ खेलबाट ४ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । पाकिस्तान ४ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड छैटौँ तथा ४ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ३ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित अफगानिस्तान नवौैँ स्थानमा छ । पुछारको श्रीलंका अंकविहीन छ ।
अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो ।
–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो ।
–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो ।
–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।
– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।
–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।
–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो ।
–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो ।
–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए ।
–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो ।
–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।
–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।
–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।
–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।
–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो ।
–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।
–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।
अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।