arrow

न्यूजिल्याण्डलाई हराउन भारतलाई दुई सय ७४ रनको चुनौती

शमीलाई पाँच विकेट, मिचेलले बनाए १३० रन 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ५ आइतबार
daryl-mitchell-2023-10-22.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको २१ औँ खेलमा अहिले भारत र न्यूजिल्याण्ड भिडिरहेका छन् ।  हिमाचल प्रदेश क्रिकेट एसोसिएसन स्टेडियममा भारतले जितका लागि २७४ रनको चुनौती पाएको छ । 

खेलमा भारतले टस जितेर पहिले बलिङ गरेपछि ब्याटिङ गरेको न्यूजिल्याण्डले सबै विकेट गुमाएर निर्धारित ५० ओभरमा २७३ रन बनायो । 

न्यूजिल्याण्डका लागि ड्यारिल मिचेलले सर्वाधिक १३० रन बनाए । मिचेलसँग तेस्रो विकेटका लागि १५९ रनको साझेदारी गर्ने क्रममा रचिन रविन्द्रले ७५ रन बनाए । 

भारतका लागि मोहम्मद शमीले ५४ रन खर्चेर ५ विकेट लिए । त्यस्तै कुलदीप यादवले २ तथा जसप्रित बुमराह र मोहम्मद सिराजले १–२ विकेट लिए । 

विश्वकपमा २० वर्षदेखि भारतले न्यूजिल्याण्डलाई हराउन सकेको छैन । सन् २०१९ को विश्वकपको सेमिफाइनलमा न्यूजिल्याण्डले भारतलाई १८ रनले हराएको थियो । 

हेड टु हेड
हेड टु हेडमा भारत–न्यूजिल्याण्डले ११६ खेल खेलेका छन् । जसमा भारतले ५८ तथा न्यूजिल्याण्डले ५० खेल जितेको छ । ७ खेल अनिर्णित भएको थियो भने एक खेलमा टाइ भएको थियो । 

विश्वकपमा अहिलेसम्म ९ खेल भएकामा ५ मा न्यूजिल्याण्ड र ३ मा भारतले जितेको छ । एक खेल भने वर्षाका कारण रद्द भएको थियो । 

विश्वकपमा भारतले सन् २००३ को विश्वकपमा जितेको थियो । त्यसयता भारत पराजित हुँदै आएको छ । 

दुवै टिमले जारी विश्वकपमा पाँचौँ खेल खेल्दैछन् । दुवै टिम अपराजित छन् । यो खेलपछि एक टिममात्र अपराजित हुनेछ । 

विजयी हुने टिमले स्पष्ट दुई अंकको अन्तर बनाउने छ । 

भारतीय टिममा रोहित शर्मा सबैभन्दा बढी २६५ रन बनाएका छन् । जसमा एक शतक र एक अर्धशतक रहेको छ । त्यस्तै जसप्रित बुमराहले १० विकेट लिएका छन् । जसमा एकै इनिङ्समा ४ विकेट रहेको छ । 

त्यस्तै न्यूजिल्याण्डका डेभोन कन्वेले २४९ रन बनाएका छन् भने मिचेल स्यान्टनरले ११ विकेट लिएका छन् । 

भारतका हार्दिक पाण्डेया छैनन् भने न्यूजिल्याण्डका नियमित कप्तान केन विमियमसन पनि छैनन् ।  

अंक तालिका
४ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड शीर्ष स्थानमा रहेको छ । ४ खेलबाट ८ अंकसहित भारत दोस्रो स्थानमा रहेको छ । ४ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । ४ खेलबाट ४ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । पाकिस्तान ४ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

३ खेलबाट २ अंकसहित इङ्गल्याण्ड छैटौँ तथा ४ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । ४ खेलबाट २ अंकससहित श्रीलंका नवौँ स्थानमा छ भने ४ खेलबाट २ अंकको अफगानिस्तान पुछारमा छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो ।

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ