arrow

पाकिस्तानमाथि अफगानिस्तानको सनसनीपूर्ण जित

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ६ सोमबार
afghanistan-cricket-team-2023-10-23.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अफगानिस्तानले सनसनीपूर्ण प्रदर्शन गरेको छ । विश्वकपको २२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गरेको हो । 

यसअघि इङ्गल्याण्डलाई हराएर सनसनी मच्याएको अफगानिस्तानले चेन्नईमा सोमबार भएको खेलमा पाकिस्तानमाथि ८ विकेटको जित हासिल गर्दै थप सनसनी मच्याएको हो । 

जितका लागि २८३ रनको चुनौती पछ्याएको अफगानिस्तानले ४९ ओभरमै मात्र २ विकेटको क्षतिमा पूरा गरेको हो । 

अफगानिस्तानका लागि इब्राहिम जद्रानले ११३ बलमा ८७, रहमत शाहले ८४ बलमा अविजित रहँदै ७७, रहमनुदुल्लाह गुर्बाजले ५३ बलमा ६५ तथा कप्तान हशमतुल्लाह शाहिदीले ४५ बलमा अविजित रहँदै ४८ रन बनाए । 

पाकिस्तानका शहिन शाह अफ्रिदी र हसन अलीले १–१ विकेट लिए । 

यसअघि खेलमा टस जितेर पाकिस्तानले पहिले ब्याटिङ गर्दै निर्धारित ५० ओभरमा ७ विकेटको क्षति २८२ रन बनायो । 

कप्तान बाबर आजमले ७४ तथा ओपनर अब्दुल्लाह शफिकले ५८ रन बनाए । छैटौँ विकेटका लागि ७३ रनको साझेदारी गर्ने क्रममा इफ्तिकार अहमदले २७ बलमा ४० तथा शदाब खानले ३८ बलमा ४० रन बनाए । 

अफगानिस्तानका लागि नुर अहमदले ३ तथा नविन उल हकले २ विकेट लिए । राशिद खान विकेटविहीन भए । 

सन् २०१९ मा एक खेल पनि नजितेको अफगानिस्तानले यसपालि दुई पूर्व च्याम्पियनहरुलाई हराएर सेमिफाइनलको यात्रामा पुग्नका लागि अन्य टिमलाई चुनौती पस्केको छ । 

यो हारले भने पाकिस्तानको सेमिफाइनलमा पुग्ने सम्भावना कमजोर बनेको छ । 

अंक तालिका
५ खेलबाट १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड दोस्रो स्थानमा रहेको छ । 

४ खेलबाट ६ अंकसहित दक्षिण अफ्रिका तेस्रो स्थानमा रहेको छ । ४ खेलबाट ४ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । 

पाकिस्तान ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

४ खेलबाट २ अंकसहित बंगलादेश सातौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ । 

४ खेलबाट २ अंकससहित श्रीलंका नवौँ स्थानमा छ भने ४ खेलबाट २ अंकसहित इङ्गल्याण्ड पुछारमा छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ