arrow

जसले आठौँ पटक ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता जिते

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ७ मंगलबार
sabai-jeet.jpg

म्याग्दी ।  ठेलो (छेलो) म्याग्दीका युवामाझ लोकप्रिय खेल हो । हृस्टपुष्ट र अग्लो शरीर भएका बलिया बाङ्गा युवाको सोख गाउँघरमा आयोजना हुने ठेलो प्रतियोगिता जितेर माल अर्थात् पहलमानको सम्मान पाउने भन्ने हुन्छ । 

धौलागिरि गाउँपालिका–७ स्थित ताकमकोतमा बडादसैँको महानवमी पर्वको अवसरमा तत्कालीन थापा राजाका पालादेखि माल पहिचान गर्नका लागि ठेलो फाल्ने प्रतियोगिता आयोजना गर्ने चलन छ । 

ताकमकोतमा सोमबार भएको परम्परागत ठेलो फाल्ने प्रतियोगिताको उपाधि धौलागिरि गाउँपालिकाको वडा नम्बर ७ का ३४ वर्षीय अशोक खत्रीले जिते । 

सोही वडाका अध्यक्षसमेत रहनुभएका उनले आठौँ पटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिताको उपाधि जितेर इतिहास बनाएका हुन् । 

आठ दशमलव पाँच किलोग्राम तौल भएको फलामको छेलोलाई सहभागीमध्ये सबैभन्दा टाढा फाल्नुभएका खत्रीलाई ‘माल’ घोषणा गरिएको ताकमकोत पूजा व्यवस्थापन समितिका सदस्य रिमप्रकाश थापाले बताए । 

यसअघि आठपटकसम्म ताकमकोतको ठेलो फाल्ने प्रतियोगिता कसैले पनि जितेका थिएनन् । प्रतियोगितामा ताकम र आसपासका गाउँका १८ युवाले सहभागिता जनाएका थिए । 

पश्चिम म्याग्दीको महत्वपूर्ण शक्तिपीठ मानिने ताकमकोतको ठेलो प्रतियोगितामा विजयी हुनेलाई यस क्षेत्रमा माल भनेर सम्मान गरिन्छ ।

यसअघि विसं २०७८ र २०७९ मा विजयी हुुनुभएका मालिका गाउँपालिका–१ निस्कोटका याम परियार दोस्रो बने । 

विसं २०७१ देखि २०७७ सम्म लगातार सात पटक उपाधि जितेका खत्रीले २०७८ मा सहभागिता जनाएका थिएनन् भने २०७९ मा यामसँग पराजित भएका थिए। 

निरन्तरको अभ्यास, शारीरिक व्यायम र स्वच्छ खानपानले उपाधि जित्न सहयोग गरेको उनको भनाइ थियो । माललाई फेटा गुटाएर सम्मानका साथै नगद उपहार दिने चलन छ । 

म्याग्दीको प्रमुख शक्तिपीठ ताकमकोतमा जगन्नाथ, अन्नपूर्ण, दुर्गालगायत देवी देवताको मूर्ति रहेका यहाँ नवदुर्गा, जेष्ठी पूर्णिमा, मङ्सिर पूर्णिमा, चैत्राष्टमी पर्वका अवसरमा विशेष मेला लाग्ने गर्छ । 

विसं १२४६ देखि १५४५ सम्म बगाले थापाको र १५४६ देखि १८८२ सम्म मल्ल राजाले कोत घरको रुपमा समेत प्रयोग भएको उक्त मन्दिरमा ऐतिहासिक महत्वका तोप, तरबार, खुँडा, खुकुरी, ढाललगायतका हातहतियार छन् । 

जगन्नाथ अन्नपूर्ण मन्दिरमा पूजाआजा र भाकल गरेमा मनोकांक्षा पूरा हुने विश्वास छ । यस वर्षको दसैँको नवमीका दिन करिब पाँच हजारभन्दा बढीले ताकमकोतमा पूजाआजा गरेका पुजारी गोविन्द पौडेलले बताए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ