arrow

अष्ट्रेलिया–नेदरल्याण्ड्स मैदानमा, अष्ट्रेलियालाई इतिहास रच्ने मौका

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक ८ बुधबार
worldcup-2023-aus-netherlands.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको २४ औँ खेलमा अहिले अष्ट्रेलिया र नेदरल्याण्ड्स भिडिरहेका छन् । खेल दिल्लीको अरुण जेट्ली स्टेडियममा भइरहेको छ । 

खेलमा टस जितेर अष्ट्रेलियाले ब्याटिङ गरिरहेको छ । अष्ट्रेलियाको टिममा एक परिवर्तन भएको छ । मार्कस स्टोनिसको स्थानमा क्यामरुन ग्रिन आएका छन् । 

दुवै टिमले जारी विश्वकपको पाँचौँ खेल खेलिरहेका हुन् । अष्ट्रेलियालाई यो खेलमा कीर्तिमानी रन जोड्ने अवसर रहेको छ । 

यही मैदानमा दक्षिण अफ्रिकाले ४२८ रन बनाएर सर्वाधिक रन जोड्ने कीर्तिमान बनाएको थियो । जारी विश्वकपको सबैभन्दा कमजोर मानिएको नेदरल्याण्ड्सविरुद्ध अष्ट्रेलियालाई कीर्तिमान रच्ने मौका भएको हो । 

हेड टु हेड
विश्वकपमा दुवै टिमले अहिलेसम्म दुई खेलमात्र खेलेका छन् । जसमा दुवै खेल अष्ट्रेलियाले जितेको थियो । अष्ट्रेलियाले सन् २००३ र २००७ को विश्वकपमा जितेको हो । यसबाहेक यी दुई टिमबीच कुनै पनि खेल भएको छैन । 

अष्ट्रेलियाका लागि डेभिड वार्नर निकै फर्ममा छन् । उनले २२८ रन बनाएका छन् । एक खेलमा त उनले १६३ रन बनाएका छन् । एडम जम्पाले ९ विकेट लिइसकेका छन् । 

नेदरल्याण्ड्सका कोलिन एकरम्यानले १२७ रन बनाएका छन् भने बास डे लिडेले ७ विकेट लिएका छन् । 

अंक तालिका
५ खेलबाट १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ४ खेलबाट ४ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । 

पाकिस्तान ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

४ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स सातौँ स्थानमा छ । 

४ खेलबाट २ अंकससहित श्रीलंका आठौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित इङ्गल्याण्ड नवौँ स्थानमा छ । 

५ खेलबाट २ अंकसहित बंगलादेश पुछारमा छ । बंगलादेश योसँगै चार खेल खेल्न बाँकी छँदै सेमिफाइनल प्रवेशको सम्भावनाबाट बाहिरिने पक्का भएको छ । 
 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ