- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको २५ औँ खेलमा अहिले इङ्गल्याण्ड र श्रीलंका खेल्दैछन् । खेलमा इङ्गल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ ।
श्रीलंका सन् १९९६ को र इङ्गल्याण्ड साविक च्याम्पियन हो । तर दुवैको हालत अहिले सेमिफाइनलमा पुग्नसमेत नसक्ने अवस्थामा पुगेको छ ।
दुवैले आज पाँचौँ खेल खेल्दैछन् । बेंगलुरुको मैदानमा आज जित हासिल गर्ने टिमको सेमिफाइनल सम्भावना जिवितै हुन्छ भने हार्ने टिम बाहिरिने पक्का जस्तै हुनेछ ।
दुवैले यसअघि ४ खेलबाट मात्र २ अंक बटुलेका छन् । यसर्थ सेमिफाइनलको सम्भावना जिवितै राख्न यो खेल गर या मरको हुनेछ ।
विश्वकपमा यसअघि दुवैबीच आपसमा ११ खेल भएकामा ६ खेल इङ्गल्याण्डले जितेको छ । एक दिवसीय खेल भने ७८ खेल भएको छ जसमा इङल्याण्ड ३८ र श्रीलंका ३६ खेलमा विजयी भएको छ । ३ खेल रद्द भएको छ भने ४ खेल टाइ भएको छ ।
यसरी हेर्दा दुवैबीच आजको खेल पनि निकै कडा हुने देखिन्छ ।
अंक तालिका
५ खेलबाट १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ५ खेलबाट ६ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ ।
पाकिस्तान ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा रहेको छ ।
अफगानिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।
४ खेलबाट २ अंकससहित श्रीलंका सातौँ स्थानमा छ । ४ खेलबाट २ अंकसहित इङ्गल्याण्ड आठौँ स्थानमा छ ।
५ खेलबाट २ अंकसहित बंगलादेश नवौँ स्थानमा छ ।
५ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स पुछारमा रहेको छ ।
अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो ।
–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो ।
–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो ।
–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।
– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।
–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।
–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो ।
–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो ।
–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए ।
–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो ।
–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।
–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।
–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।
–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।
–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो ।
–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।
–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।
–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।
–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो ।
–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।
–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।
–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।
–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।
–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।
अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।