arrow

दक्षिण अफ्रिकासँग फाइनल सरह खेल्दै पाकिस्तान

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १० शुक्रबार
worldcup-2023-pak-sa.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा आजदेखि छैटौँ चरणका खेलहरु हुँदैछन् । आज दक्षिण अफ्रिका र पाकिस्तान खेल्दैछन् । 

खेल चेन्नईस्थित एमए चिदम्बरम स्टेडियममा दिउँसो २ः१५ बजेदेखि शुरु हुँदैछ । यो विश्वकपको २६ औँ खेल हो । 

दोस्रो स्थानको दक्षिण अफ्रिका सेमिफाइनल नजिक पुगिसकेको छ । आजको खेल जित्दा भारतलाई उछिन्दै शीर्ष स्थानमा पुग्नेछ । 

त्यस्तै पाकिस्तान ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । सेमिफाइनलमा पुग्न पाकिस्तानले अबका हरेक खेल जित्नुपर्नेछ । 

त्यसका लागि पनि आजको खेल पाकिस्तानका लागि फाइनल सरह नै हो । हारले पाकिस्तानको सेमिफाइनल सम्भावना कमजोर बन्नेछ । 

हेड टु हेड
हेड टु हेड हेर्दा विश्वकपमा दुवैबीच ५ खेल भएका छन् । जसमा दक्षिण अफ्रिकाले ३ तथा पाकिस्तानले २ खेल जितेको छ । सन् १९९९ पछि जम्मा दुई खेल भएका छन् । र दुवैमा पाकिस्तान विजयी भएको छ । त्यसअघिका तीन वटै खेल दक्षिण अफ्रिकाले जितेको थियो । 

एक दिवसीयमा दुवैबीच ८२ खेल भएको छ । जसमा ५१ दक्षिण अफ्रिका र ३० मा पाकिस्तान विजयी भएको छ । एक खेल नतिजाविहीन भएको छ । 

जारी विश्वकपमा दक्षिण अफ्रिकाका क्विन्टन डे ककले ४०७ रन बनाएका छन् । कागिसो रबाडाले १० विकेट लिएका छन् । 

पाकिस्तानतर्फ मोहम्मद रिजवानले ३०२ रन बनाएका छन् । शाहिन शाह अफ्रिदीले १० विकेट लिएका छन् । 

लिग चरणका आधा बढी खेल सकिइसक्दा सेमिफाइनलमा पुग्ने चार टोलीको आँकडा बन्न थालेको छ । 

यसपालि सबैभन्दा ठूलो झड्का साविक विजेता इङ्गल्याण्डलाई लागेको छ । साविक विजेताको पगरी लगाएर इङ्गल्याण्ड भारत आएको भए पनि खेलाडीहरुले जितको भिसा भने नलिइकनै आएको देखिएको छ । 

जसका कारण साविक विजेता १० टोलीमध्ये नवौँ स्थानमा छ र सेमिफाइनलमा पुग्ने सम्भावनाबाट बाहिरिन केवल अंकगणितमात्र कुरिरहेको छ । 

अंक तालिका
५ खेलबाट १० अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । ५ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ५ खेलबाट ६ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । 
श्रीलंका ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । पाकिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ५ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ । ५ खेलबाट २ अंकसहित बंगलादेश आठौँ स्थानमा छ । 

५ खेलबाट २ अंकसहित इङ्गल्याण्ड नवौँ स्थानमा रहेको छ । ५ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स दशौँ स्थानमा रहेको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ