- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको २७ औँ खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले अन्तिम बलमा निर्णय भएको खेलमा न्यूजिल्याण्डलाई पाँच रनले हरायो ।
धर्मशालामा भएको खेलमा ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । जेम्स निशमले ३९ बलमा ५८, ड्यारिल मिचेलले ५१ बलमा ५४ रन बनाए । अष्ट्रेलियाका एडम जम्पाले ३ तथा जोश हाज्लेवुड र पाट कमिन्सले २–२ विकेट लिए ।
यसअघि खेलमा टस हारेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले आक्रामक शुरुआत गरे पनि त्यसलाई निरन्तरता दिन नसक्दा ३८८ रनमा समेटिएको हो ।
कुनै समय कम्तीमा ५०० रन बनाउने दिशातर्फ अगाडि बढेको भए पनि मध्यक्रमको ब्याटिङ राम्रोसँग नचल्दा ३८८ रनमा रोकिएको हो । योसँगै अष्ट्रेलियाले लगातार तेस्रो खेलमा ३५० भन्दा बढी रन बनाउने कीर्तिमान बनाएको छ ।
पहिलो विकेटका लागि १७५ रनको साझेदारी गर्ने क्रममा ट्राभिस हेडले ६७ बला १०९ रन बनाए भने ओपनर डेभिड वार्नरले ६५ बलमा ८१ रन जोडे ।
पहिलो विकेट १९.१ ओभरमा ढलेको भए पनि त्यसपछि भने खासै खेलाडीहरुको साझेदारी जम्न नसक्दा ३८८ रनसम्म टिम पुगेको हो ।
ग्लेन म्याक्सवेलले २४ बलमा ४१ रन बनाए । जोश इंग्लिसले २८ बलमा ३८, कप्तान पाट कमिन्सले १४ बलमा ३७ तथा मिचेल मार्शले ३६ रन बनाए ।
अष्ट्रेलियालाई ४९.२ ओभरमा अलआउट गर्ने क्रममा न्यूजिल्याण्डका ट्रेन्ट बोल्ट र ग्लेन फिलिप्सले ३–३ विकेट लिए भने मिचेल सान्टनरले २ विकेट झारे ।
यो खेल जितेपछि पनि अष्ट्रेलिया चौथो स्थानमै रहेको छ । रन रेटमा अझै पनि न्यूजिल्याण्ड अष्ट्रेलियाभन्दा अगाडि रहेको छ ।
अंक तालिका
६ खेलबाट १० अंकसहित दक्षिण अफ्रिका शीर्ष स्थानमा रहेको छ । ५ खेलबाट १० अंकसहित भारत दोस्रो स्थानमा रहेको छ ।
६ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ६ खेलबाट ८ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ ।
श्रीलंका ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । पाकिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ ।
अफगानिस्तान ५ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ । ५ खेलबाट २ अंकसहित बंगलादेश आठौँ स्थानमा छ ।
५ खेलबाट २ अंकसहित इङ्गल्याण्ड नवौँ स्थानमा रहेको छ । ५ खेलबाट २ अंकसहित नेदरल्याण्ड्स दशौँ स्थानमा रहेको छ ।
अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो ।
–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो ।
–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो ।
–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।
– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।
–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो ।
–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो ।
–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो ।
–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए ।
–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो ।
–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।
–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।
–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।
–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।
–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो ।
–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।
–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।
–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।
–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो ।
–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।
–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।
–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।
–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।
–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।
–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो ।
–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।
अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् ।