arrow

इङ्गल्याण्डको लज्जास्पद प्रदर्शन, भारतले २० वर्षपछि लियो बदला, रोहितको स्मरणीय खेल 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १२ आइतबार
rohit-sharma-kuldeep-yadav.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको २९ औँ खेलमा भारत विजयी भएको छ । लखनउको इकाना स्टेडियममा भएको खेलमा भारतले इङ्गल्याण्डलाई सय रनले हराएको हो । 

साविक विजेता इङ्गल्याण्डको यो लज्जास्पद प्रदर्शन हो । जारी विश्वकपमा इङ्गल्याण्डको यो सबैभन्दा कम योगफल हो । 

टस हारेर पहिले ब्याटिङ गर्दै भारतले रनका लागि निकै नै संघर्ष गर्दै ९ विकेटको क्षतिमा २२९ रन बनायो । ४० रन जोड्दा ३ विकेट गुमाएर अताल्लिएको भारतका लागि कप्तान रोहित शर्माले ८७, सूर्यकुमार यादवले ४९, केएल राहुलले ३९ तथा जसप्रित बुमराहले १६ रन बनाए बाहेक कुनै पनि खेलाडीले दोहोरो स्कोर बनाएनन् । 

विराट कोहलीले पहिलो पटक विश्वकपमा शून्यमा आउट भए । डेभिड विलीले ३ तथा क्रिस वोक्स र अदिल रशिदले २–२ विकेट लिए । 

जवाफमा इङ्गल्याण्डले लज्जास्पद प्रदर्शन गर्दै ३४.५ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो । लियाम लिभिङस्टोनले सर्वाधिक २७ रन बनाए । 

भारतका लागि मोहम्मद शमीले ४, जसप्रित बुमराहले ३, कुलदीप यादवले २ तथा राविन्द्र जडेजाले १ विकेट लिए । 

भारतले २० वर्षदेखि इङ्गल्याण्डलाई विश्वकपमा हराउन सकेको थिएन । सन् २००३ पछि भारतले इङ्गल्याण्डलाई विश्वकपमा हराउन सकेको थिएन  । 

सन् २०११ मा खेल टाइ भएको थियो भने २०१९ मा भारत पराजित भएको थियो । त्यसबाहेक अन्य विश्वकपमा भारतको भेट नै भएन । 

यो विश्वकपमा भने साविक विजेतामाथि भारत निकै हावी भयो । यो खेल कप्तान रोहित शर्माका लागि निकै नै महत्वपूर्ण रहेको थियो । 

रोहितले कप्तानका रुपमा सयौँ अन्तर्राष्ट्रिय खेल खेलेका थिए । उक्त खेलमा उनकै प्लेयर अफ द म्याच खेलमा भारत विजयी भएको हो । 

यो खेलपछि भारत एकमात्र अपराजित यात्रालाई निरन्तरता दिन सफल भएको छ । भारत शीर्ष स्थानमा पुगेर सेमिफाइनल लगभग पक्का गर्न सफलसमेत भएको छ । 

अंक तालिका

६ खेलबाट १२ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ६ खेलबाट १० अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

६ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ६ खेलबाट ८ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । 

श्रीलंका ५ खेलबाट ४ अंकसहित पाँचौँ स्थानमा पुगेको छ । पाकिस्तान ५ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । 

अफगानिस्तान ५ खेलबाट ४ अंकसहित सातौँ स्थानमा रहेको छ । ६ खेलबाट ४ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ ।

६ खेलबाट २ अंकसहित बंगलादेश नवौँ स्थानमा रहेको छ । ६ खेलबाट २ अंकसहित इङ्गल्याण्ड दशौँ स्थानमा रहेको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।

–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो । 

–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।

–२७ औँ खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई पाँच रनले हरायो । ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बला १०९ रन बनाए ।

–२८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेदरल्याण्ड्सले २२९ रन बनाएकामा ४२.२ ओभरमात्र क्रिजमा टिकेर १४२ रन बनाउन सक्यो ।  

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ