arrow

विश्वकप क्रिकेटमा छैटौँ चरण सम्पन्न, कसले कसलाई हरायो ? को कहाँ पुग्यो ? 

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
worldcup-cricket-india-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटमा अहिलेसम्म ३० खेल सकिएका छन् । ३१ औँ खेलमा आज पाकिस्तान र बंगलादेश दिउँसो २ः१५ बजे इडेन गार्डेनमा खेल्दैछन् । 

छैटौँ चरणका खेलहरु सम्पन्न भइ आजदेखि सातौँ चरणका खेलहरु हुँदैछन् । यहाँसम्म आइपुग्दा सेमिफाइनल पुग्ने टिमको तस्बिर सामुन्ने आउन थालेको छ । 

केही टिमको झिनो सम्भावना रहँदा केही टिम भने बाहिरिइसकेका छन् । विशेषगरी दुई खेल जितेर चार अंकमा रहेका टिमहरुको छैटौँ चरण हारपछि बाहिरिने पक्का हुनेछ भने जित्ने टिमको झिनो आशा बाँकी हुनेछ । 

त्यस्तै दुई अंकमा रहेका टिमहरु भने बाहिरिइसकेका छन् । यसपालिको विश्वकपमा सबैभन्दा बढी सनसनीपूर्ण र अनपेक्षित खेल अफगानिस्तानले खेलेको छ । 

अहिलेसम्म अफगानिस्तानले पूर्व विजेताहरु इङ्गल्याण्ड, श्रीलंका र पाकिस्तानलाई हराएको छ । सबैभन्दा कमजोर प्रदर्शन भने इङ्गल्याण्डले खेलेको छ । 

साविक विजेता इङ्गल्याण्ड पुछारमा छ । 

आयोजक भारत ६ खेलबाटै सेमिफाइनल पक्का गर्ने पहिलो टिम हो । भारत सबै खेल जितेर शीर्ष स्थानमा रहेको छ । न्यूजिल्याण्ड र दक्षिण अफ्रिका पनि पक्का जस्तै भएर बसेका छन् भने पाँच पटकको च्याम्पियन बलियो दाबेदार भएर चौथो स्थानमा छ । 

यहाँ पहिलो खेलदेखि ३० खेलसम्मको विवरण दिइएको छ । जहाँ कसले कसलाई हरायो भनेर स्पष्ट हुन्छ ।

–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।

–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो । 

–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।

–२७ औँ खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई पाँच रनले हरायो । ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बला १०९ रन बनाए ।

–२८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेदरल्याण्ड्सले २२९ रन बनाएकामा ४२.२ ओभरमात्र क्रिजमा टिकेर १४२ रन बनाउन सक्यो ।  

–२९ औँ खेलमा भारत विजयी भएको छ । भारतले इङ्गल्याण्डलाई सय रनले हराएको हो । भारतले ९ विकेटको क्षतिमा २२९ रन बनाएकामा इङ्गल्याण्डले ३४.५ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

–३० औँ खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो । श्रीलंकाले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २४१ रन बनाएकामा अफगानिस्तानले ४५.२ ओभरमै ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 

अंक तालिका
६ खेलबाट १२ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ६ खेलबाट १० अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

६ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड तेस्रो स्थानमा रहेको छ । ६ खेलबाट ८ अंकसहित अष्ट्रेलिया चौथो स्थानमा छ । 

अफगानिस्तान ६ खेलबाट ६ अंकसहित पाँचौँ स्थानमा रहेको छ । श्रीलंका ६ खेलबाट ४ अंकसहित छैटौँ स्थानमा रहेको छ । पाकिस्तान ५ खेलबाट ४ अंकसहित सातौैँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ६ खेलबाट ४ अंकसहित नेदरल्याण्ड्स आठौँ स्थानमा छ ।

बंगलादेश ६ खेलबाट २ अंकसहित नवौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ६ खेलबाट २ अंकसहित दशौँ स्थानमा रहेको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ