arrow

शानदार प्रदर्शनसहित नेपाल विश्वकप छनोटको सेमिफाइनलमा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १४ मंगलबार
kushal-malla-tu-2080-07-14.jpg

काठमाडौँ । नेपाल काठमाडौँमा जारी विश्वकप टी–२० एसिया छनोट क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ । 

लगातार दुई खेल जित्दै नेपाल एक खेलअघि नै सेमिफाइनलमा प्रवेश गरेको हो ।  दोस्रो खेलमा मंगलबार नेपालले मलेसियालाई ६ विकेटले हरायो । 

त्रिभुवन विश्वविद्यालयको कीर्तिपुर मैदानमा १६६ रनको चुनौती नेपालले १८ ओभरमै ४ विकेटको क्षतिमा पूरा गर्यो । 

नेपालका लागि कुशल मल्लले ३४ बलमा ७ छक्का र २ चौकाको मद्धतले ६५ रन बनाए । ओपनर कुशल भुर्तेलले २५ बलमा ४३ रन बनाए । त्यस्तै आसिफ शेखले २३ बलमा ३२ तथा सन्दीप जोराले १६ बलमा अविजित रहँदै १८ रन बनाए । 

मलेसियाका मुहम्मद अमिरले ३ विकेट लिए । 

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६५ रन बनायो । 

मलेसियाका लागि ओपनर साइद अजिजले ४९ बलमा ६८ रन बनाए । पहिलो विकेटका लागि ५८ रनको साझेदारी गर्ने क्रममा जुवैदी जुल्किफु्लीले १६ बलमा २४ रन बनाए । 

नेपालका लागि अबिनाश बोहराले २७ रन खर्चेर ४ विकेट लिए । त्यस्तै सन्दीप लामिछाने, गुल्सन झा र रोहित पौडेलले १–१ विकेट लिए । 

नेपाल रहेको समूहबाट लगातार दुई जितसहित ओमान पनि सेमिफाइनलमा पुगेको छ । कीर्तिपुर मैदानमा सम्पन्न खेलमा ओमानले सिंगापुरलाई पराजित गरेको हो । ओमान २२ रनले विजयी भएको हो । ओमानले पहिले ब्याटिङ गर्दै ६ विकेटको क्षतिमा १७४ रन बनाएकामा सिंगापुरले ८ विकेटको क्षतिमा १५२ रनमात्र बनायो । 

अब यो समूहबाट नेपाल र ओमानबीच हुने खेलबाटै समूह विजेताको टुंगो लाग्नेछ । 

यता मूलपानी मैदानमा भएको खेलमा यूएईले कुवेतलाई ५ विकेटले हराएको छ । कुवेतले पहिले ब्याटिङ गर्दै ८ विकेटको क्षतिमा ८८ रनमात्र बनायो । 

जवाफमा यूएईले १४.२ ओभरमै ५ विकेटको क्षतिमा जित हासिल गर्यो । जितसँगै यूएई पनि लगातार दुई जितसँगै सेमिफाइनलमा पुगेको छ । 

त्यस्तै मूलपानीको मैदानमा भएको खेलमा बहराइनले हङकङलई हराएको छ । बहराइन २० रनले विजयी भएको हो । 

बहराइनले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर १४६ रन बनायो । जवाफमा हङकङले ५ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर मात्र १२६ रन बनाउन सक्यो । 

अंक तालिकामा 
समूह एमा ओमान दुवै खेल जितेर ४ अंकसहित शीर्ष स्थानमा छ । नेपाल २ खेलबाट ४ अंकसहित दोस्रो स्थानमा छ भने सिंगापुर र मलेसिया २ खेलबाट अंकविहीन छन् । 

त्यस्तै समूह बी मा २ खेलबाट ४ अंकसहित यूएई पहिलो, २ खेलबाट २ अंकसहित बहराइन दोस्रो, २ खेलबाट २ अंकसहित हङकङ तेस्रो तथा २ खेलबाट अंकविहीन कुवेत पुछारमा छ । 

सोमबार पहिलो दिनको खेल
 पहिलो दिन नेपाल, यूएई, ओमान र हङकङ विजयी भएका थिए । नेपालले सिंगापुरलाई ८ विकेटले हरायो । कीर्तिपुर मैदानमा भएको खेलमा पहिले सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन बनाएकामा नेपालले १६.३ ओभरमै २ विकेटको क्षतिमा जित हासिल गर्यो । 

ओमानले मलेसियालाई ३२ रनले हरायो । मूलपानी मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको ओमानले ६ विकेटको क्षतिमा १५३ रन बनायो । जवाफमा मलेसियाले ८ विकेटको क्षतिमा १२१ रनमात्र बनाउन सक्यो । 

त्यस्तै यूएईले बहराइनलाई ५ विकेटले हरायो । मूलपानी मैदानमा पहिले ब्याटिङ गरेको बहराइनले ६ विकेटको क्षतिमा १३५ रन बनायो । जवाफमा यूएईले १८.२ ओभरमा ५ विकेटको क्षतिमा जित हासिल गर्यो । 

त्यस्तै मूलपानीमा भएको खेलमा हङकङले कुवेतलाई १६ रनले हरायो । पहिले ब्याटिङ गरेको हङकङले ६ विकेटको क्षतिमा १६६ रन बनायो । जवाफमा कुवेतले ८ विकेटको क्षतिमा १५० रनमात्र बनायो । 

आठ टिम सहभागी छनोटमा नेपालको समूहमा सिंगापुरसँगै ओमान र मलेसिया रहेका छन् । 

समूह बीमा यूएई, बहराइन, हङकङ र कुवेत रहेका छन् । समूहका शीर्ष दुई टिम सेमिफाइनलमा पुग्नेछन् । 

समूह एका खेलहरु कीर्तिपुर मैदानमा र समूह बीका खेलहरु मूलपानी मैदानमा भइरहेका छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ