arrow

बेलायती पूँजी भित्र्याउन लन्डनमा लगानी सम्मेलन

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक १५ बुधबार
Finance Minister.jpeg

काठमाडौँ ।  नेपाल र संयुक्त अधिराज्यबीच मैत्री सन्धिमा हस्ताक्षर भएको शतवार्षिकीका अवसरमा लण्डनस्थित नेपाली दूतावासले सिटी अफ लण्डनको म्यान्सन हाउसमा उच्चस्तरीय लगानी सम्मेलन आयोजना गरेको छ । 

नेपालको विकास आवश्यकता पूर्ति गर्न सम्मेलनमा लघुलजविद्युत लगायत पूर्वाधारका क्षेत्रमा ठूलो लगानी आवश्यक रहेको र प्रतिफलको सुनिश्चितता बारे लगानीकर्तासँग छलफल भएको छ ।

सम्मेलनका प्रमुख अतिथि अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालको समृद्धि तथा आर्थिक रुपान्तरणका लागि ठूलो वित्तीय स्रोतको आवश्यकता रहेकाले आन्तरिक स्रोत परिचालनसँगै वैदेशिक लगानी अपरिहार्य भएको बताउनुभएको लण्डनस्थित नेपाली राजदूतावासले जनाएको छ । 

लगानीमैत्री वातावरण बनाउन सरकारले आवश्यक ऐन, कानून निर्माण तथा परिमार्जन एवं संस्थागत व्यवस्था गरेको जानकारी दिए । 

चालु आर्थिक वर्षको बजेटमार्फत पनि लगानीकर्तालाई प्रोत्साहन गरिएको बताउँदै अर्थमन्त्रीले अन्तर्राष्ट्रिय वित्त बजारबाट पुँजी परिचालन गर्न आवश्यक कानूनी पूर्वाधार तयार गरिने जानकारी दिए । 

नेपालमा लगानीमैत्री वातावरण बनेकाले आगामी दिनमा बेलायतबाट लगानीमा थप वृद्धि हुने विश्वास उनले व्यक्त गरे ।

बेलायतका लागि नेपाली राजदूत ज्ञानचन्द्र आचार्यले नवीकरणीय ऊर्जा, सूचना प्रविधि, शिक्षा तथा पर्यटन क्षेत्रमा नेपालले बाह्य लगानी भित्र्याउन चाहेको बताए ।

नेपालले विद्युत् व्यापारका लागि छिमेकी मुलुक भारतसँग द्विपक्षीय सम्झौता गरेको तथा बङ्गलादेश निर्यात गर्न तयारी गरेको जानकारी दिए । 

बेलायती परराष्ट्र मन्त्रालयका निर्देशक बेन मेलरले पछिल्ला वर्षहरुमा ब्रिटिश इन्टरनेशनल इन्भेस्टमेन्टमार्फत् नेपालको विभिन्न क्षेत्रमा लगानी बढ्दै गएको बताए । 

नेपाललाई अतिकम विकसित मुलुकबाट विकासशील राष्ट्रमा स्तरोन्नति हुने प्रक्रियालाई सहज बनाउन निरन्तर सहयोग गर्ने प्रतिवद्धता उनले व्यक्त गरे ।

नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर बमबहादुर मिश्रले वैदेशिक लगानी स्वीकृति तथा विदेशी कम्पनीको लाभांश फिर्ता लैजाने प्रक्रिया सहज बन्दै गएको बताए । 

नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालमा लगानी मैत्री वातावरण बनेको हुँदा वैदेशिक लगानीकर्तालाई निर्धक्क भएर लगानी गर्न निजी क्षेत्रको तर्फबाट आह्वान गरे । 

अध्यक्ष ढकालले नेपालको पूर्वाधार विकासमा लगानी गर्न निजी क्षेत्र र विकास साझेदारहरूलाई आग्रह पनि गरे । 

लगानी बोर्ड नेपालका सहसचिव अमृत लम्सालले वैदेशिक लगानी स्वीकृति तथा परियोजना कार्यान्वयन अवधिभर विदेशी लगानीकर्तालाई सहजीकरण गर्न बोर्ड प्रतिबद्ध रहेको बताए ।

ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सहसचिव सन्दीप देवले नेपालको ऊर्जा क्षेत्रमा ठूलो पूँजीको आवश्यकता रहेको बताउँदै लगानीकर्ताका लागि यस क्षेत्रमा अथाह अवसर रहेकाले पुँजी परिचालन गर्न अनुरोध गरे ।

उक्त दूतावासका अनुसार सम्मेलनमा बेलायती बैंक, निजी लगानीकर्ता, बीमा कम्पनी, अन्य युरोपेली मुलुकका वित्तीय संस्थाका प्रतिनिधि, सरकारी प्रतिनिधिलगायत उपस्थित थिए । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ