- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपाली कांग्रेसको महासमिति बैठकको मिति सरेको छ । आगामी मंसिर १३ देखि १५ गतेसम्म गर्ने भनिएको बैठक दुई साता पर धकेलिएको हो ।
आइतबार पार्टी सभापति शेरबहादुर देउवाको धुम्बाराहीस्थित निवासमा बसेको कार्यसम्पादन समितिको बैठकले महासमिति बैठक मंसिर २९ देखि पुस २ गतेसम्म सञ्चालन गर्ने निर्णय गरेको हो ।
प्रचार विभाग प्रमुख मीन विश्वकर्माले आइतबार महासमिति बैठक सार्ने निर्णय गरिएको बताए । उनले सभाहलको अभावसँगै जाजरकोट भूकम्पका कारण तिहार अगाडिका सबै कार्यक्रम सार्वजनिक कार्यक्रम रोकिएपछि महासमिति बैठक पछाडि धकेल्नु परेको बताएका हुन् ।
यसअघि तीन दिने बैठक डाकिएकामा अब भने चार दिने हुने भएको छ । काठमाडौँको भृकुटीमण्डपमा सभाहल नपाउने भएपछि गोदावरी जानुभन्दा भृकुटीमण्डप नै कुर्नुपर्दा दुई साता ढिला हुन गएको उनले बताए ।
यसअघि भने विश्वकर्माले सभाहल बाहेक सबै तयारी सकिएको बताएका थिए । महासमिति बैठकका लागि पूर्वमेचीदेखि पश्चिम महाकालीसम्मका सबै सदस्य काठमाडौँ आउँछन् । त्यसकै लागि धेरैजसो जिल्लाले तयारीसमेत गरिसकेका छन् । महासमिति छान्ने काम धमाधम भइरहेको छ ।
कांग्रेस मुख्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले ५२ जिल्लाले महासमिति सदस्य चयन गरिसकेको जनाएका छन् । अन्य जिल्लाहरु पनि चयनको प्रक्रियामा रहेका छन् ।
कस्तो छ त महासमितिको तयारी ?
महासमिति बैठक दुई साता पर धकेलिए पनि तयारी भने तीव्र रुपले भइरहेको छ ।
बैठकअघिका कार्यक्रम धमाधम भइरहेका छन् । देशभर महासमिति सदस्यहरूको निर्वाचन धमाधम भइरहेको छ । अहिलेसम्म ५२ जिल्लाको निर्वाचन भइसकेको छ भने बाँकी जिल्लाहरु पनि निर्वाचनको चरणमा रहेका छन् ।
देशभरबाट महासमिति बैठकका लागि अढाई हजार महासमिति सदस्यहरु काठमाडौँ आउने छन् । महाधिवेशनपछिको शक्तिशाली बैठक हुने भएकाले पनि यसका लागि तँछाडमछाड हुनु स्वभाविकै हो ।
यो बैठकले केन्द्रीय कार्यसमितिको निर्वाचन बाहेक महाधिवेशनले गर्ने सबै कार्यहरू गर्न सक्ने वैधानिक व्यवस्था भएकाले पनि यसको महत्व निकै छ । यही बैठकले पार्टीको राजनीतिक कार्यदिशा तय गर्नेदेखि विधानसमेत फेरबदल गर्न सक्ने हैसियत राख्छ ।
तर यसपटकको महासमिति बैठकमा पार्टीको अबको नीति र आगामी कार्यदिशाका बारेमा मात्रै छलफल गर्ने भनी शीर्षतहमा सहमति भइसकेको बताइएको छ ।
यो पनि,