arrow

संस्थागत सामाजिक उत्तरदायित्वमा ग्लोबल आईएमई बैंक अगाडि  

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २४ शुक्रबार
global-ime-bank-pm-relief-f.jpg

काठमाडौँ । संस्थागत सामाजिक उत्तरदायित्वमा ग्लोबल आईइमई बैंक अगाडि देखिएको छ । पछिल्लो समय जाजरकोटमा गएको मझौला खालको शक्तिशाली भूकम्पले ठूलो जनधनको क्षति भएपछि सामाजिक उत्तरदायित्व अन्तर्गत बैंक आफूलाई अगाडि उभ्याएको हो । 

आईएमई ग्रुप तथा ग्लोबल आईएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकालले जाजरकोट, रुकुम पश्चिम लगायतका जिल्लाका भूकम्प प्रभावितहरूको लागि घोषणा गरिएको सहयोग रकम १ करोड ५० लाखको चेक मंगलबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई हस्तान्तरण गरे ।

अध्यक्ष ढकालले ग्लोबल आईएमई बैंक लिमिटेड, आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स, आईएमई लाइफ इन्स्योरेन्स र  आईएमई लिमिटेडलगायत आईएमई ग्रुपबाट प्रवर्द्धित कम्पनीहरू तथा आईएमई फाउन्डेसनमार्फत घोषणा गरिएको सहयोग रकमको चेक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषका लागि प्रधानमन्त्री प्रचण्डलाई हस्तान्तरण गरेका हुन् ।

सहयोग रकम हस्तान्तरणसँगै आईएमई ग्रुपले भूकम्पका कारण मृत्यु भएका नागरिकहरूप्रति हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै शोक सन्तप्त परिवारमा गहिरो समवेदना  तथा घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेको छ ।

साथै भूकम्प प्रभावित क्षेत्रमा आईएमई  ग्रुप तथा आईएमई फाउन्डेसनले स्थानीय प्रशासनसँगको समन्वयमा थप राहत सहयोगसमेत उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ । यसरी गरिएको सहयोग रकममध्ये ग्लोबल आईएमई बैंकको मात्र एक करोड रुपैयाँ रहेको बताइएको छ । 

मुलुकमा हुने कुनै पनि विपदमा बैंक सहयोगका लागि अग्रसरसमेत हुँदै आएको छ । विशेषगरी मुलुकमा निरन्तर भइराख्ने दैवीप्रकोपमा बैंक अग्रसर भएकै सेवामा हाजिर हुँदै आएको छ । 

मुलुकको वित्तीय एवम् आर्थिक क्षेत्रमा सघन रूपमा संलग्न रही बैंकले संस्थागत सामाजिक उत्तरदायित्वमा सक्रिय रहँदै आएको बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बताए । बैंकले आर्थिक वर्ष २०७८–०७९ मा हिन्दूहरुको पवित्रस्थल पशुपति परिसरको होमो डायलासिस सेन्टरलाई एक थान किड्नी डायलासिस मेसिन खरिद गर्न, प्रसिद्ध हाँस्य कलाकारद्धय मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य समेतको भूमिका रहेको लागुऔषधविरुद्ध जनचेतना सम्बन्धी भिडियो (छोटो फिल्म) निर्माण गर्न एवं प्रसिद्ध चिकित्सक डा. भगवान कोइरालाको नेतृत्वमा निर्माण हुन लागेको बालबालिका सम्बन्धी अस्पताल भवन निर्माणका लागि सक्दो आर्थिक सहयोग गरेको छ ।

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाको संस्थागत सामाजिक उत्तरदायित्व सम्बन्धी मार्गदर्शन २०७८ नै जारी गरेको छ । सोही अनुसार नै ग्लोबल आईएमई बैंकले दायित्व पूरा गरेको दाबी गरेको छ ।

ठूलो बैंक, बलियो सञ्चालक समिति
१६ वर्षपछि ग्लोबल बैंक पुनः सबैभन्दा ठूलो बैंक बनेको छ । सञ्चालक समिति बलियो भएका कारण यो बैंक नेपालको ठूलो बैंक बनेको छ भने निगरानी निरन्तर भइरहँदा बैंकको प्रगति निरन्तर भइरहेको दाबी गरिएको छ । सञ्चालक समिति स्तरीय कर्मचारी सेवा सुविधा समिति गठन भई क्रियाशील रहेको, जनशक्ति ब्यवस्थापन सम्बन्धी कार्यहरु भर्ना छनोट, नियुक्ति, पदस्थापन, सरुवा बढुवा, वृत्ति विकास, कार्य सम्पादन मूल्याङ्कन सम्बन्धी योजना, नीति तथा मापदण्ड तयार गरी सञ्चालक समितिमा पेश गर्ने, कर्मचारीहरुको पारिश्रमिक संरचनाको अध्ययन तथा विश्लेषण गर्ने, बजारको पारिश्रमिक संरचनामा आएको परिवर्तनले संस्थामा पार्ने प्रभावका विषयमा सञ्चालक समितिलाई सुझाव तथा सिफारिस गर्ने, उत्तराधिकार योजना तयार गरी स्वीकृतका लागि सञ्चालक समितिमा पेश गर्ने लगायतका महत्वपूर्ण भूमिका यो समितिले निर्वाह गर्दै आइरहेको छ । 

बैंकको प्रगति विवरणमा भनिएको छ, 'हामीले कर्मचारीको भावनाअनुसार काम गरेकाले पनि सफल भएका छौँ ।' सञ्चालक समितिको जवाफदेहितामा लेखापरीक्षण समिति क्रियाशील रहेको छ ।

सो समितिले बैंकको समग्र वित्तीय अवस्था, आन्तरिक नियन्त्रण, लेखापरीक्षण योजना, आन्तरिक लेखापरीक्षणमा औँल्याइएका विषयहरुमा आवधिकरुपमा समीक्षा गरी सो सम्बन्धमा अपनाउनु पर्ने कदमबारे ब्यवस्थापनलाई आवश्यक निर्देशन दिने र सो सम्बन्धमा आवश्यक सुझाव सञ्चालक समितिमा पेश गर्ने, बाह्य लेखापरीक्षकले पेश गरेको लेखापरीक्षण प्रतिवेदनमा औँल्याइएका कैफियतहरु उपर समीक्षा गरी सुधारात्मक कदम चाल्न व्यवस्थापनलाई निर्देशन दिने गर्दछ । 

बैंकको काम कारवाहीमा नियमितता, मितव्ययिता, औचित्यता एवं प्रभावकारिता जस्ता कुराहरु अवलम्बन भए नभएको समीक्षा गर्ने, बैंकको त्रैमासिक वित्तीय विवरणको समीक्षा गरी सञ्चालक समिति समक्ष प्रतिवेदन पेश गर्ने जस्ता महत्वपूर्ण काम कारबाहीहरु गर्दै आइरहेको छ । 

संस्थागत सुशासनप्रति सञ्चालक समिति तथा व्यवस्थापन सदैव प्रतिबद्ध रहिआएको छ । बैंकको नीति तथा कार्यक्रम एवं बजेट निर्माण, निर्णय प्रक्रिया, श्रोत परिचालन लगायतको व्यवसायिक क्रियाकलापमा विभिन्न तहको सहभागिता गराई कार्यान्वयन पक्षमा अपनत्वको भावना विकास गर्ने नीति लिएको समिति बताउँछ । 

सुशासनमा जोड दिँदै बैंकका शाखाहरु सञ्चालित 
बैंकको बढ्दो व्यावसायिक कारोबार तथा शाखा सञ्जाललाई दृष्टिगत गरी संस्थागत संरचनामा समय सापेक्ष परिवर्तन गरी सुशासनमा ध्यान केन्द्रित गर्दै आएको बैंक व्यवस्थापन बताउँछ। संस्थागत सुशासन सम्बन्धी मार्गदर्शनहरूको पूर्णपरिपालन गर्दै आएको बैंकको दाबी छ। 

सञ्चालक समिति एवं कर्मचारीहरूले नेपाल राष्ट्र बैंकबाट तोकिएका आचरण सम्बन्धी व्यवस्थाहरूको पूर्णपरिपालना गरिरहेको पनि बैंकका  नायब प्रमुख कार्यकारी अधिकृत पोखरेलले जनाए ।

विस्तारित व्यवसाय तथा अन्य सञ्चालन गतिविधिहरूका आधारमा आन्तरिक नियन्त्रणलगायत अन्य पक्षहरूको कार्यान्वयनलाई समयसाक्षेप हुने गरी थप मजबुत बनाउनुका साथै कर्मचारीको कार्यक्षमता अझ सबल बनाउनका लागि बैंकको सङ्गठन तालिका सांगठनिक संरचनालगायत पदाधिकारीहरूको जिम्मेवारीमा आवश्यकता अनुसार हेरफेर गर्ने काम गर्दै आएको बैंक बताउँछ । 

एक पदाधिकारी भन्छन्, 'बैंकको अनुपालनाको अवस्था अनुगमन र विश्लेषण गरी उपयुक्त समाधान गर्न छुट्टै अनुपालना विभाग रहेको छ । लेखापरीक्षण समितिले नियमित रूपमा सम्पूर्ण कामकारबाही अनुगमन गर्दै आएको छ । नेपाल राष्ट्र बैंकको नीति निर्देशनको परिपालन एवं बैंकको कार्यप्रणाली तथा प्रक्रियाहरू पर्याप्त भए नभएको कुरालाई समेत सुनिश्चित गर्ने काम भएको छ ।'

उनी अगाडि भन्छन्, 'बैंकका सम्पूर्ण काम कारबाहीहरूलाई पारदर्शी रूपमा सञ्चालन गरी मजबुत संस्थागत सुशासनको विकास गर्न बैंक सदा क्रियाशील रहँदै आएको छ । ब्यावसायिक सञ्जाल एवं व्यवसायमा भएको विस्तारसँगै बैंकको ग्राहक संख्यामा निरन्तर वृद्धि भइरहेको छ ।'
 
हाल बैंकका ग्राहक संख्या ३० लाख र कर्जा ग्राहकहरुको संख्या ६२ हजार भन्दा बढी पुगिसकेको जनाइएको छ । बैंकले प्रारम्भ गरेको साना व्यवसायी कर्जा, कृषि कर्जा तथा विपन्न वर्ग कर्जाले देशभरका साना तथा विपन्न वर्गलाई आर्थिक गतिविधिमा संलग्न गराई आर्थिक अवस्था उकास्न उल्लेख्य सहयोग पुगेको छ । 

यसैगरी बैंकले जारी गरेको सूचनामा भनिएको छ –बैंकिङ्ग पहुँच नभएका स्थानहरू पहिचान गरी शाखारहित बैंकिङमार्फत सुविधा प्रदान गर्दै आइरहेका छौँ भने नेपाल सरकारको यातायात कार्यालय, अध्यागमन विभाग, उद्योग विभाग, राहदानी विभाग, वैदेशिक रोजगार विभाग, ट्राफिक प्रहरी कार्यालय समेतबाट सर्वसुलभ ढंगले दस्तुर–कर संकलन सेवा निःशुल्क प्रदान गरी सरकारी राजस्व संकलनमासमेत सघाउ पुर्याउँदै आएका छौँ । 

पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने प्रयासः 
यस अवधिमा बैंकले एसियाको महत्वपूर्ण राष्ट्र दक्षिण कोरियामा पहिलो अन्तर्राष्ट्रिय शाखा खोल्ने निर्णय गरी नेपाल राष्ट्र बैंकबाट सैद्धान्तिक सहमतिसमेत प्राप्त गरेको छ । 

दक्षिण कोरियाको कानून बमोजिम विदेशी बैंकको शाखा खोल्न त्यहाँको नियामक निकायबाट स्वीकृति प्राप्त गर्नुपर्ने भएकाले सोका लागि प्रक्रिया शुरु गरिसकेको पनि बैंकले जनाएको छ । उक्त शाखा खोल्ने कार्य छिटो सम्पन्न गर्न क्रियाशील रहेको बैंकको भनाइ छ । 

१६ वर्षे यात्रामा बैंकले दिएका सुविधा
बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल हुन्। 'उत्कृष्ट बैंकिङ सबैका लागि' नाराका साथ विश्व स्तरीय बैंकिङ सेवामार्फत अर्थतन्त्रलाई आवश्यक गति दिने मूल मन्त्र अनुरूप सन् २००७ मा नेपालमा 'क' वर्गको वाणिज्य बैंकको श्रेणीमा सञ्चालनमा आएको ग्लोबल बैंक पूँजीको आधारमा त्यति बेलाको सबैभन्दा ठूलो बैंक थियो । 

ग्लोबल बैंक २०६३ साल पुस १८ गते क्षेत्रीय स्तरको वाणिज्य बैंकको रूपमा स्थापना भएको हो भने १६ वर्ष पश्चात् सन् २०२३ मा ग्लोबल पुनः नेपालको सबैभन्दा ठूलो वाणिज्य बैंक बनेको छ। 

बैंकको प्रतिवेदनमा भनिएको छ, 'ग्राहक तथा सम्पूर्ण सरोकारवालाहरुको आवश्यकता र अपेक्षा पूरा गर्दै देशको सन्तुलित आर्थिक सामाजिक रुपान्तरण गर्ने सरकारको प्रयासलाई टेवा पुर्याउने यस बैंकले प्रविधिमा आधारित नयाँ सेवाहरुको विकास, निक्षेप तथा कर्जाको विविधीकरण, आय आर्जनका नयाँ क्षेत्रहरु विस्तार तथा निक्षेप परिचालनमा जोड तथा पूँजीकोष वृद्धि रणनीति अख्तियार गरेको देखिन्छ । ग्राहक सेवालाई व्यवसाय विस्तारको प्रमुख आधार मान्दै ग्राहकलाई सजिलो, विश्वसनीय र छिटोछरितो सेवा प्रदान गरी सन्तुष्ट तुल्याउन नयाँ सोच, मोडल र मार्गको खोजी गरिरहेको यस बैंकले पोर्टफोलियो पूँजीकरण र प्राविधिक स्रोतको उपयोग गर्दै विभिन्न डिजिटल सेवा र सेवाका आइरहेको देख्न सकिन्छ ।'

 वार्षिक प्रतिवेदनमा अगाडि भनिएको छ, 'सेवा प्रवाह गर्ने अग्रभागका कामबाहेक ब्याक अफिस सञ्चालनलाई स्वचालित गर्न अन्य विभागमा कागजपत्र (दस्तावेज)हरु डिजिटल (कागजविहीन) भण्डारणमा गर्दै आएको यस बैंक व्यवसायिक इन्टेलिजेन्सका औजारहरु मार्फत् तथ्यांकमा पहुँच, विश्लेषण, विश्लेषणात्मक निष्कर्षहरु, सारांश, ड्यासबोर्ड, ग्राफ र नक्साङ्कन सम्बन्धी कामहरु विस्तृत इन्टेलिजेन्समार्फत् कार्यान्वयन गराउन अग्रसर भएको देखिन्छ। कर्जाका सेवाहरुमा डिमाण्ड कर्जा, नगद कर्जा, ओभरड्राफ्ट (अधिविकर्ष), ट्रस्ट रेसिप्टस, टर्म लोन जस्ता व्यावसायिक प्रकृतिका कर्जाहरुका साथै घर कर्जा, सवारी कर्जा, शैक्षिक कर्जा, धितो बन्धक कर्जा, पेशा-व्यवसायगत कर्जा जस्ता व्यक्तिगत र खुद्रा कर्जाहरु समेत समावेश दिदै आएको यस बैंक अतिरिक्त प्रतीतपत्र कारोबार (एलसी), बैंक जमानत जस्ता सुविधाहरु बैंकका ऋणीहरुका लागि उपलब्ध गराउँदै आएको देखिन्छ ।'

बैंकले यसका अतिरिक्त ग्राहकहरुका लागि डेबिट कार्ड, ग्लोबल ट्राभल कार्ड जस्तै क्रेडिट कार्डको सेवा प्रचलनमा ल्याएको बताएको छ । साना तथा मझौला उद्यम (एसएमई) लाई अर्थतन्त्रको मेरुदण्डका रुपमा ग्रहण गर्दै बैंकले एसएमईज्मा लगानीलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ । 

सबै शाखाबाट सहजै एसएमई कर्जा प्राप्त गर्न सकिने सुविधालाई अझै परिष्कृत गर्दै छोटो समयमा भित्रै कर्जा जारी गर्न सकिने व्यवस्था गर्न यसले ‘ग्लोबल अनलाइन लोन एप्लिकेसन’ मार्फत अनलाइन कर्जाका लागि आवेदन दिन सकिने व्यवस्थासमेत ल्याएको जनाएको छ । 

उच्च प्रविधियुक्त, विशिष्टिकृत र समसामयिक ग्राहकमैत्री सेवा प्रवाह गरी प्रतिस्पर्धी बजार मा अब्बलता कायम गर्दै शेयरधनी र सम्पूर्ण शेयरधनीलाई उच्चतम प्रतिफल प्रदान गर्ने ध्येय रहेको बैंक निष्ठा र व्यवसायिक आचरण लाई व्यवसायको आधारभूत सिद्धान्त मान्दै सुशासन, बफादारिता, सामूहिकता, सम्मान तथा व्यावसायिकताको मुलमन्त्र प्रति प्रतिवद्ध रहँदै आएको देखिएको उल्लेख गरिएको छ । 

केन्द्रीय बैंकको नियमनबाट निर्देशित पारदर्शीता र आन्तरिक नियन्त्रण प्रणाली सुदृढ राख्दै, स्पष्ट मार्गदर्शन, नियम, कार्याविधि निर्माण गरेको यस बैंकले व्यावसायिक साझेदार (उपभोक्ता, ग्राहक) तथा अन्य व्यवसायिक साझेदारसँग कठिन परिस्थितिको समयमा पनि साथसाथै हिँडेको, सबै सदस्यहरुको क्षमता र योगदानबाट निर्धारित दूरदृष्टि, ध्येय र आधारभूत मान्यता हासिल गर्न हरेक व्यक्तिको संस्कृति, भाषा, जातजाति, सामाजिक मूल्यमान्यता र उद्यमशीलताको मर्मलाई सम्मान गर्दै सांगठनिक लक्ष्य प्राप्तितर्फ उत्प्रेरित हुँदै अघि बढेको तथा उच्च मापदण्ड र व्यवसायिकताका साथ व्यवसायिक साझेदार (ग्राहक र उपभोक्ता) स्तरीय, भरपर्दो र सुरक्षित सेवा प्रदान गर्दै आएर सम्बन्धलाई अझै मजबुत राख्दै आएकोसमेत जनाएको छ । 

आम मानिसहरुलाई आवश्यकता अनुसार व्यक्तिगत बैंकिङ्ग सुविधा प्रदान गर्दै विपन्न वर्ग कर्जा, ग्राहकको जीवनशैली सम्बोधन गर्ने विभिन्न प्रकारका प्रडक्टहरु तथा अर्थतन्त्रका विभिन्न क्षेत्र, उप–क्षेत्रमा र भौगोलिक स्थान अनुसार पोर्टफोलियो विविधिकरण गरी शाखामार्फत ग्राहकलाई उन्नत बैंकिङ्ग अनुभव प्रदान गर्दै घर तथा अपार्टमेन्ट कर्जा, सवारी कर्जा, हायरपर्चेज कर्जा, धितोबन्धकीमा आधारित व्यक्तिगत कर्जा, शैक्षिक कर्जा, शेयर धितो कर्जा, साना व्यवसायी कर्जा (लघुवित्त कर्जा, कृषि, नारी कर्जा तथा अन्य कर्जा सुविधा), व्यावसायिक कृषि कर्जा, विपन्न वर्ग कर्जा, शिक्षित युवा कर्जा तथा वैदेशिक रोजगारबाट फर्केका युवाहरुका लागि कर्जा दिँदै आएकोसमेत बताएको छ । 

ग्लोबल आईएमईमा खाता रहेकाहरुलाई तुरुन्त क्रेडिट ट्रान्सफर गर्न सकिने, बैंकका खातामा हुने कारोबारमा वास्तविक समयमा क्लियरिङ हुने, द्रूत र वास्तविक विधिबाट रेमिट्यान्स सम्बन्धी सूचना प्रदान गरिने, ग्राहकका सबै सम्बन्धित जिज्ञासाहरुको एकद्वार समाधान गर्न सकिने यस वेब प्रविधि १३ भन्दा बढी देशका इजाजतप्राप्त साझेदारहरु तथा ४० भन्दा बढी बैंक को सहकार्यमा रेमिट्यान्स प्राप्त हुने व्यवस्था गराएको जनाउँदै बैंक भन्छ, 'बैंकको वेबमा आधारित प्रविधि (भेरिसाइन) सुरक्षित रेमिट्यान्स सफ्टवेयर, नेपालमा २९२ भन्दा बढी बैंकको शाखा सञ्जाल र १५,००० + आइएमई तथा जीएमईका एजेन्टहरुले प्रयोग गर्दैछ ।'

एपीआइ कनेक्टिविटीद्वारा निर्वाध भुक्तानी वितरण गर्न सकिने संयन्त्र तयार पारिएको यस वेब सफ्टवेयर मार्फत बैंकले भारत, बेलायत र अष्ट्रेलियामा रहेका प्रतिनिधि कार्यालयहरुमार्फत् सेवा प्रदान गर्दै आए जनाएको छ । 

यो बैंक नेपालमा आईएमईको भुक्तानी केन्द्रहरुबाट रेमिट्यान्स सेवा प्रदान गर्ने नेपालको एकमात्र बैंक हो । शहरदेखि दुर्गम ग्रामीण क्षेत्रसम्म रेमिट्यान्स भुक्तानी केन्द्रहरु रहेको आईएमई उपयुक्त समयमा एकाउन्ट क्रेडिट सुविधा दिने नेपालको पहिलो बैंक रहेकोसमेत बैंकले जनाएको छ । 

रेमिट्यान्स सम्बन्धी प्रचार-प्रवद्र्धन र ग्राहकको चासो र सरोकारलाई सम्बोधन गर्न ६ भन्दा धेरै देशहरुमा बजार प्रतिनिधि उपलब्ध रहेको पनि बैंकले जनाएको छ । 

बैंक दाबीसहित भन्छ, 'बैंक एजेन्टको सञ्जालबाट ग्राहकसमक्ष सहजै गुनासोरहित सेवा प्रदान गर्न सफल रहँदै आएको छ भने बैंकले ग्राहक सेवा केन्द्रमार्फत् लाभग्राहीलाई भुक्तानी लिन पनि सहयोग पुर्याउँदै आएको छ । ग्राहक तथा साझेदारहरुसँगको कारोबारमा रकममा न्यून लागत लिँदै आएको यस विप्रेषण (रेमिट्यान्स) सेवाको लाभ लिन ग्राहकले विदेशमै रहेर पनि खाता खोल्न सकिने प्रावधान मिलाइएको छ ।'

वेबमा आधारित ग्लोबल रेमिट अत्याधुनिक प्राविधिक विशेषताहरुमा द्रुत र सुरक्षित नगद हस्तान्तरण (ट्रान्सफर), प्रतिस्पर्धी लागत र सटही दर जस्ता विभिन्न कारणले गर्दा ग्राहकहरु यो सेवामा आकर्षित रहेको खुल्न आएको छ । 

मर्जर 
१ अर्ब ५० करोड चुक्ता पुँजी भएको ग्लोबलको १६ वर्षे यात्रा पश्चात् ग्लोबल आईएमई बैंक र बैंक अफ काठमाण्डुबीच मर्जर सम्पन्न भएको छ । नयाँ बैंकको सञ्चालक समितिमा ग्लोबल आईएमई बैकको तर्फबाट अध्यक्ष चन्द्रप्रसाद ढकालसहित ५ जना र बैंक अफ काठमाण्डुका तर्फबाट २ जना रहेका छन् । 

यस मर्जर पश्चात् नयाँ बैंकको नाम ग्लोबल आईएमई बीओके रहेर एकीकृत कारोबार सञ्चालनमा आइसकेको छ । १ अर्ब ५० करोड चुक्ता पुँजी भएको ग्लोबलको मर्जर पश्चात् बैंकको कूल पुँजी रु. ५७ अर्ब, चुक्ता पुँजी रु. ३५.७७ अर्ब, कूल निक्षेप रु. ४०८ अर्ब, कूल कर्जा रु. ३७६ अर्ब भन्दा बढी पुगेको छ । यसको कूल सम्पत्ति रु पाँच खर्ब पुगेको छ । 

४० लाखभन्दा बढी ग्राहक रहेको यस ग्लोबल आइएमई बीओके लिमिटेडले अब आफ्ना सम्पूर्ण ग्राहकलाई ३८५ शाखा कार्यालय, ३६७ एटिएम काउन्टर, २७५ शाखारहित बैंकिङ सेवा, ६१ वटा विस्तारित शाखा कार्यालय र ३ वटा विदेशी सम्पर्क कार्यालय बाट प्रत्यक्ष सेवा दिन थालेको छ ।

पूँजी तथा व्यवसायको आकारको हिसाबले पनि १६ वर्षपछि नेपालको सबै भन्दा ठूलो बैंक बनेको हो । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ