arrow

चरन क्षेत्र नहुँदा समस्या

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
Bheda.jpg

मन्थली । रामेछापको दोरम्वा गाउँपालिकाको शैलुङ क्षेत्रमा चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्र नहुँदा समस्या भएको छ ।

चरण क्षेत्रको अभाव हुन थालेपछि चौरीपालक किसानको पेसा नै सङ्कटमा पर्ने हो की भन्ने चिन्ताले सताएको छ । 

दोलखा र रामेछापको सिमानामा पर्ने शैलुङ क्षेत्रमा पुस्तौंदेखिदेखि चौँरी पालन गर्दै आएका किसानलाई चरन क्षेत्रको अभाव हुँदा समस्यामा परेका हुन् । 

यस क्षेत्रमा सडक नपुग्दासम्म चौँरीपालन गर्ने किसानको सङ्ख्या न्यून थियो ।

पछिल्लो समय चौँरीबाट उत्पादित दूध, ध्यू, छुर्पी, चिजलगायत वस्तु सडक सञ्जालका कारण बिक्री वितरणमा सहज हुन थालेपछि चौँरीपालक किसानको वृद्धि भएको स्थानीय बताउँछन् ।

चौँरीपालनबाट किसानले मनग्य आम्दानी गर्न थालेपछि लेकाली क्षेत्रका अन्य किसानले पनि चौँरी पाल्न सुरुवात गरेका किसान लालबहादुर योञ्जनले बताए ।

शैलुङ क्षेत्र उच्च लेकाली भू-भागमा पर्ने भएकाले यस क्षेत्रमा आलुबाहेक अन्य बालीनाली नहुने भएकाले पनि किसान चौरीपालन तर्फ आर्कषित भएका उनको भनाइ थियो ।

हाल शैलुङका करिब २० घरधुरीले तीन सय ५० को हाराहारीमा चौँरीगाई पालन गर्दै आएका छन् ।

“वर्षादको समयमा घाँस उम्रने भएकाले केही सहज हुन्छ । तर पर्याप्त घाँस र चरण क्षेत्र नहुँदा समस्या भएको छ”, योञ्जनले भने, “हिउँदको समयमा घाँसको झनै समस्या हुने गरेको छ ।”

चौँरीपालक किसानले पहिला स्थानीय गोदावरी र कालिञ्चोक सामुदायिक वनलाई चरन क्षेत्रको रुपमा प्रयोग गर्दै आएका जनाउँदै अहिले सामुदायिक वनले चरन क्षेत्र रोकेपछि झनै समस्या भएको उनले बताए ।

हाल किसानले आफ्नै खरबारीमा चरन क्षेत्र बनाएर चौरी चराउने गरेका छन् ।

चौँरीपालक किसानले स्थानीय, प्रदेश र सङ्घीय सरकारबाट कुनै सहयोग पाउन नसकेको दोरम्बा-१ राजभिरका फर्वा शेपाले गुनासो गरे । 

विगत वर्षमा शैलुङ क्षेत्रमा चौँरीगाई पाल्ने किसान थोरै हुँदा समस्या नभएका बताउँदै किसानको सङ्ख्या बढेसँगै समस्या पनि बढेको उनको भनाइ थियो ।

पछिल्लो समयमा चौँरीपालन किसान बढेसँगै गोठ निर्माण तथा चरन क्षेत्र तत्काल व्यवस्थापन गर्ने तयारी भइरहेको गाउँपालिकाकी उपाध्यक्ष खमला थापामगरले बताए ।   

समयमानै चरण क्षेत्र व्यवस्थापन गर्न नसके शैलुङ क्षेत्रमा चौँरी पालन नै सङ्कटमा पर्ने किसानको भनाइ थियो ।

स्थानीय निकायले यसतर्फ ध्यान दिनुपर्ने उनीहरु बताउँछन् । रासस



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ