arrow

न्यूजिल्याण्डविरुद्ध श्रीलंकाको संघर्ष, दशौँ विकेटका लागि कीर्तिमानी साझेदारी

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २३ बिहिबार
kusal-perera-fastest50.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ४१ औँ खेलमा अहिले न्यूजिल्याण्ड र श्रीलंका भिडिरहेका छन् । बेंगलुरुको एम चिन्नास्वामी स्टेडियममा पहिले ब्याटिङ गर्दै श्रीलंकाले ४६.४ ओभरमा अलआउट हुँदै १७१ रनमात्र बनायो ।

१२८ रन जोड्दा ९ विकेट गुमाइसकेको श्रीलंकाका लागि दशौँ विकेटका लागि भने विश्वकपको इतिहासमै सबैभन्दा बढी बल खेल्ने साझेदारी भएको थियो । ८७ बलको सामना गर्दै अन्तिम विकेटका लागि ४३ रनको साझेदारी भएको थियो । 

सो क्रममा महिश थिक्शानाले ९१ बलमा अविजित रहँदै ३८ तथा दिशान मदुसंकाले ४८ बलमा १९ रन बनाए । 

त्यसैगरी ओपनर कुसल परेराले २२ बलमा ५० रन बनाएर यो विश्वकपमा कम बलमा अर्धशतक पूरा गर्ने खेलाडी बनेका छन् । त्यसैगरी विश्वकपमै परेरा दोस्रो कम बलमा अर्धशतक बनाउने खेलाडीसमेत बनेका छन् । परेरा २८ बलमा ५१ रन बनाएर आउट भए । 

न्यूजिल्याण्डका लागि ट्रेन्ट बोल्टले ३ तथा लक्कि फर्गुसन, मिचेल सान्टनर र रचिन रविन्द्रले २–२ विकेट लिए । 

यो खेलमा फराकिलो जित हासिल गर्दा न्यूजिल्याण्डको सेमिफाइनल यात्रा लगभग पक्का हुनेछ । पराजित हुँदा भने अन्य दुई खेलको नतिजा कुर्नुपर्ने हुन्छ । 

न्यूजिल्याण्ड, पाकिस्तान र अफगानिस्तानको समान ८ अंक रहेका अवस्थामा सबैले अन्तिम खेल खेल्दै गर्दा यी भिडन्त गर या मरका खेल हुनेछन् । 

न्यूजिल्याण्ड जित्दा सेमिफाइनलम पुग्नेछ भने श्रीलंका जित्दा शीर्ष आठमा रहेर च्याम्पियन्स ट्रफी खेल्ने लगभग पक्का हुनेछ । 

त्यसैले पनि दुवै टिमलाई यो खेल गर या मरको हुनेछ । 

अंक तालिका
८ खेलबाट १६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ८ खेलबाट १२ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

८ खेलबाट १२ अंकसहित अष्ट्रेलिया तेस्रोे स्थानमा छ । ८ खेलबाट ८ अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ ।

पाकिस्तान ८ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रहेको छ । अफगानिस्तान ७ खेलबाट ८ अंकसहित छैटौँँँ स्थानमा रहेको छ । 

इङ्गल्याण्ड ८ खेलबाट ४ अंकसहित सातौँ स्थानमा फड्को मार्न सफल भएको छ । 

बंगलादेश ८ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । श्रीलंका ८ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ८ खेलबाट ४ अंकसहित पुछारमा झरेको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।

–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो । 

–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।

–२७ औँ खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई पाँच रनले हरायो । ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बला १०९ रन बनाए ।

–२८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेदरल्याण्ड्सले २२९ रन बनाएकामा ४२.२ ओभरमात्र क्रिजमा टिकेर १४२ रन बनाउन सक्यो ।  

–२९ औँ खेलमा भारत विजयी भएको छ । भारतले इङ्गल्याण्डलाई सय रनले हराएको हो । भारतले ९ विकेटको क्षतिमा २२९ रन बनाएकामा इङ्गल्याण्डले ३४.५ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

–३० औँ खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो । श्रीलंकाले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २४१ रन बनाएकामा अफगानिस्तानले ४५.२ ओभरमै ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

–३१ औँ खेलमा पाकिस्तान विजयी भएको छ । इडन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो । 

–३२ औँ खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित हासिल गरेको छ । ३५८ रनको विशाल चुनौती पछ्याएको न्यूजिल्याण्डले ३५.३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो ।

–३३ औँ खेलमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भारतले ३५७ रन बनाएकामा श्रीलंका वानखेडे स्टेडियममा ५५ रनमा समेटियो । भारतको विश्वकपमा यो नै सबैभन्दा फराकिलो रन अन्तरको जित हो । विश्वकपमा यो दोस्रो ठूलो अन्तरको जित हो । यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको अन्तरले हराएको थियो । समग्र एक दिवसीयमा भारतको यो चौथो फराकिलो अन्तरको जित हो । भारतले श्रीलंकामाथि नै सन् २०२३ को जनवरीमा हासिल गरेको ३१७ रनको जित अहिलेसम्मकै विश्वकै सर्वाधिक रनको अन्तरको कीर्तिमानी जित हो । 

–३४ औँ खेलमा अफगानिस्तानले नेदरल्याण्ड्समाथि ७ विकेटको जित हासिल गर्यो । नेदरल्याण्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । जवाफमा अफगानिस्तानले ३१.३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।

–३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई डक वर्थ लेविस नियमअनुसार २१ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा पाकिस्तानले ४०२ रनको फराकिलो चुनौती पछ्याइरहँदा वर्षाले खेल अवरुद्ध भएसँगै २५.३ ओभरमा १ विकेट गुमाएर २०० रन बनाएको पाकिस्तान २१ रनले विजयी भएको हो । 

–३६ औँ खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्डलाई ३३ रनले हराएको हो । 

–३७ औँ खेलमा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको फराकिलो जित हासिल गरेको छ । ३२७ रनको चुनौती दिएकामा दक्षिण अफ्रिकाले २७.१ ओभरमा अलआउट हुँदै केवल ८३ रनमात्र बनाउन सक्यो । भारतका विराट कोहलीले शतक बनाए । रविन्द्र जडेजाले ५ विकेट लिए । 

–३८ औँ खेलमा बंगलादेश विजयी भएको छ । दिल्लीमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हरायो । 

–३९ औँ खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्यो । ग्लेन म्याक्सवेलको म्याक्सवेलले १२८ बलमा १० छक्का र २१ चौकाको मद्धतले अविजित रहँदै २०१ रन बनाए । विश्वकपमा यो पहिलो दोहोरो शतक हो । आठौँ विकेटका लागि म्याक्सवेल र पाट कमिन्सबीच २०२ रनको साझेदारी भएको थियो । खेलमा अब्राहिम जद्रानले विश्वकपमा पहिलो शतक प्रहार गरेका थिए ।

–४० औँ खेलमा साविक विजेता इङ्गल्याण्ड विजयी भएको छ । पुनेमा भएको खेलमा इङ्गल्याण्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गर्यो । 

अक्टोबर ५ तारिख (असोज १८ गते) देखि शुरु भएको डेढ महिनासम्म चल्ने विश्वकपमा १० टिम सहभागी रहेका छन् । एक आपसमा खेलेपछि अंक तालिकाको शीर्ष चारमा रहने टिम सेमिफाइनलमा पुग्ने छन् । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ