arrow

लिग चरणको अन्तिम खेलमा भारत र नेदरल्याण्ड्स भिड्दै, भारत ९–० को दिशामा

logo
हाम्रा कुरा
प्रकाशित २०८० कार्तिक २६ आइतबार
worldcup-cricket-india-2023.jpg

काठमाडौँ । भारतमा जारी विश्वकप एक दिवसीय क्रिकेटको ४५ औँ तथा लिग चरणको अन्तिम खेलमा आज भारत र नेदरल्याण्ड्स खेल्दैछन् । दिउँसो २ः१५ बजे बेंगलुरुको एन चिन्नास्वामी स्टेडियममा तालिकाको शीर्ष स्थानमा रहेको भारत र पुछारमा रहेको नेदरल्याण्ड्स खेल्न लागेका हुन् । 

भारतले अहिलेसम्म खेलेका सबै ८ खेल जितेको छ भने आजको खेल पनि जितेर ९–० को जित बनाउन चाहन्छ । 

भारतले सहभागी १० मध्ये बाँकी सबै टिममाथि जित हासिल गरेकाले आजको खेल पनि जित्नेमा ढुक्क छ । 

अझ यो खेलमा खेलाडीहरुले आफ्नो कीर्तिमानलाई थप बलियो बनाउने छन् । त्यतिमात्र होइन यसअघिको खेलमा शतक बनाएर एक दिवसीयमा ४९ शतकसहित सचिन तेन्दुलकरको बराबरी गरेका विराट कोहलीले आजको खेलमै शतक पूरा गरेर विरलै तोडिने कीर्तिमान बनाउन चाहन्छन् । कोहलीले जारी विश्वकपमा ५४३ रन बनाइसकेका छन् । जसमा २ शतक र ४ चौका छन् । 

त्यस्तै मोहम्मद शमीले १६ विकेट लिइसकेका छन् । शमी, जसप्रित बुमराह र मोहम्मद सिराजले मिलेर ४१ विकेट लिइसकेका छन् । त्यस्तै रविन्द्र जडेजा र कुलदीप यादवले २ विकेट लिइसकेका छन् । 

त्यस्तै कप्तान रोहित शर्माले छक्कालाई अझ बढी बनाउन चाहन्छन् । 

विश्वकपमा भारत र नेदरल्याण्ड्सबीच अहिलेसम्म दुई खेल भएका छन् । दुवै खेल भारतले जितेको छ । सन् २००३ मा भारत ६८ रनले तथा सन् २०१५ मा ५ विकेटले हराएको थियो ।   

अब लिग चरणको अन्तिम खेल आइतबार दिउँसो भारत र नेदरल्याण्ड्सबीच हुनेछ । 

सेमिफाइनल 
पहिलो सेमिफाइनलमा बुधबार वाङ्खेडेको मैदानमा भारतको भिडन्त न्यूजिल्याण्डसँग हुनेछ ।  भारत पहिलो र न्यूजिल्याण्ड चौथो भएको छ । 

दोस्रो सेमिफाइनलमा बिहीबार इडेन गार्डेनमा अष्ट्रेलियाको भिडन्त दक्षिण अफ्रिकासँग हुनेछ । दक्षिण अफ्रिका दोस्रो तथा अष्ट्रेलिया तेस्रो रहेको थियो । दुवै खेल दिउँसो २ः१५ बजे शुरु हुनेछन् । 

फाइनल खेल आगामी आइतबार १९ नोभेम्बरमा अहमदाबादमा दिउँसो २ः१५ बजे शुरु हुनेछ । 

अंक तालिका –
८ खेलबाट १६ अंकसहित भारत शीर्ष स्थानमा रहेको छ । ९ खेलबाट १४ अंकसहित दक्षिण अफ्रिका दोस्रो स्थानमा रहेको छ । 

९ खेलबाट १४ अंकसहित अष्ट्रेलिया तेस्रो स्थानमा छ । ८ खेलबाट १० अंकसहित न्यूजिल्याण्ड चौथो स्थानमा रहेको छ । पाकिस्तान ९ खेलबाट ८ अंकसहित पाँचौँ स्थानमा रह्यो । 

अफगानिस्तान ९ खेलबाट ८ अंकसहित छैटौँ स्थानमा रहेको छ । इङ्गल्याण्ड ९ खेलबाट ६ अंकसहित सातौँ स्थानमा रहेको छ । 

बंगलादेश ९ खेलबाट ४ अंकसहित आठौँ स्थानमा रहेको छ । श्रीलंका ९ खेलबाट ४ अंकसहित नवौँ स्थानमा रहेको छ । 

नेदरल्याण्ड्स ८ खेलबाट ४ अंकसहित पुछारमा झरेको छ । 

अहिलेसम्मको खेलको नतिजा
–पहिलो खेलमा न्यूजिल्याण्डले साविक विजेता इङ्गल्याण्डलाई ९ विकेटले हरायो । 

–दोस्रो खेलमा पाकिस्तानले नेदरल्याण्ड्सलाई ८१ रनले हरायो । 

–तेस्रो खेलमा बंगलादेशले अफगानिस्तानलाई ६ विकेटले हरायो । 

–चौथो खेलमा दक्षिण अफ्रिकाले श्रीलंकालाई १०२ रनले हरायो । यो खेलमा दक्षिण अफ्रिकाले अहिलेसम्मकै विश्वकपकै सर्वाधिक ४२८ रन बनायो भने तीन खेलाडीले एकै इनिङ्समा शतक बनाएर रेकर्ड राखे ।

– पाँचौँ खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले हरायो ।  

–छैटौँ खेलमा न्यूजिल्याण्डले नेदरल्याण्ड्सलाई ९९ रनले हरायो । 

–सातौँ खेलमा इङ्गल्याण्डले बंगलादेशलाई १३७ रनले हरायो । 

–आठौँ खेलमा पाकिस्तानले श्रीलंकालाई ६ विकेटले हरायो । विश्वकपको इतिहासमा सबैभन्दा बढी ३४५ रनको चुनौती पछ्याएर जित्ने कीर्तिमान पाकिस्तानले राख्यो । 

–नवौँ खेलमा भारतले अफगानिस्तानलाई ८ विकेटले हरायो । रोहित शर्माले विश्वकपमा कीर्तिमानी सातौँ शतक बनाए । 

–दशौँ खेलमा दक्षिण अफ्रिकासँग पाँच पटकको च्याम्पियन अष्ट्रेलिया १३४ रनले पराजित भयो । सन् १९८३ मा भारतसँग ११८ रनको हारपछि पहिलो पटक अष्ट्रेलिया यति फराकिलो अन्तरले पराजित भएको हो । 

–११ औँ खेलमा न्यूजिल्याण्ड विजयी भएको छ । न्यूजिल्याण्डले बंगलादेशलाई ८ विकेटले हरायो ।

–१२ औँ खेलमा भारतले पाकिस्तानलाई सहजै ७ विकेटले हरायो । १९२ रनको चुनौती भारतले ३०.३ ओभरमै ३ विकेटको क्षतिमा पूरा गर्यो । भारत अहिलेसम्म विश्वकपमा पाकिस्तानसँग पराजित भएको छैन । यो लगातार आठौँ जित हो ।

–१३ औँ खेलमा अफगानिस्तानले साविक विजेता इङ्गल्याण्डमाथि अप्रत्याशित ६९ रनको जित हासिल गर्यो । अफगानिस्तानले पहिलो पटक कुनै पनि फर्मेटको खेलमा इङ्गल्याण्डलाई हराएको हो ।

–१४ औँ खेलमा अष्ट्रेलियाले श्रीलंकालाई ५ विकेटले हराउँदै अंकको खाता खोल्यो ।

–१५ औँ खेलमा दक्षिण अफ्रिका पराजित भयो । दक्षिण अफ्रिका एसोसिएट राष्ट्र नेदरल्याण्ड्ससँग ३८ रनले पराजित भएको हो । 

–१६ औँ खेलमा न्यूजिल्याण्डले अफगानिस्तानमाथि १४९ रनको फराकिलो जित हासिल गर्यो ।

–१७ औँ खेलमा भारतले बंगलादेशमाथि ७ विकेटको जित हासिल गर्यो । विराट कोहलीले ४८ औँ शतक पूरा गरे ।

–१८ औँ खेलमा अष्ट्रेलियाले पाकिस्तानलाई ६२ रनले हरायो । ३६७ रन बनाएको अष्ट्रेलियाका लागि पहिलो विकेटका लागि २५९ रनको साझेदारी गर्ने क्रममा डेभिड वार्नरले १२४ बलमा १६३ रन बनाए । मिचेल मार्शले १०८ बलमा १२१ रन बनाए ।

–१९ औँ खेलमा श्रीलंकाले नेदरल्याण्ड्सलाई हरायो । आफ्नो चौथो खेलमा पहिलो जित निकाल्ने क्रममा श्रीलंका ५ विकेटले विजयी भयो । 

–२० औँ खेलमा दक्षिण अफ्रिका विजयी भयो । दक्षिण अफ्रिकाले इङ्गल्याण्डमाथि २२९ रनको फराकिलो जित हासिल गर्यो ।

–२१ औँ खेलमा भारत विजयी भएको छ । भारतले २० वर्षपछि विश्वकपमा पहिलो पटक न्यूजिल्याण्डलाई हराएको छ । भारत ४ विकेटले विजयी भयो ।

–२२ औँ खेलमा अफगानिस्तानले पाकिस्तानमाथि सनसनीपूर्ण जित हासिल गर्यो । पाकिस्तानलाई अफगानिस्तानले ८ विकेटले हराएको हो ।

–२३ औँ खेलमा दक्षिण अफ्रिकाले बंगलादेशलाई १४९ रनको फराकिलो अन्तरले हराएको छ । दक्षिण अफ्रिकाले लगातार सात खेलमा तीन सय रन बनाउने क्रममा ५ विकेटको क्षतिमा ३८२ रन बनायो । क्विन्टन डे ककले सर्वाधिक १७४ रन बनाए ।

–२४ औँ खेलमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनले हरायो । यो विश्वकपको अहिलेसम्मकै फराकिलो अन्तरको जित हो । ३९९ रन बनाएको अष्ट्रेलियाका लागि ग्लेन म्याक्सवेलले ४० बलमा सय रन बनाएर कीर्तिमान राखे । डेभिड वार्नरले ६ शतक प्रहार गरेर कीर्तिमान रचे ।

–२५ औँ खेलमा श्रीलंकाले इङ्गल्याण्डलाई ८ विकेटले हरायो । इङ्गल्याण्डले मात्र १५६ रन बनाएको खेलमा दुवै गरी मात्र ५९ ओभरको खेल भएको थियो । 

–२६ औँ खेलमा पाकिस्तानविरुद्ध दक्षिण अफ्रिकाले सनसनीपूर्ण जित हासिल गर्यो । दक्षिण अफ्रिकाले एक विकेटको जित हासिल गरेको हो ।

–२७ औँ खेलमा अष्ट्रेलियाले न्यूजिल्याण्डलाई पाँच रनले हरायो । ३८९ रनको चुनौती पछ्याएको न्यूजिल्याण्डले ९ विकेटको क्षतिमा २८३ रन बनाउन सक्यो । रचिन रविन्द्रले ८९ बलमा ११६ रन बनाए । अष्ट्रेलियाका ट्राभिस हेडले ६७ बला १०९ रन बनाए ।

–२८ औँ खेलमा नेदरल्याण्ड्सले बंगलादेशलाई ८७ रनको फराकिलो अन्तरले पराजित गर्यो । नेदरल्याण्ड्सले २२९ रन बनाएकामा ४२.२ ओभरमात्र क्रिजमा टिकेर १४२ रन बनाउन सक्यो ।  

–२९ औँ खेलमा भारत विजयी भएको छ । भारतले इङ्गल्याण्डलाई सय रनले हराएको हो । भारतले ९ विकेटको क्षतिमा २२९ रन बनाएकामा इङ्गल्याण्डले ३४.५ ओभरमा अलआउट हुँदै १२९ रनमात्र बनाउन सक्यो ।

–३० औँ खेलमा अफगानिस्तानले श्रीलंकालाई ७ विकेटले हरायो । श्रीलंकाले ३ बल खेल्न बाँकी छँदै सबै विकेट गुमाएर २४१ रन बनाएकामा अफगानिस्तानले ४५.२ ओभरमै ३ विकेट गुमाएर जित हासिल गरेको हो ।

–३१ औँ खेलमा पाकिस्तान विजयी भएको छ । इडन गार्डेनमा भएको खेलमा पाकिस्तानले बंगलादेशलाई ७ विकेटले हराएको हो । 

–३२ औँ खेलमा दक्षिण अफ्रिकाले न्यूजिल्याण्डमाथि १९० रनको फराकिलो जित हासिल गरेको छ । ३५८ रनको विशाल चुनौती पछ्याएको न्यूजिल्याण्डले ३५.३ ओभरमा अलआउट हुँदै १६७ रनमात्र बनाउन सक्यो ।

–३३ औँ खेलमा भारतले श्रीलंकालाई ३०२ रनको फराकिलो अन्तरले पराजित गरेको छ । भारतले ३५७ रन बनाएकामा श्रीलंका वानखेडे स्टेडियममा ५५ रनमा समेटियो । भारतको विश्वकपमा यो नै सबैभन्दा फराकिलो रन अन्तरको जित हो । विश्वकपमा यो दोस्रो ठूलो अन्तरको जित हो । यसै विश्वकपमा अष्ट्रेलियाले नेदरल्याण्ड्सलाई ३०९ रनको अन्तरले हराएको थियो । समग्र एक दिवसीयमा भारतको यो चौथो फराकिलो अन्तरको जित हो । भारतले श्रीलंकामाथि नै सन् २०२३ को जनवरीमा हासिल गरेको ३१७ रनको जित अहिलेसम्मकै विश्वकै सर्वाधिक रनको अन्तरको कीर्तिमानी जित हो । 

–३४ औँ खेलमा अफगानिस्तानले नेदरल्याण्ड्समाथि ७ विकेटको जित हासिल गर्यो । नेदरल्याण्ड्सले ४६.३ ओभरमा अलआउट हुँदै १७९ रन बनायो । जवाफमा अफगानिस्तानले ३१.३ ओभरमै ३ विकेटको क्षतिमा जित हासिल गर्यो ।

–३५ औँ खेलमा पाकिस्तानले न्यूजिल्याण्डलाई डक वर्थ लेविस नियमअनुसार २१ रनले पराजित गरेको छ । बेंगलुरुमा भएको खेलमा पाकिस्तानले ४०२ रनको फराकिलो चुनौती पछ्याइरहँदा वर्षाले खेल अवरुद्ध भएसँगै २५.३ ओभरमा १ विकेट गुमाएर २०० रन बनाएको पाकिस्तान २१ रनले विजयी भएको हो । 

–३६ औँ खेलमा अष्ट्रेलिया विजयी भएको छ । अष्ट्रेलियाले चिरपरिचित प्रतिद्वन्द्वी इङ्गल्याण्डलाई ३३ रनले हराएको हो । 

–३७ औँ खेलमा भारतले दक्षिण अफ्रिकामाथि २४३ रनको फराकिलो जित हासिल गरेको छ । ३२७ रनको चुनौती दिएकामा दक्षिण अफ्रिकाले २७.१ ओभरमा अलआउट हुँदै केवल ८३ रनमात्र बनाउन सक्यो । भारतका विराट कोहलीले शतक बनाए । रविन्द्र जडेजाले ५ विकेट लिए । 

–३८ औँ खेलमा बंगलादेश विजयी भएको छ । दिल्लीमा भएको खेलमा बंगलादेशले श्रीलंकालाई ३ विकेटले हरायो । 

–३९ औँ खेलमा अष्ट्रेलियाले अफगानिस्तानलाई ३ विकेटले पराजित गर्यो । ग्लेन म्याक्सवेलको म्याक्सवेलले १२८ बलमा १० छक्का र २१ चौकाको मद्धतले अविजित रहँदै २०१ रन बनाए । विश्वकपमा यो पहिलो दोहोरो शतक हो । आठौँ विकेटका लागि म्याक्सवेल र पाट कमिन्सबीच २०२ रनको साझेदारी भएको थियो । खेलमा अब्राहिम जद्रानले विश्वकपमा पहिलो शतक प्रहार गरेका थिए ।

–४० औँ खेलमा साविक विजेता इङ्गल्याण्ड विजयी भएको छ । पुनेमा भएको खेलमा इङ्गल्याण्डले नेदरल्याण्ड्सलाई १६० रनले पराजित गर्यो । 

–४१ औँ खेलमा न्यूजिल्याण्डले श्रीलंकालाई ५ विकेटले हरायो । श्रीलंकाका कुसल परेराले २२ बलमा अर्धशतक पूरा गरे । यो जारी विश्वकपको सबैभन्दा कम बलमा भएको अर्धशतक हो । त्यस्तै न्यूजिल्याण्डका रचिन रविन्द्र डेब्यु विश्वकपमा सबैभन्दा धेरै रन बनाउने खेलाडी भएका छन् । उनले ५६५ रन बनाइसकेका छन् । 

–४२ औँ खेलमा दक्षिण अफ्रिका विजयी भएको छ । दक्षिण अफ्रिकाले जाइन्ट किलर अफगानिस्तानलाई ५ विकेटले हराएको हो । 

–४३ औँ खेलमा अष्ट्रेलियाले बंगलादेशलाई ८ विकेटले पराजित गर्यो । पुनेमा भएको खेलमा ३०७ रनको चुनौती अष्ट्रेलियाले ४४.४ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो । मिचेल मार्शले १३२ बलमा अविजित रहँदै १७७ रन बनाए । 

–४४ औँ खेलमा पाकिस्तान इङ्गल्याण्डसँग पराजित भएको छ । इडेन गार्डेनमा अविश्वसनीय जित हासिल गरेमात्र सेमिफाइनलमा पुग्ने पाकिस्तान उल्टै ९३ रनको फराकिलो हार बेहोर्यो ।  



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ